नेकपा बैठकले गर्यो नेपाल–भारत सीमा सम्बन्धिसहित निर्णय
काठमाडौं । सत्तारुढ नेकपाको स्थायी समिति बैठकले विभिन्न पाँचटा कार्यसूची पारित गरेको छ । दुई अध्यक्षमध्ये केपी शर्मा ओली अनुपस्थित बैठकले पाँचवटा कार्यसूची पारितसहित निरन्तर छलफल गर्ने निर्णय गरेको हो ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आइतबार बसेको नेकपाको स्थायी समिति बैठकले दुई अध्यक्ष मिलेर राजनीतिक प्रतिवेदन पेस गर्ने, नेपाल–भारत सीमाबारे छलफल गर्ने, केन्द्रीय कमिटी बैठक बोलाउने, विधान संशोधन गर्ने र विविध गरी पाँचवटा कार्यसूची पारित गरेको हो।

नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको उक्त बैठकले सो कार्यसूचीमाथि निरन्तर छलफल गर्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको शिघ्र स्वास्थ्यलाभको कामना गरेको सो बैठकमा सरकारका गतिविधिबारे छलफल पनि भएको छ ।
बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, वामदेव गौतम, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठलगायतका नेताहरुको सहभागी थियो । आइतबारको बैठक सोमबार ११ बजे बस्ने गरी स्थगित भएको छ।


