बाराबाट १२ लाखभन्दा बढीको अवैध सामानसहित दुई मोटरसाइकल बरामद
रौतहट, ४ मंसिर। बाराको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले १२ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल बीओपी बरैनियाबाट खटिएको गस्ती टोलीले बिहीबार विश्रामपुर गाउँपालिका–१, कल्याणपुरस्थित सीमावर्ती क्षेत्रबाट भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सामान बरामद गरेको हो।
गस्ती टोलीले औषधि, चिनी तथा झुमरसहित उक्त सामान ढुवानीमा प्रयोग गरिएका दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
बरामद गरिएका सामान तथा मोटरसाइकलको कुल मूल्य १२ लाख १० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद सामग्री आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको जनाइएको छ।

