पूर्वएमालेसँग नझु’क्न प्रचण्डलाई सुझाव
काठमाडौं । पूर्वमाओवादी नेताहरूले सभामुख पद पूर्वएमालेलाई नछाड्न चेतावनी दिएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अप्ठेरोमा परेका छन् । राष्ट्रिय सभाको अध्यक्ष आफ्नो पक्षले लिने गरी प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँग सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउने सहमति गरिसकेका छन् । तर, ओलीसँगको कुराकानी प्रचण्डले आफूपक्षीय नेताहरूले अझै खुलाएका छैनन् ।
खुमलटारस्थित प्रचण्ड निवासमा सोमबार बिहान पूर्वमाओवादी नेताहरूको बैठक नै बसेर कुनै पनि हालतमा सभामुख नछाड्न चेतावनी दिएपछि प्रचण्ड निकै संकटमा परेका हुन् । माओवादी नेताहरूले स्थायी समिति बैठकका क्रममा पूर्वएमाले समूहसँग नझुक्न पनि प्रचण्डलाई सुझाव दिएका छन् ।

भेलामा गृहमन्त्री रामबहादुर थापा बादल, देव गुरुङ, नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, हरिबोल गजुरेल, पम्फा भुसाल, ऊर्जामन्त्री वर्षमान पुनलगायत नेताहरू सहभागी थिए । बैठकमा नेताहरूले सभामुख पद पूर्वएमालेका लागि छाडिएको बारे जिज्ञासा राखेका थिए । प्रचण्डले भने सभामुखबारे कुनै सहमति भइनसकेको र सामान्य छलफलको रुपमा मात्रै रहेको प्रतिक्रिया दिएका थिए ।
प्रचण्डले कार्यकारी अध्यक्ष पाएबापत सभामुख पद नेम्वाङलाई दिने सहमति गरिसकेका छन् । माओवादीमा देव गुरुङ, अग्नि सापकोटा, पम्फा भुसाललगायत सभामुखको आकांक्षी छन् । त्यसैले उनीहरूले सो पदमा कुनै सम्झौता नगर्न नेताहरूको दबाब छ ।
पूर्वसभामुख कृष्णबहादुर महरा संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबर्जस्तीकरणी प्रयासको अभियोगमा पुर्पक्षका लागि थुनामा रहँदा नयाँ सभामुख चयनको प्रक्रिया कठिन मोडमा पुगेको छ । महराको मुद्दामा बकपत्र चलिरहेको छ । उनले गत असोज १४ गते यो घटना मिडियामा सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए ।


