मोरङमा ७ ग्राम ७२० मिलिग्राम खैरो हेरोइनसहित चार जना पक्राउ
विराटनगर । मोरङको जहदा गाउँपालिका–४ सिसौबारी टोलबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित चार जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार दिउँसो करिब ३ः२० बजे लागूऔषध ओसारपसार तथा कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी मझारेबाट खटिएको संयुक्त प्रहरी टोलीले सिसौबारीस्थित मानिस नबस्ने जीर्ण घरमा खानतलासी गर्दा चार जनालाई शंकास्पद अवस्थामा फेला पारेको थियो। उनीहरूको चेकजाँच गर्ने क्रममा खैरो हेरोइनजस्तो देखिने टाँसिने पदार्थ ७ ग्राम ७२० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा जहदा गाउँपालिका–३ जयरामपुरका २४ वर्षीय मञ्जित कुमार यादव तथा कटहरी गाउँपालिका–३ कामत टोलका २६ वर्षीय शिवम सिंह, २७ वर्षीय भरत कामत र ३० वर्षीय दुर्गेश कामत रहेका छन्।
पक्राउ परेका चारै जनालाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
