तिहारअघि नै सयपत्री फूलको माग बढ्यो

झापा, ४ कात्तिक । फूलहरूको पर्व अर्थात् तिहार आउनुअघि नै सयपत्री फूलको माग बढेको छ । आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारलाई विजय गराउन गरिने विभिन्न राजनीतिक दलका कार्यक्रम, सहकारीका साधारणसभा र अन्य कार्यक्रममा समेत सयपत्री फूलको माला लगाइदिने प्रचलन बढेसँगै फूलको माग बढेको हो ।

मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा मेची सामुदायिक घरबास (होमस्टे) सञ्चालन गर्दै आएका १४ महिलाले मिलेर सामूहिक सयपत्री फूलको खेती गरेका छन् । आठ कठ्ठा जमिन लिजमा लिएर व्यावसायिकरूपमा गरेको सयपत्री फूलको खेतीबाट उनीहरू सन्तुष्ट भएको मेची सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष भावना गुरुङले बताउनुभयो ।

“माग धान्नै गाह्रो भइरहेको छ”, उहाँले भन्नुभयो, “तिहारका लागि मात्र एक हजार पाँच सय माला माग छ । तर चुनावी कार्यक्रममा दैनिक सयभन्दा बढी माला गइरहेकाले माग गरेको माला दिन नसकिने भो भनेर चिन्तित छौँ ।” तीस वटा थुँगाको एउटा माला बन्ने र प्रतिमाला रु ८० का दरले बिक्री भइरहेको उहाँको भनाइ थियो ।

पहिलोपटक फूलखेती गरेका महिलाले मागअनुसारको माला पु¥याउन गाह्रो भएपछि अर्को वर्षदेखि एक बिघा जमिनमा फूलको व्यावसायिक खेती गर्ने सोचमा रहेको उहाँले सुनाउनुभयो । “फूल फुलाउनु मात्र पर्दोरहेछ, किन्ने ग्राहक बारीमै आउँछन् । थोरै खर्च र मेहेनतमा आम्दानी पनि धेरै हुँदोरहेछ”, उहाँले भन्नुभयो ।

उनीहरूलाई सयपत्री फूलको व्यावसायिक खेतीमा मेचीनगर नगरपालिका वडा नं ४ का वडाध्यक्ष अर्जुन कार्कीले समेत सहयोग गर्दै आउनुभएको छ । फूलखेतीका लागि महिलाले जमिन लिजमा लिए पनि घेराबारा गर्नेदेखि उनीहरूलाई विज्ञ व्यक्ति ल्याएर तालिम गराउनसमेत वडाध्यक्षकै भूमिका रहेको छ ।

मेचीनगर–९ मा डिएण्डडी बायोप्लान्टेक नामक कम्पनी दर्ता गरेर विगत आठ वर्षदेखि नर्सरी व्यवसायमा लाग्नुभएका डिल्लीराम उप्रेतीले विर्तामोड नगरपालिका–६ बुट्टाबारीमा एक बिघा जमिन लिजमा लिएर सयपत्री फूलको व्यावसायिक खेती गर्दै आउनुभएको छ ।

कलकते लोकल र कर्मा ५५५ जातको सयपत्री फूलको खेती गर्दै आउनुभएका उप्रेतीले विगतको भन्दा यस वर्ष झापामा फूलको व्यावसायिक खेती घटेको बताउनुभयो । फूलको माग भए पनि उत्पादन कम भएका कारण गाह्रो भइरहेको उहाँले बताउनुभयो । “हामी माला उनेर बेच्न भ्याउँदैनौँ”, उहाँले भन्नुभयो, “बारीमा पसेर उहाँहरु आफैँले टिप्नुहुन्छ, तीन सय थुँगाको रु पाँच सय गरेर रकम लिन्छौँ ।”

तरकारी, खरबुजालगायतका व्यावसायिक खेती गर्दै आउनुभएका उहाँले चित्तबुझ्दो खेतीको रूपमा सयपत्री फूलको भएको बताउनुभयो । सयपत्री फूलको खेती थोरै लगानीमा धेरै आम्दानी हुने उहाँको बुझाइ छ । सयपत्री फूलको खेतीतर्फ किसानको आकर्षण बढ्दै गए पनि व्यावसायिकरूपमा गर्न नसक्दा फूलको परनिर्भरतालाई अझै हटाउन नसकिएको उहाँको भनाइ छ । उहाँले कृषि ज्ञान केन्द्र र स्थानीय सरकारले किसानलाई प्रोत्साहनस्वरुप सुलभ कर्जा र अन्य अनुदानमा लगानी बढाउने हो भने फूलमा जिल्लालाई आत्मनिर्भर बनाउन समस्या नहुने बताउनुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।