एमाले महाधिवेशन : एघार जिल्लाबाट प्रतिनिधिको विवरण आउन बाँकी

काठमाडौँ, १ मङ्सिर। नेकपा (एमाले)को दसौँ राष्ट्रिय महाधिवेशनका लागि ११ जिल्लाबाट अझै प्रतिनिधिको विवरण आउन बाँकी रहेको छ । ती जिल्लामा प्रतिनिधि छनोट भइसके पनि प्राविधिक कारणले विवरण अझै नआएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । उहाँका अनुसार कैलाली, कञ्चनपुर, बाजुरा, ताप्लेजुङ, पाँचथर, सुनसरी, सप्तरी, सिराहा, महोत्तरी, रौतहट र धनुषाबाट निर्वाचित भएका प्रतिनिधिको विवरण अझै प्राप्त नभएको हो । “महाधिवेशनका लागि सबै जिल्ला, विभाग र जनसङ्गठनमा प्रतिनिधि छनोट सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “तर केही प्रक्रिया पु¥याउनुपर्ने भएकाले ती जिल्लाबाट विवरण आउन ढिलाइ भएको हो ।”

यस्तै २२ जनसङ्गठनमध्ये छ वटाबाट प्रतिनिधिको विवरण नआएको उहाँको भनाइ छ । एमालेले कात्तिक ३० गतेसम्म प्रतिनिधिको विवरण पठाउन निर्देशन दिए पनि ती जिल्ला र जनसङ्गठनबाट विवरण नआएको हो । उहाँले बिहीबारसम्म सबै जिल्ला र जनसङ्गठनको विवरण आउने बताउनुभयो । एमालेमा एक निर्वाचन क्षेत्रबाट एक महिला, एक दलितसहित पाँच र जनसङ्गठनबाट पाँचजनाका दरले प्रतिनिधि छनोट गरिएको छ । यही मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि एमालेले कात्तिक २७ गते देशभर एकैसाथ प्रतिनिधि छनोट गरेको थियो । महाधिवेशनका लागि धेरै जसो जिल्ला कमिटीमा सर्वसम्मत प्रतिनिधि छनोट गरिएको एमाले प्रचार विभाग उपप्रमुख थापाले बताउनुभयो ।

चितवनमा हुने महाधिवेशनमा देशभरिबाट एक हजार ९९९ प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशनले १५ केन्द्रीय पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी सदस्य र लेखा आयोग तथा अनुशासन आयोगमा १५÷१५ जना निर्वाचित गर्नेछ । महाधिवेशन गर्न एमाले नेता रामबहादुर थापाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

भड्किलो प्रचारमा रोक
गण्डकी, १ मङ्सिर ।नेपाली कांग्रेस कास्कीले पार्टीको अधिवेशनका बेला हुने भड्किलो प्रचारमा रोक लगाएको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा सम्पन्न बैठकले पार्टीको आन्तरिक निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने लक्ष्यका साथ भड्किलो प्रचारमा रोक लगाउने निर्णय गरेको हो । यो निर्णयसँगै अब कुनै पनि उम्मेदवारले भड्किलो गरी प्रचार सामग्रीको प्रयोग गर्न नपाउने कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो । “उम्मेदवारले आफ्नो परिचयका लागि व्यक्तिगत रुपमा एउटा मात्रै सामग्री घाँटीमा झुन्ड्याउन सक्ने छन्”, उहाँले भन्नुभयो, “त्यसबाहेकका भड्किलो गरी अन्य प्रचार सामग्रीको प्रयोग गर्न पाइने छैन।”

निर्वाचनस्थलमा उम्मेदवारसँग सम्बन्धित प्लेकार्ड र पर्चा वितरण गर्न पनि नपाइने र ब्यानर प्रदर्शनमा समेत रोक लगाइएको छ । बैठकले कार्यसमितिका ११ जना आमन्त्रित सदस्यलाई पूर्ण सदस्यमा मनोनयन गरेको प्रवक्ता सिग्देलले जानकारी दिनुभयो । पार्टीका प्रदेश, क्षेत्र र जिल्लाका अधिवेशन नजिकिँदै गर्दा कास्कीमा पार्टीको चुनावी चहलपहल बढेको छ । अधिवेशनका लागि विभिन्न पदमा उम्मेदवार बन्न चाहने पार्टीका नेता तथा कार्यकर्ताले यतिखेर आफ्नो प्रचार अभियानलाई तीव्र पारेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।