घर को छ्त मा आकर्षक तरिका ले तरकारी खेती

चितवन, भरतपुर महानगरपालिका–११ दीपज्योति टोल सुधार संस्था छिरेपछि यतिबेला सबैको घरमाथि तरकारी खेती देख्न सकिन्छ । तरकारी लगाउने जग्गा नभएपछि स्थानीय महिलाहरुले कौसीमा तरकारी खेती गर्दै आएका छन् ।

बाहिरबाट हेर्दा पनि लोभलाग्दो देखिने गरी दीपज्योति आमा समूहका महिलाहरुले तरकारी खेती गर्दै आएका छन् । स्थानीयवासी सुनिता कार्की आफ्नो फुर्सदको समयमा कौसीमै बिताउँदै आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “घरको काम धन्दा सकिएपछि दिन कटाउने बाटो भएको छ । तरकारी किनेर खान पनि परेको छैन ।”

कौसीमा तरकारी लगाएदेखि दैनिकी कटाउन र घरका लागि आवश्यक तरकारी पर्याप्त मात्रामा पुग्ने गरेको उहाँले बताउनुभयो । विगत एक वर्षदेखि कौसीमा तरकारी लगाउँदै आउनुभएकी कार्की अहिले तरकारी किन्न जाने समय र तरकारी किन्ने पैसाको समेत बचत भएको बताउनुहुन्छ । तरकारी किन्ने पैसा अन्य क्षेत्रमा लगानी गरेको उहाँले जानकारी दिनुभयो ।

सोही टोलकी विष्णु आचार्यको फुर्सदको समय तरकारी गोड्ने, पानी हाल्ने र मल राख्नेमै बित्छ । उहाँले घरको छतमा तरकारी लगाउनुभएको छ । उहाँको कौसीमा बोडी, काँक्रो, साग, घिरौँला, कागतीलगायतका तरकारी रहेका छन् ।

उहाँको बिहान बेलुका घरको कामबाहेक अन्य समयमा कौसीमा काम गरेर बित्छ । घरमै उत्पादन भएको प्राङ्गारिक तरकारी खान पाइने र समयको बचत हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तरकारी किन्न जाँदा अन्य सामान पनि किनिने गरेको भए पनि अहिले बजारको तरकारी किन्नु परेको छैन ।”

अर्चना देवकोटा मरहठ्ठाको बिहान बेलुकाको समयले मात्रै आफूलाई पुग्ने तरकारी उत्पादन हुँदै आएको छ । शुरुआतमा केही समस्या हुन्छ कि भन्ने लागेको भए पनि अहिले तरकारी खेती व्यवस्थित गर्न सके आफूलाई आवश्यक पर्ने मात्र नभई थोरै थोरै बिक्री गरेर नुनतेल खानेसम्म पुग्ने उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “बजारको तरकारीमा कति विषादी हुन्छ थाहा हुँदैन । आफूले लगाएको ताजा र कम बिषादी प्रयोग भएको तरकारी खान पाइएको छ ।” तरकारीको मौसममा नुन तेल खर्चसमेत तरकारी बिक्री गरेर पुग्ने उहाँको भनाइ छ । अहिले उहाँको कौसीमा बोडी, काँक्रो, खुर्सानी, भिन्डी करेलालगायतका तरकारी खानका लागि तयारी अवस्थामा रहेका छन् । थोरै ठाउँमा भए पनि आफूलाई पर्याप्त तरकारी उत्पादन भएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “बर्सातको समयमा पानी तालियर केही खेती नहुने ठाउँमा कौसीमा तरकारी लगाएर खाँदै आएका छौ ।”

दीपज्योति आमा समूहमा रहेका ४५ महिलाले अहिले तरकारी खेती गरिरहेका छन् । तीमध्ये गत वर्षदेखि गर्दै आएका २५ र अहिले नयाँ शुरु गरेका २० जना रहेको आमा समूहका अध्यक्ष महेश्वरी राईले बताउनुभयो । कौसी खेती गर्न लागेपछि यस टोलका महिलालाई तरकारी किन्न जानुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो । “अहिले यहाँका महिला दिदीबहिनीले प्राङ्गारिक मलसमेत आफैँ उत्पादन गर्दै आउनुभएको छ”, उहाँले भन्नुभयो ।

दीपज्योति टोल विकास संस्थाका उपाध्यक्ष शुभद्रा रेग्मी कृषि ज्ञान केन्द्र भरतपुरको ५० प्रतिशत अनुदानमा कौसी खेती कार्यक्रम गरिएको बताउनुहुन्छ । अहिले टोल विकास संस्थामा आबद्ध २०५ घरधुरी रहेको र यी सबै घरमा कौसी खेती पु¥याउने योजनाअनुसार काम अघि बढेको उहाँको भनाइ छ ।

ज्ञान केन्द्रका प्रमुख राजन ढकाल २५ जनाभन्दा बढीको समूह बनाएर आएमा केन्द्रले अनुदान दिने बताउनुभयो । समूहमा आउनेमध्ये प्रतिव्यक्ति रु १० हजारसम्म अनुदानको व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । दैनिक उपभोग गर्ने खुर्सानी, धनियाँ जस्ता तरकारी थप उपयोगी हुने उहाँको भनाइ छ । जग्गा खण्डीकरण भएर सानो सानो टुक्रा भइरहेको समयमा यो प्रभावकारी हुने ढकालले बताउनुभयो । यसले हरियाली र घरको सुन्दरता बढाउने उहाँको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।