पर्व मनाउन स्वदेश फर्कनेको लर्को

महेन्द्रनगर, कोरोना कहरको त्रासदीका बीच भारतको विभिन्न क्षेत्रमा मजदूरीका लागि गएका सुदूरपश्चिमका वासिन्दा विशु पर्व मनाउन यतिबेला घर फर्किन थालेका छन् । भारतलगायत तेस्रो मुलुकमा रोजगारीका लागि गएका अधिकांश व्यक्ति विशु पर्व ९नयाँ वर्ष० मनाउन घर फर्किने गर्दछन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम, बाजुरालगायतका जिल्लामा मौलिक तरिकाले विशु पर्व मनाउने गरिन्छ ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले गड्डाचौकी नाका हुँदै स्वदेश फर्किने भीड लाग्न थालेको छ । “अहिले दैनिक एक हजारभन्दा बढी मानिस भारतबाट आइरहेका छन्” उहाँले भन्नुभयो । सुनारका अनुसार गड्डाचौकीमा सबैको स्वास्थ्य परीक्षणका साथै कोरोना रोगसँग मेल खाने लक्षण देखिए कोरोना परीक्षण गर्ने गरिएको छ ।

एक सातायता गड्डाचौकी नाकाबाट घर फर्किने २६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो । “सङ्क्रमितलाई एम्बुलेन्सबाट महाकाली अस्पताल पु¥याएर उपचार गर्ने प्रबन्ध मिलाएका छौँ” उहाँले भन्नुभयो,“सङ्क्रमित थपिँदै जाने देखिएकाले आइसोलेसन कक्ष बनाउने तयारी पनि छ ।” गत चैत ८ गतेदेखि सीमामा स्वास्थ्य परीक्षण थालिएको बताउँदै उहाँले स्वास्थ्य परीक्षणमा स्वास्थ्य सेवा विभागदेखि भीमदत्त नगरपालिकाबाट समेत जनशक्ति खटिएको जानकारी दिनुभयो ।

नयाँ वर्षको अवसरमा यहाँ भव्य रूपमा मनाइने विशु पर्वको रौनक कोरोना कहरसँगै घटेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन सरकारले बन्दाबन्दी गरेपछि गत वर्ष पनि धार्मिक सांस्कृतिक वर्ष विशुको रौनक थिएन ।
यस पर्वमा विवाहित महिला माइत जाने गर्छन् । यस पर्वलाई यस क्षेत्रमा स–परिवार भेटघाट गर्ने पर्वका रूपमा समेत लिने प्रचलन रही आएको साहित्यकार हेमबाबु लेखकले बताउनुभयो । “नयाँ वर्षमा सकारात्मक कुरा आरम्भ हुने भएकाले यसको धार्मिक महत्व पनि छुट्टै प्रकारको छ” लेखकले भन्नुभयो, “तर कोरोना कहरमा सङ्क्रमणबाट जोगिन सर्तकता अपनाउन आवश्यक छ ।”

सुदूरपश्चिम क्षेत्रमा विशु पर्वका दिन सिस्नु लगाउने प्रचलन रहेको छ । खासगरी देवर र भाउजू तथा साली र भिनाजु एकापसमा सिस्नो लगाउने गरेको साहित्यकार लेखकको भनाइ छ । यसरी सिस्नो लगाउनाले वर्ष दिनभर कुनै पनि सङ्कट नआउने विश्वाससमेत गरिन्छ ।

भारतमा केही दिनयता कोरोना सङ्क्रमण उच्च दरमा बढेपछि कतिपय नेपाली कामदार स्वदेश फर्किन थालेका छन् । डडेल्धुराको पर्शुराम नगरपालिकाका बिरराम सुनारले आफू परिवारसहित विशु पर्वका लागि घर फर्किएको बताउनुभयो । “चार महिनाअघि रोजगारीका लागि भारतको पञ्जाव गएको थिएँ ।” आज बिहान घर फर्किदै गर्दा गड्डाचौकीमा भेटिएका सुनारले भन्नुभयो, “पञ्जावमा पनि कोरोना निकै बढेरहेकाले पर्वको बहानामा घर फर्किएका हौँ ।” उहाँले कोरोना कहर पुनः बल्झिदा रोजगारी नपाएर जीविका चलाउन नसक्ने अवस्थामा पुगिएको दुखेसो पोख्नुभयो ।

दश प्रतिशतमा कोरोना सङ्क्रमण

कञ्चनपुरको पूर्वी गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण फैलिने क्रम बढी देखिएको छ । एक सातामा यहाँको नाकाबाट भारतको विभिन्न शहरबाट पर्व मनाउन घर फर्किरहेका तीन सय जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

आइतबार मात्रै ३३४ जनाको परीक्षण गर्दा ३० जनाको कोरोना सङ्क्रमण देखिएको पुर्नवास स्वास्थ्य एकाइका अहेब गणेश साउदले जानकारी दिनुभयो । “यहाँ जनशक्ति अभाव र अन्य व्यवस्थापनले भारतबाट आउने सबैको कोरोना परीक्षण सम्भव देखिएको छैन ।” डोकेबजारमा स्वास्थ्य परीक्षणमा खटिएका साउदले भन्नुभयो, “ सङ्क्रमण समुदायस्तरमै फैलिएको हामीले अनुमान गरेका छौँ ।”

उहाँले कोरोना सङ्क्रमित देखिएकालाई धनगढी आइसोलेशनमा पठाइरहेको बताउनुभयो । “परीक्षण गरिएकामध्ये दश प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ” उहाँले भन्नुभयो, “दैनिक पाँच÷छ सय नागरिकको सीमामा परीक्षण सक्न सहज छैन ।”

उहाँले भारतबाट आउनेहरु सीमामा लुकिछिपी आउनुका साथै कोरोना परीक्षण बिनै गाउँ पसिरहेकाले आम नागरिकले सर्तकता अपनाउनुपर्ने अवस्था पुनः आएको बताउनुभयो । हाल भारतमा बढी सङ्क्रमण देखिएको ठाउँबाट घर फर्किरहेका र कोरोनाको लक्षण देखिएका नागरिकको सीमामा कोरोना परीक्षणमा ध्यान दिइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖