खोटाङको भुत्ते–आयुर्वेद सडक ढलान तथा ग्राभेलिङको काम अलपत्र

खोटाङ, ८ भदौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित भुत्ते–आयुर्वेदको कार्यालय सडक ढलान तथा ग्राभेलिङको काम अलपत्र परेको छ । सहरी विकास मन्त्रालयको २३ लाख ६८ हजार रुपैयाँमा निर्माण कम्पनी जेपी–लगलगे जेभीले ठेक्का लिएको सडकको ढलान तथा ग्राभेलिङको काम अलपत्र परेको हो । निर्माण कम्पनीले सडक ढलान तथा ग्राभेलिङको काम अलपत्र छाड्दा स्थानीयलाई आवत जावतमा समस्या भएको छ ।

सडक ढलानका क्रममा रड बाँधेर छाड्दा पानी पँधेरा, गाउँबेँसी, हाटबजार गर्नदेखि विद्यालय, स्वास्थ्य कार्यालय लगायतमा जानआउन समस्या भएको स्थानीय भुवनप्रसाद आचार्यले बताए । रड बाँधेर धरापजस्तो असरल्ल छाडिएको प्वालमा खुट्टा अल्झिएर स्थानीय लड्ने गरेका छन् । कतिपयलाई चोट पटक लागेको स्थानीय बताउँछन् । विद्यार्थीलाई बढी समस्या परेको छ । बाँधिएको रडमा अल्झिएर गाईबस्तुको खुट्टा भाँचिएको स्थानीय राधिका आचार्य बताउँछिन् ।

गत २०७९ वैशाख १९ गतेभित्र सक्नेगरी जेपी–लगलगे जेभीले २०७८ माघ २० गते भुत्ते–आयुर्वेदको कार्यालय सडक ढलान तथा ग्राभेलिङको सम्झौता गरेको थियो । सो खण्डमा ८०.६६ घनमिटर आरसिसि ढलान, ९१.५७ घनमिटर सोलिङ र ८४.७५ घलमिटर मेसिनरी वाल हाल्नुपर्ने सम्झौता छ । गत असारसम्ममा १४ लाख ८४ हजार ६६४ (करिब ६० प्रतिशत) भुक्तानी भएको सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर सञ्जयकुमार चौधरीले बताए ।

हालसम्म सो आयोजनाको भौतिक प्रगति करिब ७० प्रतिशत मात्र पुरा भएको कार्यालयले जनाएको छ । कार्यालयको स्टिमेट ४२ लाख ३२ हजार २३१ रुपैयाँ भए पनि निर्माण कम्पनीले करिब ४६ प्रतिशत कममा ठेक्का लिएको हो । गत असारसम्म म्याद थप भएको आयोजनाको सार्वजनिक खरिद १२औं संशोधन नियमावली २०७९ अनुसार एक वर्ष म्याद थप भएको छ ।
मेयर र सिडिओ पुगे अनुगमनमा

भुत्ते–आयुर्वेदको कार्यालय सडक ढलान तथा ग्राभेलिङको काम अलपत्र परेको जनगुनासो आएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई बुधबार निरीक्षणमा पुगेका छन् । प्रमुख जिल्ला अधिकारी सेढाईले निर्माणस्थलबाट फोन सम्पर्क गरेर निर्माण व्यवसायीलाई तत्काल काम सुरु गर्न निर्देशन दिएका छन् । बिहीबार बेलुकासम्ममा काम सुरु नगरे निर्माण व्यवसायीलाई पत्राचार गर्ने र पक्राउ गरेर कारबाही गरिने मेयर भट्टराईले बताए ।

मेयर भट्टराई र प्रजिअ सेढाईलाई स्थानीयले सडकको काम अलपत्र पार्ने निर्माण व्यवसायीलाई खोजतलास गरी अवरुद्ध काम अघि बढाउने वातावरण बनाउन लिखित माग राखेका छन् । स्थानीयले कामदारलाई समेत अलपत्र पारेको बताएका छन् ।

नगरपालिकाले सडक स्तरोन्ततीको ठेक्का लिएर काम अलपत्र पार्ने जेपी–लगलगे जेभी सहित रौताहा/सुसम/आदित्य जेभी र ढुकुचु/बगाले थापा/विएनटी जेभीलाई गत २६ साउनमा पत्र पठाउँदै हप्ता दिनभित्र काम सुचारु गर्न अन्यथा कानुनी कारबाही गर्ने चेतावनी दिएको थियो ।

जेपी–लगलगे जेभीले ठेक्का लिएको हाटडाँडा–काफ्लेगाउँ–घुम्ती सडक र दोर्पा–दुम्ली सडक सेक्सनको ढलान तथा ग्राभेलिङको काम पनि सुस्त छ । २०७९ जेठ १९ गतेसम्ममा पुरा गर्नेगरी २०७८ माघ २० गते हाटडाँडा–काफ्लेगाउँ–घुम्ती सडकको सम्झौता भएको थियो । सो खण्डमा १५ घनमिटर ढलान, २२६.२६ घनमिटर सोलिङ, २८५.४६ घनमिटर मेसिनरीवाल र ८८ घनमिटर ग्याविन वाल हाल्नुपर्ने सम्झौता छ । तर गत असार २५ गतेसम्ममा १० लाख मात्र भुक्तानी भएको छ । ८५ लाख ९ हजार ९४० रुपैयाँ लागत स्टीमेट भए पनि जेपी–लगलगे जेभीले ४६ लाख २२ हजार ६० मा ठेक्का पारेको हो ।

यस्तै, २०७९ वैशाख १९ गते सक्नेगरी २०७८ माघ २० गते दोर्पा–दुम्ली सडकको ठेक्का सम्झौता गरिएको हो । तर गत असारसम्मा हालसम्म ४ लाख ८० हजार मात्र भुक्तानी भएको छ । सो खण्डमा ९५.३७ घनमिटर ढलान, ३६.१८ घनमिटर मेसिनरी वाल र १०४.५५ घनमिटर स्टोन सोलिङ गर्नुपर्ने सम्झौता छ । ८२ लाख ३६ हजार ४७३ लागत स्टीमेट भएको आयोजनाको काम २५ लाख १८ हजार २४९ रुपैयाँमा ठेक्का लागेको इन्जिनियर चौधरीले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।