ओलाङ्चुङगोलाका गलैँचा थन्काउन बाध्य

ताप्लेजुङ ,यहाँको ओलाङ्चुङगोलामा उत्पादन भएका गलैँचा घरमै थन्किएकाछन् । पछिल्लो एक वर्षयता याङ्की शेर्पाले बुँनेका ३६ थान गलैँचा घरमै राखिएको छ । नजिकैकि चुङ्दाक शेर्पाको घरमा पनि दुई दर्जन गलैँचा थन्किएका छन् ।

उनीहरूको मात्रै नभई गाउँका अधिकांशको घरमा व्यावसायिक रूपमा बुँनेका गलैँचा बिक्री नहुँदा घरमै राखिएका छन् । “कोभिड–१९ को सङ्क्रमणका कारण चीनतर्फको नाका पूर्णरूपले बन्द भई निर्यात नहुँदा करिब २ हजार २५० हाराहारीमा गलैँचा थन्किएका छन्”, त्यहाँका वडाध्यक्ष छेतेन शेर्पाले भन्नुभयो ।

उहाँका अनुसार ओलाङ्चुङगोलामा उत्पादीत गलैँचाको मूख्य बजार चीनको तिब्बत हो । एक अघिदेखि टिपताला नाकाबाट आवतजावतमा पूर्णरूपले रोक लगाईएपछि गलैँचाको व्यपार ठप्प छ । सङ्क्रमण फैलने भन्दै गत वर्षको चैतमा तिब्बतले नाका बन्द गराएको गोलाबासीलाई जानकारी गराएको थियो । त्यस यता नाका खुलेको छैन ।

नेपाली बजारको तुलनामा तिब्बतका बजारमा एउटा गलैँचाको मूल्य करिब १० हजार रुपैँया बढी पाउने भएकाले व्यवसायीले तिब्बततर्फ नै निर्यात गर्दै आएका थिए । यहाँ बनेका गलैँचा गुणस्तरीय हुने भएकाले तिब्बतका बजारको रोजाईमा पर्ने गरेको स्थानीय व्यवसायीले बताए ।

यस्तै नेपाली बजारमा ग्राहकले सस्तो खोज्ने हुँदा लगानी र मेहनतअनुसार मूल्य नपाउने यहाँका व्यवसायीको भनाइ छ । “नाका बन्द हुँदा गलैँचाको व्यापार ठप्प छ, नेपालमै बेचौँ त, भने जस्तो मूल्य पार्इँदैन, एक वर्षदेखि बनेका गलैँचा घरैमा थन्किए, अरु आम्दानीको श्रोत पनि छैन, समस्या हुँदै गयो”,स्थानीय भुजुङ शेर्पाले भन्नुभयो ।

व्यवसायीका अनुसार नेपालमा १० देखि १५ हजारका दरले बिक्री हुने गलैँचा तिब्बतमा २० देखि २५ हजार रुपैँयामा बिक्री हुन्छ । गुणस्तरको आधारमा ३०–३५ हजार रुपैँयासम्म पर्ने उनीहरूले बताए । एउटा गलैँचा बन्न कम्तिमा १ हप्तासम्म लाग्छ । गलैँचा बन्न प्रयोग गरिने धागो, रङ्गलगायत सामान तयार गर्न छुट्टै समय लाग्छ । आवश्यक पर्ने कच्चा पदार्थ चीन बाटै ल्याउने गरिए पनि नाका बन्द भए यता नेपालकै बजारबाट ल्याउन थालिएको छ ।

एक वर्षदेखि गलैँचा बिक्री नभए पनि यहाँका बासिन्दाले गलैँचा बन्न छाडेका छैनन् । नाका खुल्ला अनि बेचौँला भन्दै बन्दाबन्दीको समयलाई गलैँचा बनेर सदुपयोग गरिरहेका छन् । यतिबेला निषेधाज्ञाले कतै जान आउन नपाउने भए पछि घरैमा रहेका स्थानीयले गलैँचा बनेरै समय बिताउने गरेको वडाध्यक्ष शेर्पाले बताउनुभयो ।

“आवश्यक पर्ने कच्चा पदार्थ एक वर्ष सम्मलाई पुग्ने गरी काठमाडौँलगायत ठाउँबाट ल्याएर गलैँचा बुनिरहेका छन्, लामो समयसम्म चीनतर्फको नाका नखुले अन्य बजार खोजेर पनि बजारीकरणमा सहयोग गर्नु पर्ला”, वडाध्यक्ष शेर्पाले भन्नुभयो ।

सदरमुकामबाट सवारी साधन र पैदल गरी दुई दिनमा पुगिने ओलाङ्चुङगोलामा हाल ५३ घर परिवारको बसोबास छ । यहाँका बासिन्दाले गलैँचा बुन्ने, पशु पालन गर्ने र जडिबुटी सङ्कलन गर्ने गरेका छन् । पछिल्लो समय जनशक्तिको अभाव, जङ्गली जनावरको आक्रमणका कारण पशुपालन घट्दै गएको छ भने जडिबुटी सङ्कलन पनि कमैले मात्र गर्न थालेका छन् ।

अन्य पेशाव्यवसाय नभएकाले गलैँचा उत्पादन नै यहाँका बासिन्दाको मुख्य पेशाव्यवसाय बनेको तर सङ्क्रमण रोक्न गरिएको बन्दाबन्दीले व्यापार ठप्प हुँदा भने एक वर्षदेखि आर्थिक समस्या झेल्नु परेको स्थानीयवासीले बताएका छन् । गाउँमा वडाको बजेटबाट सञ्चालन हुने सानातिना योजनामा काम गर्न पाएकाले सामान्यतः सहयोग मिलेको समेत उनीहरूले बताए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।