मोरङ कारागारका लागुऔषध मुद्दाका बन्दीको मृत्यु
मोरंग । मोरङ जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका एक कैदीको शनिबार दिउँसो मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–६ निवासी ५० वर्षीय काजीमान सार्की रहेका छन् ।
कारागारका जेलर गौरव ढुंगेलका अनुसार, सार्की लागुऔषध मुद्दाका बन्दी हुन् । जिल्ला अदालत मोरङले थुनामा राखेर पुर्पक्षका लागि आदेश दिएपछि २०८१ पुस २९ गते उनलाई कारागार चलान गरिएको थियो ।
अदालतमा मुद्दा विचाराधीन रहँदै गर्दा सार्कीको स्वास्थ्य अवस्था शनिबार अचानक बिग्रिएको थियो । ढुंगेलका अनुसार, उनलाई न्यून रक्तचाप र लगातार बान्ता हुने समस्या देखिएपछि उपचारका लागि दिउँसो १ः२५ बजे कोशी अस्पताल विराटनगर लगिएको थियो ।तर, अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएलगत्तै दिउँसो चिकित्सकले मृत घोषित गरेका थिए ।


