निङलाडी खोलामा जिप दुर्घटना, तीन प्रहरीको मृ’त्युु
बैतडी, ५ मङ्सिर । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।
मतपेटिका पु¥याएर फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हँदा तीन प्रहरीको घटनास्थलमै मृ’त्युु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीन जनाको मृत्युु भएको भन्ने खबर आको छ, उद्धार जारी रहेको आएको खबर छ, म आफैँ घटनास्थल जाँदैछु ।”
जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ । (रासस)
वैकुण्ठधाममा मेला लाग्ने
भरतपुर, ५ मङ्सिर (रासस) ः
चितवनको माडीस्थित वैकुण्ठधाममा बालाचतुर्दशीको अवसरमा मेला लाग्ने भएको छ ।
मङ्गलबार बालाचतुर्दशीका दिन माडी नगरपालिका–६ स्थित वैकुण्ठधाममा मेला लाग्ने भएको हो । आफ्ना बुबाआमा नहुनेले पितृको मोक्ष प्राप्तिका लागि बालाचतुर्दशीको अघिल्लो दिन रातभर भजनकीर्तन गरी भोलिपल्ट बिहान वैकुण्ठधाम क्षेत्रमा शतबीज छर्ने र स्नान गर्ने प्रचलन रहेको छ ।
वैकुण्ठधाममा यस वर्ष बृहत् सांस्कृतिक कार्यक्रमको अयोजना गरिने भएको छ । विभिन्न जनजातिको झाँकीसहित स्थानीय कलाकारको प्रस्तुति रहने मेला व्यवस्थापन संयोजक राजकुमार परियारले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा आउनेले शतबीज छर्नुका साथै वैकुण्ठ ताल अवलोकन, माडीको पहिलो झोलुङ्गे पुल अवलोकन विभिन्न परिकारका खानेकुराको स्वाद लिन पाउनेछन् ।
धार्मिक पर्यटनको विकास र प्रवद्र्धनमा मेलाले टेवा पुग्ने उहाँको विश्वास छ । मङ्सिर कृष्ण चतुर्दशीका दिन परिवारभित्रका सदस्यको दिवाङ्गत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित शतबीज मन्दिर वरपर छर्ने चलन छ । यसो गर्नाले पितृलाई अन्नको कमी नहुने र उनीहरुले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ । मङ्सिर कृष्ण त्रयोदशीका दिन साँझबाट भोलिपल्ट सद्बीज छर्ने बेलासम्म आफ्ना पितृको नाममा बत्ती बाल्ने गरिन्छ ।
यस क्षेत्रलाई ऋषिमुनिले तपस्या गरेको, अष्टबक्र जन्मेको क्षेत्रको रुपमा लिइन्छ । बराह पुराणमा वैकुण्ठ तीर्थमा स्नान गरेमा पाप नाश हुने उल्लेख छ । श्रीराम वनबास जाने क्रममा यो क्षेत्रमा स्नान गरेको धार्मिक कथन छ । माडीको खरकट्टास्थित वैकुण्ठचोकबाट करिब साढे तीन किलोमिटरको दुरीमा वैकुण्ठ मेलास्थल पुगिन्छ । मेलास्थलबाट करिब २० मिनेटको पैदलयात्रापछि ताल हेर्न पाइन्छ । घाँघरखोलाको शिरमा रहेको यो तालको शिरमा दुई छहरा छन् । चारैतिरको हरियालीले तालको दृश्यलाई नै लोभलाग्दो बनाएको छ । तालको दक्षिणतर्फ मनै लोभ्याउने गुफा छन्, धनलक्ष्मी छहरा छ, खोली दोभान छन् ।


