सभापति देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता छ
काठमाडौँ, २९ मङ्सिर । गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने विश्वास व्यक्त गर्नुभएको छ । बिहान सभापतिको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता रहेकाले पार्टी आगामी दिनमा सहज र सुदृढ ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । सभापति देउवाले कांग्रेसलाई अझै सुदृढ, क्रियाशील, गतिशील र सङ्गठित बनाएर लैजाने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँ (सभापति देउवा)को कार्यकालमा लोकतन्त्र पनि बलियो हुनेछ । राजनीतिक सहमति र सहकार्यका आधारमा मुलुकलाई अघि बढाउनुका साथै आगामी स्थानीय निकायको निर्वाचन र आम निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेल्नुहुनेछ ।”
कांग्रेस सभापतिमा पुनः दोस्रो कार्यकालका लागि सभापति बन्नुभएका सभापति देउवाले महाधिवेशनअन्तर्गत निर्वाचनको प्रतिस्पर्धामा रहेका सबैलाई पार्टीमा समेट्ने, पार्टीको अभियानमा सक्रिय बनाउने तथा पार्टी सभापतिमा पदाधिकारीमा प्रतिस्पर्धा गरेका नेतालाई केन्द्रीय समितिमा समेटेर लैजाने धारणा राख्नुभयो । निर्वाचन व्यवस्थापनमा केही त्रुटि भएको र मतदाताले पनि गुनासो गरेकाले त्यसलाई आगामी दिनमा सच्याएर लैजाने प्रतिबद्धता जनाउनुभयो । प्राविधिक समस्याका कारण मतदाता लामो समयसम्म लाइन बसेर कष्टका साथ मतदान गर्नुपर्ने अवस्था आएको भन्दै उहाँले आगामी महाधिवेशनमा अहिलेको व्यवस्थापकीय पाटोलाई मध्यनजर गरी सरलीकृत गरिने विश्वास व्यक्त गर्नुभयो ।
कांग्रेस महाधिवेशन : पदाधिकारीको मतगणना अपरान्ह्देखि
काठमाडौँ, २९ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको बाँकी मत गणना आज अपराह्नदेखि सुरु हुने भएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य आजैदेखि प्रारम्भ हुने जनाएको हो । निर्वाचन संयोजक गोपालकृष्ण घिमिरेले आज अपरान्ह्देखि मत गणना सुरु गरिने जानकारी दिनुभयो । उहाँका अनुसार पदाधिकारीको मतगणना गरिने छ । कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो । पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि मङ्गलबार पुनः मतादन भएको थियो ।
दोस्रो चरणमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी हुनुभएको थियो । गए राति सभापतिका उम्मेदवारको मतगणना सम्पन्न भएको थियो । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सभापतिमा विजयी देउवाले दुई हाजर ७३३ मत प्राप्त गर्नुभएको थियो । सभापतिका प्रत्यासी डा शेखर कोइरालाले एक हजार ८५५ मत प्राप्त गर्नुभएको थियो । दोस्रो चरणको निर्वाचनमा कूल चार हजार ६२३ मत खसेको थियो । जसमध्ये ३५ मत बदर भएको थियो । सभापति बाहेकका बाँकी पदाधिकारी र सदस्यको मत गणना सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा हुने निर्वाचन संयोजक घिमिरेले जानकारी दिनुभयो । उहाँले मत गणनालाई सक्दो छिटो सम्पन्न गर्नेगरी व्यवस्थापन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “आजै अपराह्नबाट मत गणना सुरु गर्छौँ, पदाधिकारीबाटै मतगणना हुन्छ । हामी अहोरात्र खटेर मतगणना गर्छौँ र छिट्टै गणना सम्पन्न गर्ने गरी व्यवस्थापन गर्छौँ ।”
कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि थिए । एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । मङ्सिर २४ गते भृकुटीमण्डपमा भव्य समारोहकाबीच कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन भएको थियो । मतदानका लागि राष्ट्रियसभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको थियो । सभापतिका लागि प्रधानमन्त्री एवं वर्तमान सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्वय कोइराला र कल्याणकुमार गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।


