रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

दमौली, तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा रुखमाथि बनिरहेको घरले सर्वसाधारण आकर्षित गरेको छ ।

डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा हरियाली उद्यानभित्र निर्माणाधीन रहेको रुखको घरले सर्वसाधारणको ध्यान खिचेको हो । फागुनदेखि निर्माण शुरु भएको ‘ट्रि हाउस’ को काम ८५ प्रतिशत सम्पन्न भएको छ । निर्माणाधीन अवस्थामा नै यस ठाउँको अवलोकनका लागि सर्वसाधारण आउने गरेका छन् ।

डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत मनोज रानाभाटले निर्माणकै चरणमा रहँदा पनि दैनिक रुपमा सर्वसाधारण यहाँ आउने गरेको जानकारी दिनुभयो । “जिल्लामै नयाँ भएकाले यस ठाउँ सर्वसाधारणको गन्तव्यको रुपमा विकास भइरहेको छ,” उहाँले भन्नुभयो ।

उद्यान निर्माणका लागि वन कार्यालयले रु १२ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । त्यसमा सामुदायिक वनले २० प्रतिशत अर्थात् रु दुई लाख ५० हजार लागत सहभागिता बेहोरेको छ । कूल १५ लाखको लागतमा उद्यान निर्माणको काम भइरहेको छ । चैतभित्रै काम सम्पन्न गर्ने लक्ष्य लिइए पनि काममा ढिलाइ भएको छ । सहायक वन अधिकृत रानाभाटका अनुसार ट्रि हाउसको काम सम्पन्न भए पनि उद्यानमा केही काम बाँकी छ । उद्यानमा रेलिङ हाल्ने, टायल विछ्याउने र बत्ती जडान गर्न बाँकी रहेको छ ।

पृथ्वीराजमार्गबाट दुई सय मिटरको दूरीमा रहेको उक्त ठाउँलाई पर्यटकीयस्थल बनाउने उद्देश्य बमोजिम उद्यानका साथै रुखमा घर बनाइएको हो । “उक्त ठाउँलाई पर्यटककको आकर्षणको केन्द्र बनाउन उक्त योजना अगाडि सारेका हौं”, उहाँले भन्नुभयो, “रुखमा नै घर तनहुँ जिल्लामै पहिलो भएकाले यसले सर्वसाधारणको ध्यान खिच्नेछ ।”

रुखलाई भित्र पारेर काठको घर निर्माण गरिएको छ । “दुई स्टेप बस्न मिल्ने गरी घर निर्माण गरिएको छ, पाँच÷सात जना चढेर त्यहाँबाट दृश्यावलोकन गर्न मिल्नेछ,” उहाँले भन्नुभयो । उक्त ठाउँलाई वनभोजस्थलको रुपमा विकास गर्ने योजना छ । राजमार्गबाट नजिकै भएकाले पनि यस ठाउँले चर्चा पाउने विश्वास गरिएको छ ।

डिभिजन वन कार्यालय तनहुँमार्फत् गत आर्थिक वर्षमा जिल्लाका तीन ठाउँमा उद्यान निर्माण गरिएको थियो । भीमाद नगरपालिका–१ किहुँस्थित शिवशक्ति सामुदायिक वन, शुक्लागण्डकी नगरपालिकास्थित च्वयनधाम र ब्यास नगरपालिका–१४ स्थित छाब्दी बाराहीमा पर्यापर्यटन उद्यानका लागि वन कार्यालयले आर्थिक सहयोग गरेको थियो ।

चालू आर्थिक वर्षमा जिल्लामा छ वटा उद्यान निर्माण हुँदैछ । सहायक वन अधिकृत अरुण पराजुलीले म्याग्देको ज्यानटाङसहित अन्य पाँच वटा उद्यान निर्माण गरिने जानकारी दिनुभयो । हरितपार्क कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–८ पिपलडाँडामा रु १२ लाख ५० हजारको लागतमा उद्यान निर्माण गरिनेछ ।

सामुदायिक वनमा पर्यावरण विकास सहयोग कार्यक्रमअन्तर्गत शुक्लागण्डकी नगरपालिका–१२ स्थित दलिमडाँडा सामुदायिक वन, म्याग्दे गाउँपालिका–१ स्थित वाराही सामुदायिक वनमा उद्यान निर्माण हुनेछ । त्यसका लागि वन कार्यालयले रु पाँच÷पाँच लाख बजेट विनियोजन गरेको छ ।
त्यसैगरी भीमाद नगरपालिका–६ मा शहरी उद्यान निर्माण गर्नका लागि इष्टमेट सम्पन्न भएको र सम्झौता हुन बाँकी छ ।

मन्त्री लम्सालद्वारा अवलोकन

सामुदायिक वनभित्र निर्माण भइरहेको उद्यानको आज गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले अवलोकन गर्नुभएको छ । सो अवसरमा मन्त्री लम्सालले उक्त ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुनेमा द्विविधा नरहेको बताउनुभयो ।

पर्यटनबाटै प्रदेशको समृद्धि सम्भव रहेको र जिल्ला जिल्लामा निर्माण हुने यस्ता पर्यटकीयस्थलले उक्त लक्ष्य पूरा गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।