२० वर्ष भयो जसले श्रीमानको सुख त परै जावास् अनुहारसम्म हेर्न पाएकी छैनन्
डोटी । शिखर नगरपालिका–१ कपल्लेकीकी ४१ वर्षीया महिसरा दडिमाना आफ्नो ग’र्भमा भएको श्रीमान्को नासो हुर्किए पनि सिउँदोमा सिन्दूर हाल्ने व्यक्ति अझै नफर्किंदा निकै चिन्तित छिन् ।
उनका श्रीमान् टेकबहादुर दडिमाना रोजगारीका लागि भारतको जोधपुर गएपछि उनी नितान्त एक्ली भएकी हुन् । करिब १५ वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिएकी महिसराले श्रीमानको सुख त परै जावास् अनुहारसम्म हेर्न नपाएको कम्तीमा पनि २० वर्ष भयो । ‘म तीन महिनाकी ग’र्भवती थिए, त्यतिबेला उहाँ (श्रीमान) घरबाट जानुभएको हो ’ महिसराले भनिन् । साथीसँगीका बुबा भारतबाट फर्कंदा आफ्ना बुबा नफर्केपछि महिसराका छोरा गोपाल बाबा किन आएनन् भनेर सोध्ने गर्छन् ।
महिसरा छोरालाई फेरि कुनै बहाना बनाएर चुप लाउने गरे पनि तर जब गोपाल अली ठूला भए उनले भन्नै प¥यो सत्य कुरा । ‘यो २० वर्षसम्म न म बिधवा जस्ती भए न सधवा जस्ती’ मलिन अनुहार बनाउँदै महिसराले भनिन् ‘श्रीमान् छन् भन्ने कि छैनन् भन्ने द्विविधा भएको छ ।’ सिउँदोमा सिन्दूर त छ महिसराको तर त्यो सिन्दूर हाल्ने व्यक्ति कहाँ छ भन्ने अहिलेसम्म अत्तोपत्तो छैन उनलाई । विवाहलगत्तै महिसराका श्रीमान् टेकबहादुर घर छोडेर गएका परदेश गएका थिए ।
चार वर्षसम्म कुनै पत्तो थिएन । पछि आफैँ घर आएको मसिसराले बताइन् ‘त्यतिबेलै मेरा सुसुराले अर्को बिहे गर्न भन्नुभएको थियो ।’ उहिलेको कुरा सम्झँदै उनले गहभरि आँसु निकाल्दै भनिन् ‘म कहीँ गएन श्रीमानको बाटो कुरेरै बसे तर उहाँ आउनुभएन ।’ चार वर्षपछि टेकबहादुर आए । सानै उमेरदेखि रक्सीको नशामा रमाउने बानी परेका टेकबहादुर धेरै दिन घरमा बसेनन् । फेरि कमाउने भन्दै घरबाट हिँडे तर कहाँ गए भन्ने उहाँकी श्रीमती तथा अन्य गाउँलेलाई अहिलेसम्म अत्तोपत्तो छैन ।
बाख्रा पालेर, अर्काको मेलापात गरेर साँझ–बिहानको छाक टार्नु हुन्छ, महिसारले हिजोआज । माइती, देवर, जेठाजुको सहयोगमा महिसराले छोरालाई हुर्काइन् छोरालाई दुःख कष्ट गरेर भए पनि कक्षा १२ सम्म पढाइन् । ‘स्कुलमा कक्षा १२ को एक विषय लागेको थियो, चान्स (ग्रेड वृद्धि) दिन पाउने भन्नुभाथ्यो सरले, तर छोरो गोपाल पनि रोजगारीका लागि भारत गयो’ उनले भनिन् ‘मैले दुःख गरेर हुर्काए, पढाए पनि, पढाइमा राम्रै थियो तर बीचमै पढाइ छाडेर छोरा भारत गयो, मेरा फेरि दुःख शुरु भए ।’
उनी छोराको खुशीमा आफ्नो दुःख बिर्सन खोन्थिन् त्यो खुशी पनि मिल्न नसकेकामा उनी अहिले झन् दुःखी भएकी छिन् । श्रीमान् भारतमै हराएको घटनाले पनि छोरा भारत नपसोस् भन्ने चाहना थियो महिसराको । पेट पाल्नकै लागि मुग्लान पस्नु पर्ने लाखौं युवाको पीडाले गोपाललाई पनि छोयो । महिसराको जस्तै अवस्था छ कृष्णा गिरीको पनि । करिब १६ वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिनुभएकी कृष्णा पनि विगत १६ वर्षदेखि श्रीमान्को पर्खाइमा घरमा बसेकी छिन् ।
द्वन्द्वकालमा कृष्णाका श्रीमान् दीपक गिरी घरबाट केही नबोली चुपचाप निस्किए । गाउँतिरै डुल्दै होलान् भन्ने सोचेकी कृष्णाले श्रीमान् कहाँ गए अहिलेसम्म खबर पाएकी छैनन् । दिन, महिना, वर्ष बित्दै जाँदा १६ वर्ष पूरा भएछ, तर दीपक घर फर्केर आएनन् । दीपक घरबाट जाँदा गर्भमा रहेकी छोरी लक्ष्मीलाई पनि अहिले १५ वर्ष पूरा भइसकेकी छिन् ।
महिसरा र कृष्णा मात्रै हैनन् गाउँमा थुप्रै महिलाले यस्तो पीडा खेपिरहनुपरेको बताउछन् कपल्लेकी स्थानीयवासी चम्पा पार्की । तीन वर्षपहिले महिसरा र कृष्णाले श्रीमानको खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदनसमेत दिएकी थिइन् । प्रहरी कार्यालयबाट पनि कुनै जानकारी नआएपछि उनीहरुले अहिले श्रीमान् आउने आशा मारिसकेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीपसिंह देउवाले श्रीमान् तथा घरका परिवार हराएका विषयमा निवेदन पर्ने गरे पनि कुन ठाउँ र कहिले हराएका हुन् भन्ने यकिन जानकारी नआएका कारण खोजतलास गर्नमा समस्या भएको बताए । ‘घरका सदस्य हराएको भन्ने निवेदन (खबर) आउँछ तर कहिले कहाँबाट भन्ने जानकारी आउँदैन तैपनि हामी हाम्रो क्षेत्रबाट खोजतलासका लागि पहल भइरहेका छ ।’ उनले भने ।


