खोटाङ: नौ वर्षअघि चोरी मुद्धामा अदालतबाट दोषी ठहर अभियुक्त पक्राउ

खोटाङ, १७ माघ  । खोटाङमा चोरी मुद्धामा अदालतबाट दोषी ठहर अभियुक्त पक्राउ परेका छन् । जबरजस्ती चोरी मुद्धामा जिल्ला अदालत खोटाङबाट नौ वर्षअघि कैंद सजाय तोकिएका केपिलासगढी गाउँपालिका–७ सुंदेल घर भइ धरान मंगलबारे बस्ने ३२ वर्षीय धनिराम भन्ने धनबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो । 

हालसम्म फरार रहेका राईलाई जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । चोरी मुद्धामा राईलाई जिल्ला अदालतले २०७२ असोज २४ गते चार वर्ष एक ना १५ दिन कैंद सजाय तोकेको थियो । राईमाथि ओखलढुंगामा चोरी गरेको मुद्धा परेको थियो । अभियुक्तको ठेगाना खोटाङ भएकाले कारबाहीका लागि ओखलढुंगा प्रहरीले २०७२ सालमा खोटाङमा रेकर्ड पठाएको थियो । 

यस्तै, हलेसी मन्दिरको दान पेटिकाबाट नगद चोरी गरेको अभियोगमा इलाम साक्फारा नगरपालिका–७ कालापानीका २५ वर्षीय रुपेश राई पक्राउ परेका छन् । पक्राउ गरेर चेकजाँच गर्दा राईको साथबाट चार हजार ६९० रुपैयाँ र भारु एक हजार ८४५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । माघ १५ गते राती चोरीको अभियोग लागेका राई विरुद्ध अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खुदोबाट आर्थिक समृद्धिको प्रयासमा मालेपाटन ढोडबेँसीवासी
– वासुदेव पौडेल
गण्डकी, १८ माघ (रासस): पुसे पन्ध्र होस् वा माघे सङ्क्रान्ति । पोखरा र यस आसपासका गाउँमा ‘लौ है मालेपाटन ढोडबेँसीको खुदो आयो’ भन्दै टिनका टिन खुदो बोकेर बेच्दै हिँड्ने चलन हराइसकेको छ । यातायातको सुविधासँगै बढ्दो बजारीकरणले बोकेर घर–घरमा पुगी खुदो बेच्ने चलन हराए पनि खुदोका लागि आफ्नो विशिष्ट पहिचान बनाएको पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन र ढोडबेँसीमा अहिले पनि उत्तिकै उखुखेती गरी खुदो उत्पादन गरिन्छ ।

मालेपाटन ढोडबेँसी क्षेत्रमा उखुखेती कहिलेबाट गर्न थालियो भन्ने यकिन तिथिमिति नभए पनि करिब दुई सय वर्षअघिदेखि नै यहाँ उखु लगाउने र खुदो उत्पादन गर्ने चलन रहेको पाइएको मालेपाटन कृषि सहकारी संस्थाका अध्यक्ष महेश्वर पौडेलले जानकारी दिनुभयो । “खुदो यस क्षेत्रको विशिष्ट पहिचान हो, यसको व्यावसायिक खेतीतर्फ स्थानीयवासी आकर्षित छन्”, उहाँले भन्नुभयो, “दुई सय वर्षदेखिको उखु लगाउने र खुदो उत्पादन गर्ने ऐतिहासिक परम्परालाई जोगाउँदै यसलाई अझै व्यावसायिक बनाउनेतर्फ हामीले जोड दिएका छौँ ।”

सामान्यतः पुसको दोस्रो हप्तादेखि माघको पहिलो हप्तासम्म पोखरा र आसपासका क्षेत्रमा खुदोको कारोबार हुने गर्दछ । नेपाली संस्कृतिअनुसार पुसे पन्ध्रमा लटे (अनदीको चामललाई घ्यू खुदोसहित राखेर बनाइने परिकार) खाने र माघे सङ्क्रान्तिमा खुदो चिउरा खाने चलनले पनि यस अवधिमा यसको खोजी हुने गर्दछ ।

उखु लगाएको वर्ष दिनमा पेल्न तयार भएको उखु कोलमा पेल्ने, रस निकाल्ने र पकाएर खुदो बनाउने गरिन्छ । समयको गतिसँगै विगतमा काठे कोलमा पेल्ने गरिएको उखु एक दशक अघिसम्म गोरुका माध्यमबाट कोल घुमाएर पेल्ने गरिन्थ्यो । पछिल्ला वर्षमा भने विद्युतीय कोलको प्रयोग गरी उखु पेल्ने गरिएको पौडेलले जानकारी दिनुभयो ।

कास्की र आसपासका धेरै स्थानमा विगतमा गर्ने गरिएको उखुखेती लोप हुनलागेको वास्तविकतामा यहाँका स्थानीय यसको व्यावसायिक विस्तारमा जुटेका छन् । व्यावसायिकताको प्रयाससँगै सङ्गठित बनेका यहाँका स्थानीयले २०६७ सालयता मालेपाटन कृषि सहकारी संस्था लिमिटेड स्थापना गरी सञ्चालनमा ल्याएका छन् । सहकारी स्थापनासँगै खुदो र दूधको उत्पादन एवं बजारीकरणसँगै बाख्रा, कुखुरापालनलगायत लगानी गरिँदै आएको छ ।

मालेपाटन र ढोडबेँसी क्षेत्रमा विगतमा रु ७० लाखदेखि रु एक करोडसम्म खुदोको कारोबार हुने गरेको थियो । पछिल्ला वर्षमा उखुमा देखिएको रोग, कृषिप्रतिको अनिच्छालगायत कारणले यसको खेती कम हुँदै गएको छ । मालेपाटन ढोडबेँसी क्षेत्रमा करिब ९० परिवारले दुई सय रोपनीमा उखु लगाउँदै आएका छन् ।

उखु लगाएको एक वर्षमा काट्नका लागि तयार हुने र काटिएको लाँक्रा मेसिनमा पेलेर रस निकालिन्छ । अनी रस पकाइन्छ । उक्त रसलाई घण्र्टौँ पकाएपछि खुदो तयार हुन्छ । यहाँका किसानले कोलमा उखु पेल्थे । दाइँमा जस्तै गोरुले कोल घुमाउँथे । यस क्षेत्रमा २०५७ सालदेखि भने नयाँ प्रविधिको प्रयोग गरी मेसिनका माध्यमबाट उखु पेल्ने गरिएको छ । पकाउने कामलाई पनि व्यवस्थित बनाइएको कृषक रामप्रसाद ढकालले जानकारी दिनुभयो ।

पहिचान जोगाउन ब्राण्डिङ

मालेपाटन ढोडबेँसीको खुदो भन्दै बजारमा अन्यत्रबाट ल्याइएको खुदो बेच्ने क्रम बढेसँगै अघिल्लो वर्षदेखि यसलाई ब्राण्डिङ गरिएको छ । पोखरा महानगरपालिकाको सहयोगमा ‘स्वादिलो र विश्वासिलो पोखरा–३२ मालेपाटन र ढोडबेँसीको खुदो’ लेखेर सिलबन्दी गरिएको एक लिटरको बोतलमा राखेर गत वर्ष नै बजारमा लगिएकामा यस वर्ष पनि एक हजार बोतल प्याकेजिङ गरिएको सहकारीका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

यस वर्ष प्याकेजिङ गरिएकामध्ये पाँच सय बोतल बिक्री भइसकेको जानकारी दिँदै उहाँले यस वर्ष पनि तराईतिरबाट ल्याइएको खुदो मालेपाटन र ढोडबेँसीको भन्दै ठाउँ–ठाउँमा बिक्री हुने गरेको पाइएको बताउनुभयो । गुणस्तर परीक्षणसहित सिलबन्दी खुदोको खुद्रा मूल्य प्रतिलिटर रु तीन सय ५० निर्धारण गरिएको छ । दश लिटरभन्दा बढी लैजानेका लागि प्रतिलिटर रु तीन सय २५ लिने गरिएको छ । सहकारीका अलावा स्थानीयले घर–घरबाट पनि खुदोको व्यापार गर्दै आएका छन् ।

महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले मालेपाटन र ढोडबेँसीको खुदो यहाँको पहिचान भएकाले यसको ब्राण्डिङ तथा प्रवद्र्धनका लागि महानगरपालिकाले सहयोग गरेको बताउनुभयो । महानगरपालिकाले ‘एक वडा, एक उत्पादन’कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा वडा नं ३२ मा उखुखेतीमा जोड दिने कडरियाले जानकारी दिनुभयो ।

विगतमा यस क्षेत्रमा रैथाने काठे र देशी उखु लगाउने गरिएकामा त्यो विस्थापन भई २०५० सालमा स्याङ्जाबाट ल्याइएको रिजाल उखु लगाउने गरिएको स्थानीयवासी बताउँछन् । उखुमा लाग्ने गरेको ढुसीजन्य रोगले उत्पादनमा कमी आएको स्थानीयको गुनासो छ । यस वर्ष वर्षात्को समयमा उखु ढलेपछि चिन्तित बनेका यहाँका स्थानीयलाई औषधि छर्नका लागि कृषि ज्ञान केन्द्रले स्प्रे उपलब्ध गराएको थियो । औषधि छरेसँगै क्षतिमा कमी आएको थियो ।

उखुबाट आम्दानीको सोच बनाएका स्थानीय यतिखेर तराईको खुदोलाई मालेपाटन र ढोडबेँसीको भन्दै बिक्री गर्न थालिँदा चिन्तित बनेका छन् । करिब ६० देखि ७० कृषकले उखुबाट वार्षिक रु ६० लाख आम्दानी गर्ने गरेकामा वर्षात्मा सेतो ढुसीका कारण उखु लड्दा उत्पादन केही कम भएको अवसर पारी तराईबाट खुदो ल्याएर मालेपाटन र ढोडबेँसीको भन्दै बिक्री गर्ने गरिएकोे स्थानीयवासी रामप्रसाद ढकालले बताउनुभयो ।

“पछिल्ला वर्षमा यस क्षेत्रमा उखुको व्यावसायिक खेती हुने गरेको छ, व्यक्तिगतरूपमा नै कतिपयले एक सय ४० टिनसम्म (प्रति टिन १६–१७ लिटरसम्म हुने) खुदो उत्पादन गर्ने गरेका छन्”, उहाँले भन्नुभयो । स्थानीयले यहाँको गुणस्तरीय खुदो घर–घरबाट प्रतिमाना रु दुई सयमा बिक्री गर्ने गरेको उल्लेख गर्दै उहाँले तराईबाट ल्याइएको कम गुणस्तरको खुदो प्रतिमाना रु एक सय ४० देखि रु एक सय ५० सम्म बेच्दा स्थानीय उत्पादन बिक्री गर्न सस्यामा भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।