रासायनिक मलको प्रयोग घटाउन प्रांगारिक मल

झापा, २६ कात्तिक ।रासायनिक मल प्रयोगले मानवीय स्वास्थ्य र प्रकृतिमा पर्ने असर घटाउन झापाको एक कृषि सहकारीले प्रांगरिक मल बनाउँदै आएको छ । कमल-२ स्थित आईपीएम कृषि सहकारी संस्थाले आफैँ प्रांगरिक मल उत्पादन गरेर कृषकलाई अनुदानमा वितरण गर्दै आएको छ । किसानलाई मात्र सदस्य बनाएको आईपीएममा ४०० कृषक सेयर सदस्य छन् । ती कृषकलाई बर्सेनि प्रांगरिक मल बनाएर सहकारीले बिक्री वितरण गर्दै आएको छ । गाईको गोबर, वनको माटो, पिना, हड्डीको धुलो, गाईको गहुँत लगाएर यो मल बनाइने गरिएको आईपीएम कृषि सहकारी संस्थाकाहरू अध्यक्ष यामबहादुर राईले बताए । चार वर्षअघिबाट मलको उत्पादन सहकारीले सुरु गरेको उनले बताए ।

त्यसयता मलको माग बढ्दै गएको छ । सहकारीमा आवद्ध कृषकलाई यो मल दुई सय ५० रुपैयाँ प्रति बोरा पर्छ । सहकारीमा आवद्ध नभएकालाई भने प्रति बोरा ४०० दरले वितरण गरिँदै आएको अध्यक्ष राईले बताए । ‘यो मललाई प्रति बोरा १२५ रुपैयाँ लागत लाग्छ । बाहिर ४०० प्रति बोरामा वितरण गर्ने यो मल हाम्रो सहकारीमा अवद्ध कृषकलाई भने अनुदानमा २५० मा उपलब्ध गराउँछौँ’, उनले भने, ‘यसको माग अत्याधिक छ । हामीलाई माग धान्न नै मुस्किल हुने गरेको छ । वर्षमा तीन पटकभन्दा धेरै मल बनाउँछौँ । एक पटकमा ४०० बोरासम्म बनाउन सकिन्छ ।’

यो मल उत्पादनक लागि ३५ दिन लाग्छ । मल उत्पादनले रासायनिक मल विस्थापनसँगै स्थानीयलाई रोजगारी पनि दिएको अध्यक्ष राई बताउँछन् । ‘रासायनिक मलले विस्तारै माटोको उत्पादन क्षमता घटाउँदै गएको छ । मानव स्वस्थ्य र प्रकृतिमा पनि गम्भीर असर पुर्‍याउँछ । त्यसलाई विस्थापन गर्न हामीले मल उत्पादन थालेका हौँ’, उनले भने, ‘अहिले आलु, टमाटर, सागसब्जीलगायतमा यो मलको प्रयोग बढ्दै गएको छ । अरू बालीमा पुर्‍याउन सकेका छैनौँ । विस्तारै हाम्रो कृषकले प्रांगारिक मल मात्र प्रयोग गर्ने मनाउँछौँ । मल बनाउँदा स्थानीयले रोजगारी पनि पाएका छन् । उनीहरूलाई तालिम दिएका छौँ । वार्षिक १० जनाभन्दा धेरैले निरन्तर रोजगारी पाएका छन् । गाउँ घरमा खेर जाने कुहिने वस्तु मलमा प्रयोग भएको छ ।’

प्रांगारिक मल लगाउन थालेपछि उत्पादन भएको आलु र तरकारीको स्वादमा नै फरक परेको स्थानीय कृषक जानुका मगर बताउँछिन् । रासायनिक मलले स्वास्थ्यमा असर गर्ने जानकारी पाएपछि आफूले पनि चार वर्षयता निरन्तर प्रांगारिक मलको प्रयोग गर्दै आएको उनको भनाइ छ । ‘रासायनिक मल लगाउँदा उत्पादन धेरै भएको जस्तो लाग्छ । तर, रासायनिक मलले हाम्रो जीवन सक्दै रहेछ । रासायनिक मल लगाएर उत्पादन भएको सागशब्जी र आलुमा आकाश जमिनको फरक छ । यसको स्वाद नै मीठो हुँदैन’. उनी भन्छिन्, ‘तर, प्रांगारिक मल लगाएपछि स्वाद पनि मीठो हुन थालेको छ । सागसब्जी पनि छिट्टो पाक्छ ।’

रासायनिक मलका लागि कृषकले घन्टौँ लाइन बस्नुपर्ने बाध्यता छ । नेपालमा नपाए जोखिम मोलेर भारतबाट खुला नाकाको प्रयोग गर्नुपर्ने बाध्यता छ । प्रांगारिक मलले यो सबै समस्याको समाधान क्रमशः गर्दै आएको कमल-२ की कृषक सीतादेवी कट्टेलले बताइन् । ‘रासायनिक मल लगाउँदा साह्रै गाह्रो पर्छ । भनेको बेलामा मल पाउँदैन । लाइन बस्नुपर्छ’, उनी भन्छिन्, ‘तर, प्रांगारिक मलमा त्यो छैन । सहकारीले आफैँ उत्पादन गर्ने हो । भनेको बेलामा मल पाइन्छ । तर, एकैपटक रासायनिक मल पनि हटाउन नहुने रहेछ । अहिले पहिलाको भन्दा आधा लगाउँदै आएका छौँ । क्रमशः यो मललाई पूरै हटाउँछौँ । प्रांगारिक मल नै लगाउँछौँ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।