सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी

गल्याङ, २ जेठ (रासस) : स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपाखानीका चन्द्रबहादुर राना ‘चित्र’ले सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी गर्नुभएको छ । गल्याङमा सयपत्री फूलखेती गर्ने एक्लो कृषकको पहिचान बनाउनुभएका उहाँ तीन वर्षदेखि यो पेसामा आबद्ध हुनुहुन्छ । अत्यधिक माग हुन थालेपछि उहाँले व्यावसायिकरूपमा सयपत्री फूलको खेती गर्दै आउनुभएको हो ।

रानाले स्याङ्जासहित पाल्पा, पर्वत, कास्कीलगायतका जिल्लामा वार्षिकरूपमा रु दुई लाख बराबरको सयपत्री फूल निर्यात हुने गरेको जानकारी दिनुभयो । “सिजनमा मासिक रु २० देखि ३० हजार बराबरको फूल तथा माला बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “अफसिजनमा पनि विभिन्न सङ्घसंस्थाको कार्यक्रम, पूजाआजाका लागि मासिक रु १५ देखि २० हजारको फूल तथा माला बिक्री हुने गरेको छ ।”

सुरुमा आफ्नै घर रुपाखानीमा फूलखेती गर्नुभएका उहाँले कारोबार राम्रो भएपछि दुई वर्षयता गल्याङ नगरपालिका–३ छर्तिमा १२ रोपनी जग्गा भाडामा लिएर सयपत्री फूलको खेती गर्नुभएको छ । सयपत्री फूलको बजार राम्रो पाएपछि हौसिनुभएका रानाको दिनचर्या बिहान ५ बजेदेखि साँझ आँखा देखुन्जेल फूलबारीमै बित्छ ।

परम्परागतरूपमा खेती गर्दै आए पनि व्यावसायिक र बेमौसमीरूपमा सयपत्री फूलखेती नगरेको उहाँले सामाजिक सञ्जाल र कृषि विज्ञको सल्लाहमा काम गर्न सिकेको बताउनुभयो । रुपाखानीमा खेती गर्दा परिवारको साथ पाउनुभएका उहाँले छर्तिमा भने एक्लै काम गर्नुहुन्छ ।

“कहिलेकाहीँ काम धेरै भएका बेला ज्यालामा पनि खेतला लगाउने गरेको छु”, उहाँले भन्नुभयो, “एक्लै भए पनि काम गर्न आनन्द लाग्छ, ढकमक्क फुलेका फूलको सुगन्धले एक्लोपनको आभास नै गराउँदैन ।”

रानाले विवाह, पूजा, विभिन्न सङ्घसंस्थाको औपचारिक तथा अनौपचारिक कार्यक्रममा उत्पादन गरेको सयपत्री फूलको माला खपत हुने गरेको बताउनुभयो । उहाँले अन्य जिल्लाबाट गल्याङमा सयपत्री फूल निर्यात हुने गरेको भन्दै त्यसलाई निरुत्साहित गर्न व्यासायिक फूलखेती सुरु गरेको बताउनुभयो ।

“गल्याङ नगरपालिकाका विभिन्न स्थानमा बाँदरले कृषकलाई आतङ्कित बनाएको छ”, उहाँले थप्नुभयो, “फलफूल, तरकारी खेती पनि गरेँ तर बाँदरले रहन दिएन, बाँदरले नबिगार्ने भएपछि सयपत्री फूलखेतीतर्फ आकर्षित भएको हुँ ।”

उहाँले आफ्नो खेतमा उत्पादित फूलले बजारको माग पूरा गर्न नसकेको बताउनुभयो । गल्याङमा कृषक फूलखेतीतर्फ आकर्षित नभएकाले बजारीकरणमा समस्या नभएको दाबी गर्नुभयो । उहाँले गल्याङमा सयपत्री राम्रो उत्पादन हुने भन्दै हब नै बनाएर अन्यन्त्र जिल्लामा निर्यात गर्न सकिने जानकारी दिनुभयो ।

“व्यवसायलाई विस्तार गर्ने योजना बनाएको छु, अहिलेसम्म कुनै पनि निकायले अनुदान दिएका छैनन्, बैंकमा ऋण खोज्दा नपाउने स्थिति छ । उहाँले दुःखेसो पोख्नुभयो, “प्रशस्त बजार भएर पनि लगानी अभावमा व्यवसाय विस्तार गर्न सकेको छैन ।”

गल्याङ नगरपालिकाका कृषि शाखा प्रमुख शिव ढकालले चन्द्रबहादुर राना गल्याङका एकमात्र सयपत्रीको व्यावसायिक फूलखेती गर्ने कृषक भएकाले प्राविधिक सहयोगका साथै उपयुक्त सल्लाह दिने गरेको बताउनुभयो । यस्तै गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले रानाको गल्याङमा सफल कृषकको पहिचान भएकाले नगरपालिकाले अनुदानलगायतका कार्यक्रम सहयोग गर्ने योजना बनाएको बताउनुभयो । रानाको सयपत्रीको फूलबारीमा सर्वसाधारण फोटो खिच्न र टिकटक बनाउनसमेत पुग्ने गरेका छन् ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।