धनकुटाको सल्लेरीमा रहेको सप्त गन्तव्यको शुभारम्भ
धनकुटा । जिल्ला न्यायाधीश फडिन्द्र पराजुलीबाट सोमबार एक अनौपचारिक कार्यक्रममा सप्त गन्तव्यको शुभारम्भ गरिएको छ । न्यायाधीश पराजुलीले महेन्द्र पार्क पुनर्निर्माणका अगुवाहरूकै परिकल्पनामा शुरू गरिएको सप्त गन्तव्यको प्रथम गन्तव्य चतुर्मुखी शिवजीको मूर्ति कुद्ने कार्यको शुभारम्भ गर्नु भएको हो ।

न्यायाधीश पराजुलीबाट महेन्द्र पार्कको उद्घाटन पनि गरियो ।सो पार्क वि सं २०१२ सालमा तत्कालीन धनकुटा गौडाका बडाहाकिम रङ्गनाथ उप्रेतीको समयमा राजा महेन्द्रको धनकुटा भ्रमणको तयारीका निमित्त निर्माण शुरू गरिएको थियो । पार्क तत्कालीन बडाहाकिम गेहेन्द्र शमसेर थापाको पहलमा सल्लेरी वनपरिसरमा निर्माण गरिएको थियो ।
पार्कको समय समयमा नेपाली सेना, रेडक्रस सोसाइटी, होटल व्यवसायीहरुले मर्मत सम्भार गरेको थियो । सुरक्षाको अभावमा त्यो पनि संरक्षण हुन सकेको थिएन ।यसैलाई मध्यनजर राख्दै अवकाश प्राप्त उपप्राध्यापक ठाकुरप्रसाद बरालको नेतृत्वमा पार्कको पुनर्निर्माण सम्पन्न गरिएको छ । सो पार्क पुनर्निर्माणका लागि लगभग तीन लाखजति खर्च भएको बरालले जानकारी दिए ।
पुनर्निर्माणका लागि सबै रकम शुभचिन्तक दाताहरबाट मात्रै संकलन भएको बरालले जानकारी दिए ।पार्क पुनर्निर्माणमा मूर्तिकार श्रीकृष्ण जोशी, पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, स्थानीय ज्ञानबहादुर थापा, मनोजनारायण श्रेष्ठ, इश्वर श्रेष्ठ, मूर्तिकार सोपाल राईलगायत थुप्रै शुभेच्छुकहरूबाट सहयोग र समन्वय भएको बरालले जानकारी दिए । यस्तै पार्क निर्माणमा बरख गण सल्लेरी ब्यारेक, सशस्त्र प्रहरी बल छिन्ताङ गुल्म, कोशी आयुर्वेदको सहयोगसमेत प्राप्त भएको अर्का अभियान्ता मनोजनारायण श्रेष्ठले जानकारी दिए ।
सल्लेरी क्षेत्रलाइृ पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ अभियन्ताहरूको टोलीले सो क्षेत्रमा सात वटा गन्तव्य बनाउने परिकल्पनाअनुसार पहिलो गन्तव्य चतुर्भज शिवजीको मूर्ति कुद्ने कार्यको शुभारम्भ भएको हो ।


