विश्व खाद्य स्वच्छता दिवसको अवसरमा धनकुटा–पाख्रीबास क्षेत्रमा होटल तथा मिठाइ पसल अनुगमन
धनकुटा । विश्व खाद्य स्वच्छता दिवस–२०२६ (जेठ २४, २०८३) को अवसरमा “सबैतिर स्वच्छ खानपान : खाद्यजन्य समस्याको समाधान” भन्ने नारासहित सप्ताहव्यापी कार्यक्रम सञ्चालन भइरहेको छ।
यसैक्रममा चौथो दिन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, प्रहरी चौकी हिले तथा पाख्रीबास, राष्ट्रिय उपभोक्ता मञ्च र सञ्चारकर्मीहरूको संयुक्त टोलीले धनकुटा र पाख्रीबास नगरपालिकाअन्तर्गत लोकमार्ग क्षेत्रमा रहेका होटल तथा मिठाइ पसलहरूको अनुगमन गरेको छ।
अनुगमनका क्रममा यात्रुहरूले प्रयोग गर्ने होटल तथा खाद्य व्यवसायमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीहरूलाई निर्देशन दिइएको थियो। साथै, म्याद नाघेका खाद्य पदार्थहरू नष्ट गरिएको, फ्राइङ तेलको गुणस्तर परीक्षण गरिएको तथा खाद्य व्यवसायी, यात्रु र उपभोक्ताहरूलाई खाद्य स्वच्छतासम्बन्धी सचेतनामूलक ब्रोसर वितरण गरिएको कार्यालयले जनाएको छ।
खाद्यजन्य रोगको जोखिम न्यूनीकरण तथा सुरक्षित खाद्य उपभोगको संस्कृति विकास गर्ने उद्देश्यले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विभिन्न सचेतनामूलक गतिविधिहरू सञ्चालन भइरहेका छन्। सम्बन्धित निकायले उपभोक्तालाई खाद्य सामग्री खरिद तथा उपभोग गर्दा म्याद, गुणस्तर र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ।


