ग्रामीण सडक मरमत नगरिदाँ पैदल यात्रुलाई सास्ती

खोटाङ, १७ असोज । गत चैतदेखि अवरुद्ध जिल्लाका अधिकांश ग्रामीण सडक अझै सञ्चालन भएको छैन । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको जिल्लाका ग्रामीण सडक वर्षा नरोकिएका कारण सञ्चालनमा ल्याउन नसकिएको हो ।

ग्रामीण सडक सञ्चालन नहुँदा दशैँँ, तिहार तथा छट मान्न गाउँ फर्किएका जिल्लावासीलाई सबैभन्दा बढी सास्ती भएको छ । वर्ष दिनपछि आउने चाड दशैँँ, तिहार तथा छट पर्व मनाउन राजधानी काठमाडौँ लगायत तराईका विभिन्न ठाउँबाट गाडी चढेर जिल्ला आएका ग्रामीण सडकमा यातायात नचल्दा दिक्तेलबाट करिब छ÷सात घण्टासम्म पैदल हिँड्न बाध्य भएका छन् ।

सडकमा जमेको हिलो र खाल्डाखुल्डीका कारण पैदलयात्रा गर्नसमेत समस्या रहेको केपिलासगढी गाउँपालिका–१ फेदीका स्थानीयवासी लक्ष्मण साम्पाङले बताउनुभयो । “ग्रामीण सडकमा देखिएका समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो, “यो जिल्लाले समाधान गर्न सक्ने अवस्था छैन । सम्बन्धित निकायले सम्बन्धित ठाउँमा पहल गर्नुप¥यो । हैन भने हरेक वर्ष यस्तै अवस्था हुने निश्चित छ ।”

रोजगारी, अध्ययन तथा विभिन्न पेसा÷व्यवसायलगायत विभिन्न सेवा÷सुविधाका लागि जिल्ला बाहिर बसेका स्थानीय बासिन्दा चाड मान्न सवारी साधनमार्फत दैनिक सयौँको सङ्ख्यामा जिल्ला भित्रिरहेका छन् । सार्वजनिक यातायातको टिकट नपाउने जिल्लाका कतिपय स्थानीयवासी चर्को मूल्य तिरेर रिर्जभ गाडीमा आइरहेका छन् ।

ठेक्का लागेको सडकमा ठेकेदारको लापर्बाही र अन्यमा स्थानीय तहले चासो नदिँदा समस्या भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनुभयो । “चाड मान्न आउने अधिकांश यात्रुले मालसामान लिएर आएका हुन्छन् । ग्रामीण सडक सञ्चालन नहुँदा उनीहरुलाई गन्तव्यमा पु¥याउन सकिएको छैन”, उहाँले भन्नुभयो, “यातायातका साधन ग्रामीण सडकमा नभएपछि उनीहरु पैदल हिँडेर गन्तव्यतर्फ जाने गरेका छन् । यसप्रति सम्बन्धित पक्षले ध्यान दिन जरुरी छ ।”

गाडी चढेर चाड मान्न आएका जिल्लावासी दिक्तेलबाट पैदल हिँड्नुपरे पछि जनप्रतिनिधिप्रति आक्रोशित बन्ने गरेका छन् । चाड÷पर्व आउनुअघि नै जिल्लाका सबै ग्रामीण सडक मर्मत गर्न जिल्लाका दशवटै स्थानीय तहसँग समन्वय गरिए पनि सम्भव नभएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइँले बताउनुभयो ।

कालोपत्र गर्ने गरी ठेक्का लागेको दिक्तेल–जालपा–एेंसेलुखर्क र दिक्तेल–अस्पतालचोक–लफ्याङ सडक ठेकेदारको लापर्बाहीले अलपत्र अवस्थामा छन् । कालोपत्रका लागि फराकिलो बनाउने क्रममा ठेकेदारले पारेको खाल्डाखुल्डी पार्नुका साथै निर्माण सामग्री जथाभावी थुपार्दा दुवै सडकमा यातायातका साधन चल्न सकेको छैन ।

मध्यपहाडी लोकमार्गमा पर्ने नेर्पाको छेपेखोले र कालीखोलामा पहिरो गएका कारण दिक्तेल–भोजपुर पनि यातायात सेवा भरपर्दो नरहेको यातायात व्यवसायीले बताएका छन् । दिक्तेल–बाक्सिला, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी, दिक्तेल–मात्तिम–पञ्चमी, दिक्तेल–रेग्मीटार–रसुवाघाटलगायतका सडक छ महिनादेखि पूर्ण अवरुद्ध छन् ।

चाड÷पर्वको समयमा समेत अवरुद्ध ग्रामीण सडक पुनः मर्मत गरेर सञ्चालनमा ल्याउने बारे कसैको ध्यान नगएको यातायात व्यवसायीको आरोप छ । जिल्लाका ग्रामीण सडकमा यातायात सञ्चालन नभएपछि यातायात व्यवसायीसमेत मारमा परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत असारमा नगरका सबै वडामा बाह्रै महिना यातायात सञ्चालन गर्ने गरी मर्मत गरेपनि असफल भएको छ । पन्ध्र वडा रहेको यस नगरपालिकाले हरेक वडामा रु दशदेखि १५ लाखसम्म खर्च गरेर मर्मत गरेपनि सडकको अवस्था उस्तै रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

अवरुद्ध सडक सञ्चालनमा ल्याउन प्रत्येक वडामा जेसिबी पठाइए पनि वर्षा नरोकिएपछि सम्भव नभएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले बताउनुभयो । “अवरुद्ध सडक खुलाउन पन्ध्र दिनअघिदेखि नै नगरपालिकाको जेसिबी वडावडामा पठाएका छौँ तर, वर्षा नरोकिएपछि मर्मत गरिएका सडकमा समेत यातायात सञ्चालन हुने अवस्था छैन”, उहाँले भन्नुभयो, “वर्षा रोकिनासाथ नगरभित्र पर्ने सबै ग्रामीण सडक सञ्चालनमा ल्याउँछौँ । बर्सेनि अवरुद्ध हुँदै आएको ग्रामीण सडक बाह्रै महिना सञ्चालनमा ल्याउन नगरपालिकाले पहल थालेको छ ।”

सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत तराईका जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडक खण्डसमेत अवरुद्ध भएकाले आवतजावत तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या भएको छ । कालोपत्रको काम सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गर्नुपर्ने समय बितेको लामो समयसम्म पनि ठेकेदार कम्पनीको लापरबाहीका कारण उक्त दिक्तेल–गाईघाट सडक अहिले अलपत्र अवस्थामा छ ।

मध्यपहाडी लोकमार्गको दिक्तेल–काठमाडौँ, दिक्तेल–इटहरी–विराटनगर र दिक्तेल–भोजपुर सडक खण्डमामात्र अहिले नियमित यातायात सञ्चालन हुँदै आएको छ । पन्ध्र वर्षदेखि यातायात सञ्चालन हुँदै आएको जिल्लामा साना तथा ठूला गरी करिब तीन सय यात्रुबाहक सवारी साधन सञ्चालित छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।