इच्छाकामना मन्दिर पुनःनिर्माणको अन्तिम चरणमा

भरतपुर, ३ कात्तिक । चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिर पुनः निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण सुरु गरिएको हो । विसं २०७५ असार ७ गते शिलान्यास गरेर काम सुरु भएको मन्दिरको छाना छाउन बाँकी रहेको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताउनुभयो । तामाको छाना बनाउनका लागि भक्तपुरमा रहेका कालीगडलाई जिम्मा दिइएको छ ।

यसबाहेक मन्दिरमा रङरोगन, ढुङ्गा बिच्छाउने र पर्खाल लगाउने काम बाँकी छ । बजेट अभावका कारण बाँकी काम निर्माण सम्पन्न गर्न नसकिएको उहाँले बताउनुभयो । “गाँउपालिका र प्रदेश सरकारको झण्डै रु दुई करोडको लागतमा मन्दिर निर्माणमा खर्च भइसकेको छ, उहाँले भन्नुभयो”, “चार÷पाँच लाख चन्दादाताबाट पनि सङ्कलन गरिएको छ ।” मन्दिर निर्माणका लागि स्थानीयले श्रमदानसमेत गरेको उहाँको भनाइ थियो । यस वर्ष प्रदेश सरकारले रु १० लाख विनियोजन गरेको छ भने गाँउपालिकाले पनि बजेट विनियोजनको आश्वासन दिएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत फिस्लिङबाट १८ किलोमिटर कच्ची सडक र छ सय मिटर हिँडेपछि इच्छाकामना मन्दिर पुग्न सकिन्छ । मन्दिर निर्माण समितिका उपाध्यक्ष यानबहादुर गुरुङले बर्खाको समयमा गाडी नचल्ने र बोकेर सामान लैजानुपर्दा ढुवानी महँगो पर्ने गरेको बताउनुभयो । उहाँले बजेटको सुनिश्चितता भए यस वर्ष मन्दिर निर्माण सम्पन्न हुने जानकारी दिनुभयो । कोरोना र आर्थिक समस्याका कारण मन्दिर निर्माणमा ढिलाइ भएको उहाँको भनाइ छ ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले मन्दिर निर्माणका लागि आवश्यक बजेट पालिकाले विनियोजन गर्ने बताउनुभयो । उहाँले मन्दिर नजिकै पाउना घरसमेत निर्माण भइरहेको जानकारी दिनुभयो । “मन्दिरमा लिफ्टबाट खानेपानीको व्यवस्था गरिएको छ । जमिन संरक्षण र प्रवेशद्वारा निर्माणलाई पनि गाँउपालिकाले प्राथमिकतामा राखेको छ”, उहाँले भन्नुभयो । इच्छाकामना गाँउपालिका पर्यटकिय सम्पदाले भरिपूर्ण रहेको भन्दै उहाँले यस वर्षदेखि प्रचारप्रसारलाई बढाइने बताउनुभयो । शक्तिखोर फिस्लिङ सडक निर्माण सम्पन्न भएपछि सहजरुपमा इच्छाकामना मन्दिर पुग्न सकिन्छ ।

गोरखाको शहीद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामनामा मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे मनले इच्छाएको पूरा हुने धार्मिक विश्वास छ । मनकामना माईको सात दिदीबहिनीमध्ये एक बहिनी इच्छाकामना रहेकोे मन्दिरका पुजारी हर्कबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार कहिलेबाट यहाँ इच्छाकामना देवीको पूजा गर्न थालिएको हो यकिन नभए पनि धेरै वर्षअघि उहाँका पुर्खाले गाईबाख्रा हराउन थालेपछि गोठालाले भेटेको मूर्तिमा पूजा गर्न सुरु गरेका थिए । “मन्दिरमा पूजा गर्न थालेपछि गाईबाख्रा हराउन छाड्यो । अन्य गाउँलेले पनि पूजाआजाको सुरुआत गरे । इच्छाकामना मन्दिर परिसरमा शिवालयको मन्दिर र गणेशको मूर्ति पनि स्थापना गरियो”, उहाँले भन्नुभयो ।

प्रत्येक वर्ष मङ्सिरको ठूली एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्ने गर्दछ । मेलामा राँगा, बोका, हाँसको अण्डा र कुखुराको बलि दिइन्छ । घण्ट र त्रिशूल पनि चढाउने गरिन्छ । मेलामा देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गर्दछन् । रातभर नाचगान र रमाइलो गरेपछि बिहान पूजाआजा गर्ने प्रचलन रहेको छ ।

इच्छाकामना मन्दिर समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइमा रहेको छ । इच्छाकामनाको वरपर जङ्गलले ढाकेको छ । फागुन, चैतमा फुल्ने लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ । वनपाखा फूलले ढकमक्क हुन्छन् । इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश, माछापुच्छ्रे«सम्म देख्न सकिन्छ ।

मोटरबाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थी इच्छाकामना पनि आउने गरेको पुजारी गुरुङले बताउनुभयो । मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकको आवागमनमा वृद्धि हुँदै आएपछि इच्छाकामनामा होटलसमेत खोल्ने तयारी गरिएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।