संखुवासभामा करेन्ट लागि १ जनाको मृ’त्यु
संखुवासभा, असार २६ । संखुवासभाको चैनपुर नगरपालिका-६ स्थितमा करेन्ट लागि १ जनाको मृ’त्यु भएको छ ।
हिजो बेलुका साढे ४ बजे चैनपुर-६ स्थितमा बरुण हाईड्रोपावरको ३३ केभि प्रसारण लाईन मर्मत गर्ने क्रममा उक्त हाईड्रोपावरका प्लान अप्रेटर राप्ती गाउपालिका-३ दाङका २५ बर्षीय दिपक न्यौपानेलाई करेन्ट लागि घाईते भएकोमा तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएकोमा उनको उपचारको क्रममा मृ’त्यु भएको थियो ।
मृ’तक लाशलाई पोष्टमार्टमको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाईएको र घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भईरहेको छ ।
मुख्यमन्त्री राईद्वारा बकर इदको शुभकामना
मोरङ, २६ असार (रासस):प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले इस्लाम धर्मावलम्बीहरूको महान् चाड बकर इद (इद–उल–अज्हा) पर्वको सुखद् अवसरमा देश, विदेशमा रहनुहुने सम्पूर्ण मुस्लिम दाजुभाइ, दिदीबहिनी तथा सबै नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
बकर इद (इद–उल–अज्हा)का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले मुस्लिम समुदायले मनाउने यो पर्व एउटा उत्साह र समानताको प्रतीक हो भन्नुभएको छ । परिवार र समुदायका हरेक व्यक्ति चाहे धनी हुन् वा गरिब आपसमा मुस्कान र सदाचारका शुभेच्छासहित एकअर्कामो अँगालोमा बाँधिएर शुभकामना आदान–प्रदान गरिने उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
मुख्यमन्त्री राईले आपसी सद्भावको चाडका रूपमा मनाइने यो पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गरेको उल्लेख गर्नुभएको छ ।
उहाँले नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपमा रहेको छ र सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवं संवद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो भन्नुभएको छ ।
उहाँले सन्देशमा हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित फेरि पनि संसारभरि फैलिएर रहेका मुस्लिम दाजुभाइ, दिदीबहिनीसहित सबै नेपालीहरूमा बकर इदका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।


