उपनिर्वाचनमा नेपाली सेनासहित ४ वटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन हुने
काठमाडौं, १५ कार्तिक । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली सेनासहित ४ वटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन हुने गरी उपनिर्वाचनको एकीकृत सुरक्षा योजना तयार पारिएको छ । उपनिर्वाचनको सुरक्षा कार्ययोजनाबारे शुक्रबार गृह मन्त्रालयमा छलफल समेत भएको छ ।
शुक्रबार गृह मन्त्रालयमा आयोजित गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका रथी गौरब तण्डुल लगायत सहभागी बैठकले उपनिर्वाचनको सुरक्षा योजनाबारे छलफल गरेको हो ।
बैठकमा उपनिर्वाचनका लागि तयार पारिएको केन्द्रीय सुरक्षा कार्ययोजना प्रस्तुत गरिएको थियो ।


