धनकुटामा छायांकन गरिएको ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक, मौलिक नेपाली कथाको झल्को
हिराराज राई,धनकुटा । धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका वडा नं. १ धाप आसपासका रमणीय क्षेत्रमा छायांकन गरिएको नेपाली कथानक चलचित्र ‘कार्की साइँला’ को ट्रेलर भदौ २३ गते सार्वजनिक गरिएको छ। चलचित्र असोज २ गतेबाट देशभर प्रदर्शन हुँदैछ। मौलिक नेपाली गाउँले परिवेश, सामाजिक यथार्थ र मानवीय संवेदनालाई केन्द्रमा राखेर निर्माण गरिएको यस चलचित्रले सार्वजनिक ट्रेलरमार्फत दर्शकमाझ उत्सुकता र कौतुहलता बढाएको छ।
पुराना नायक तथा कलाकार राजेन्द्र बस्नेतको निर्देशनमा तयार भएको ‘कार्की साइँला’ले नेपाली समाजमा देखिने संघर्ष, सम्बन्ध, भावना र जीवनका वास्तविक कथालाई पर्दामा उतार्ने प्रयास गरेको छ। विशेषगरी पूर्वी पहाडी गाउँको स्थानीय परिवेश, मौलिक संस्कृति र गरिब भरियाको जीवनभोगाइलाई आधार बनाएर सत्य घटनाबाट प्रेरित कथावस्तुमा चलचित्र निर्माण गरिएको निर्माण पक्षले जनाएको छ।
टिजर र ट्रेलरले चलचित्रको कथा, पात्रहरूको मनोविज्ञान तथा घटनाक्रमको झलक प्रस्तुत गर्दै दर्शकमा फरक स्वाद र अपेक्षा सिर्जना गरेको छ। चलचित्रको नाम ‘कार्की साइँला’ आफैँमा नेपाली गाउँघर, समाज र मौलिक जीवनशैलीसँग जोडिएको अनुभूति दिने खालको छ। संवाद, पात्रको प्रस्तुति र स्थानीय भाषिक स्वादले चलचित्रलाई नेपाली माटोसँग अझ नजिक बनाउने प्रयास गरेको देखिन्छ।
नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय मौलिक कथा र आफ्नै समाजका विषयवस्तु खोज्ने क्रम बढिरहेका बेला ‘कार्की साइँला’ एउटा फरक धारको आशालाग्दो प्रयासका रूपमा देखिएको छ। चलचित्रले मनोरञ्जनसँगै समाजका वास्तविकता, मानवीय सम्बन्ध, संघर्ष र संवेदनालाई प्रस्तुत गर्ने प्रयास गरेको छ।
‘कार्की साइँला’ केवल मनोरञ्जनका लागि मात्र नभई नेपाली समाज र नेपालीपनको कथा बोकेको मौलिक चलचित्र भएको निर्माण पक्षको विश्वास छ। चलचित्र हलमा पुग्दा ट्रेलरले जगाएको अपेक्षा पूरा गर्दै दर्शकको मन जित्न सफल हुने अपेक्षा गरिएको छ।
चलचित्रमा चर्चित कलाकार जितु नेपाल (मुन्द्रे) कार्की साइँलाको मुख्य भूमिकामा देखिएका छन् भने उनको जोडीका रूपमा प्रियाना आचार्य रहेकी छन्। त्यस्तै, मनिल तामाङको सशक्त अभिनय चलचित्रको अर्को आकर्षण बन्ने देखिन्छ। चलचित्रमा सुशील पोखरेल, मान्सी शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
राजेन्द्र बस्नेतको यो डेब्यु निर्देशन रहेको चलचित्रमा रोजल थापा मुख्य सहायक निर्देशकको भूमिकामा रहेका छन्। चलचित्रका कथाकार डम्बर राई हुन् भने उनले नै चलचित्रको छायांकनसमेत गरेका छन्।
कर्णबहादुर फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता बालकुमार राई रहेका छन् भने कार्यकारी निर्माताको जिम्मेवारी अनन्त राईले सम्हालेकी छन्।
चलचित्रमा दुई वटा गीत समावेश छन्। यसअघि नै चर्चित बनेको ‘लगेऊ परान’ गीतमा सङ्केत अगस्तीको संगीत रहेको छ भने स्वर श्रेयस अगस्ती र बेनिशा पौडेलले दिएका छन्। अर्को गीतमा दिप्सन लिम्बुको संगीत तथा स्वर रहेको छ। दिप्सन लिम्बुले चलचित्रमा कलाकारका रूपमा समेत अभिनय गरेका छन्।
पूर्वी पहाडी भूगोल, मौलिक कथा र नेपाली समाजको जीवन्त चित्रणलाई केन्द्रमा राखिएको ‘कार्की साइँला’ले नेपाली चलचित्र क्षेत्रमा एउटा फरक पहिचान बनाउन सक्ने विश्वास गरिएको छ।
ट्रेलर लिंक:

