मेचीखोलाको किनारमा सडिगलेको अवस्थामा एक पुरुषको शव फेला
झापा । झापा जिल्लाको भद्रपुर नगरपालिका वडा नं. ३, भैसाबारीस्थित मेचीखोलाको किनारमा सडिगलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, मिति २०८२ साल असोज २६ गते (२०८२।०६।२६ गते) बिहान करिब ८:४० बजे मेचीखोला पारी, नेपालतर्फको किनारमा उक्त शव फेला परेको हो ।
मृतक पहाडे मूलको जस्तो देखिने पुरुष भए पनि, शव पूर्ण रूपमा सडिगलेको अवस्थामा रहेकोले सनाखत हुन सकेको छैन ।
घटनाको जानकारी प्राप्त हुनासाथ घटनास्थललाई सुरक्षित राखी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउनका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतसहितको टोली खटि गएको थियो ।
आवश्यक प्रक्रियाहरू पूरा गरेपश्चात् सोही दिन दिउँसो २:२० बजे (१४:२० बजे) शवलाई पोष्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल पठाइएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र मृतकको पहिचान गर्ने प्रयास भइरहेको जनाएको छ ।


