धानबालीमा ब्लास्ट रोग को प्रकोप

वीरेन्द्र कर्ण ,वीरगञ्ज, १३ भदौ । पर्सामा किसानले लगाएका धानखेतीमा गवारो र पातबेरुवा रोगको प्रकोप देखिएको छ । गवारो कीराको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । यी रोगको प्रकोप देखिएपछि यस वर्ष धान उत्पादनमा कमी आउन सक्ने कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।

पर्सामा ९० प्रतिशत किसान व्यावसायिकरुपमा धानबालीखेती गर्दै आएका छन् । यस वर्ष सुरुमै ४० देखि ७० दिनसम्मको अगहनी धानबालीमा सो रोगले व्यापक क्षति गरेकाले यस वर्ष कम धान उत्पादन हुने कृषि विज्ञको भनाइ छ । अन्य वर्षभन्दा यस वर्ष मनसुन चाँडै सक्रिय भई अत्यधिक पानी परेकाले किसानले सुरुमा गोडमेल गरेको धानमा आवश्यकताभन्दा बढी युरियामल प्रयोग गरेकाले सो रोग देखा परेको कृषि ज्ञान केन्द्र पर्साका बागवानी अधिकृत श्याम किशोरप्रसाद कुर्मीले राससलाई बताउनुभयो ।

सुरुमा पर्साको उत्तरी भेगमा देखापरेको यो रोग विस्तारै दक्षिणी भेगसम्म सरेकाले किसान पीडित हुने गरेको हो । पर्सा जिल्लाको अधिकांश ठाउँमा यो रोग देखा परे पनि कति क्षति भएको यकीन हुन सकेको छैन । धानमा यो रोग देखापरेपछि यसको निदान किसानले आफैँ गर्दै आएको छ । कृषि प्राविधिकले पनि रोगकीरा निदानका लागि औषधि छर्किन सल्लाह दिएका छन् । पर्साका किसानले बढीमात्रामा सोना मन्सुली धानखेती गर्ने भएकाले यो धानबालीमा बढीमात्रामा गवारो र पातबेरुवा रोग लाग्ने गरेको बाली संरक्षण अधिकृत समसुल हक मियाँले बताउनुभयो ।

गवारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा हो । धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा बोटको वयस्क अवस्थासम्म यसले आक्रमण गरी वर्षेनी ठूलो क्षति पु¥याउने गरेको किसानको गुनासो छ । कीराको प्रकोप तीव्ररुपमा फैलने भएकाले धानका बोट केही दिनमा नष्ट हुने गरेका किसानको भनाइ छ । अधिकृत हकका अनुसार कीराको सङ्क्रमणले अहिले धानको बोट नै मर्दै गएका छन् । यसरी बोट नै मरेमा उत्पादनमा कमी आउन सक्ने सम्भावना बढी रहेको छ ।

धानमा पहेंलो गवारो, सेतो, छिर्के, गोल्ड–फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रङ्गको ट्टट्ट गरी छ किसिमका गवारो किराले धानमा आक्रमण गर्ने कृषि विज्ञ बताउँछन् । धानको बिरुवा÷बेर्ना अवस्थादेखि परिपक्व अवस्थासम्मको धानमा गवारोले आक्रमण गर्न सक्छ । धान खेतमा रासायनिक मलको कमी, पानीको कमी र सूक्ष्म तत्वको कमीले कीराको सङ्क्रमण सहजै फैलन सक्ने कृषि विज्ञको भनाइ छ ।

“गवारो कीराको सङ्क्रमण देखिँदा किसानले समयमा ध्यान दिए रोकथाम गर्न सक्छन् । यसका लागि रासायनिक विषादीको प्रयोग तथा सुक्ष्म तत्वको प्रयोग गर्नुपर्छ”, अधिकृत हकले भन्नुभयो, “धान खेतमा कीराको प्रकोपले वर्षेनी धान उत्पादनमा कमी हुने गर्छ । त्यसैले किसानले समयमै ध्यान दिन जरुरी छ ।”

सो रोगका कारण पर्साका किसानले क्षति भएको ठाउँमा पुनःरोपाइँ गरिएको छ । हालसम्म पर्सा जिल्लामा ९७ प्रतिशत धान रोपाइँ भइसकेको छ । जिल्लामा कूल ३५ हजार २० हेक्टरमा किसानले धानखेती गरेकामा पछिल्लो समय १० प्रतिशत धानबालीमा गवारो रोग र पाँच प्रतिशत धानबालीमा पातबेरुवा रोग लागेको देखिन्छ । हाल फाट्टफुट्टरुपमा धानबालीमा ब्लास्ट रोग फेला पर्न थालेको छ ।

यसैबीच प्रसारप्रचारको अभाव, किसान आकर्षित हुन नसक्नु र स्थानीय तहको उदासीनताका कारण ब्लक उत्पादन कार्यक्रमको रु तीन करोड २५ लाख फ्रिज भएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ब्लक निर्माण कार्यक्रमका लागि कृषि ज्ञान केन्द्र पर्सामार्फत आएकोे सो रकम किसानसम्म पुग्न नसक्दा फ्रिज भएको बताइएको छ ।

पर्साको १४ स्थानीय तहका लागि आएको सो रकम समयमा सदुपयोग हुन नसक्दा फ्रिज भएको बताइएको छ । सो कार्यक्रमअन्तर्गत एउटा पालिकाले सो कार्यक्रम सञ्चालन गर्न एक ठाउँमा सवा दुई बिघा जग्गाको लालपूर्जा पेश गर्न कानूनी प्रावधान रहेकाले किसानले यति ठूलो जग्गाको लालपूर्जा, चारकिल्ला प्रमाणितजस्ता प्रमाणपत्र पेश गर्न नसकेकाले उक्त कार्यक्रम प्रभावित भएको बताइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।