कञ्चनपुर सभापति महाधिवेशन प्रतिनिधिमा पराजित

महेन्द्रनगर, ८ मङ्सिर । नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति हरि बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्र्तगत कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ बाट बोहरा महाधिवेशन प्रतिनिधिका लागि खुल्लातर्फ उम्मेदवार हुनुहुन्थ्यो । सभापति बोहराले २४४ मत प्राप्त गर्नुभयो । यस्तै पूर्व सांसद बलदेब बोहरा पनि महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । उहाँले १९० मत प्राप्त गर्नुभयो । सो निर्वाचन क्षेत्रमा पुरुषतर्फ १९ उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । दश जना निर्वाचित भएका छन् । निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा बहादुरसिंह थापा, चिन्तामणि भट्ट, हेमराज ओझा, लोकबहादुर देउवा, पुष्करराज ओझा, दलबहादुर बोहरा, मिनबहादुर सिंह, दुर्गादत्त भट्ट, उद्धव बोहरा र टिकाराम बैज छन् । क्षेत्र नं २ मा कूल ५०४ मत खसेको थियो ।

यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट पुरुष खुल्लातर्फ महाधिवेशन प्रतिनिधिमा यज्ञराज जोशी, खगेश्वर बोहरा, बेलबहादुर रानामगर, प्रकाश थापा, दीपक सिंह, पदम बोगटी, आसेफ कुवँर (भुन्टु), तारणीदत्त चटौत, जङ्गबहादुर चन्द र बीरबहादुर सुनार निर्वाचित भएका छन् । सो क्षेत्रमा पुरुष खुल्लातर्फ ३२ जना महाधिवेशन प्रतिनिधिका लागि चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । क्षेत्र नं २ को सभापतिमा लालबहादुर सिंह विजयी हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नवराज जोशीलाई १८४ मत अन्तरले पराजित गर्नुभएको हो । सिंहले ३४१ तथा जोशीले १५७ मत प्राप्त गर्नुभयो । सचिवमा गणेशबहादुर विष्ट ३५० र थानेश्वरप्रसाद भट्ट ३३१ मतसहित निर्वाचित हुनुभयो । यसअघि निर्वाचन क्षेत्र नं ३ को सभापतिमा भने केशवहादुर चन्द निर्वाचित हुनुभएको थियो । चन्दले ३३० तथा उहाँका निकटतम प्रतिद्वन्द्वी गणेश नेगीले १९३ मत प्राप्त गर्नुभएको थियो । सचिवमा उमेशप्रसाद जोशी र गङ्गादत्त भट्ट तथा सह–सचिवमा अर्जुन भट्ट र खड्कबहादुर बस्नेत निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

जातीय छुवाछूत गर्नेलाई दण्डित गर्नैपर्छ : मुख्यमन्त्री केसी
बाँके, ८ मङ्सिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जातीय छुवाछूत गर्नेलाई दण्डित गर्नुपर्ने बताउनुभएको छ । छुवाछूत गर्नेलाई संविधानमै दण्डको व्यवस्था गरिएको भएपनि कार्यान्वयन हुन नसकेको उहाँले उल्लेख गर्नुभयो । दलित महिला सङ्घले मङ्गलबार बुुटवलमा आयोजना गरेको दलित महिला जनप्रतिनिधि र अभियानकर्मीको प्रदेश सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले तहगत संरचनामा पुगेका जनप्रतिनिधि जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । छुवाछूत अन्त्यका लागि संविधानको कार्यान्वयनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री केसीले सामाजिक विभेद संवैधानिकरूपमा अन्त्य भए पनि व्यवहारिकरूपमा त्यो जीवित नै भएको उल्लेख गर्नुभयो । उहाँले लुम्बिनी प्रदेश सरकार छुट्टै कानुन वा एकीकृत कानुन बनाएर दलित समुदायको पक्षमा काम गर्न तयार रहेको बताउनुभयो । सम्मेलन उद्घाटन समारोहमा संविधानसभा सदस्य विनोद पहाडी, प्रदेशसभा सदस्य कमलादेवी विश्वकर्मा, दीपा विश्वकर्मा, जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्मा, मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनाल, बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्य, बबई नगरपालिकाका उपप्रमुख सावित्रा विश्वकर्मा, बाँकेको खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विश्वकर्मा, सङ्घका अध्यक्ष कला स्वर्णकारलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖