किसानलाई सधैँ सिँचाइकै पिरलो

ढोरपाटन, ५ जेठ (रासस) ः समथर भू–भागदेखि उच्च पहाडसम्म फैलिएको बागलुङका धेरै ठाउँमा सहज सिँचाइको पहुँच छैन । सिँचाइको व्यवस्था नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । तल्लो भेगमा सिँचाइको थोरै मात्रामा सुविधा भए पनि जिल्लाको माथिल्लो क्षेत्रमा भने आकाशे पानीकै भरमा खेतीपाती गर्नुपर्ने अवस्था छ । उच्च क्षेत्र उर्वर भए पनि सुक्खा हुँदा कम मात्रामा मात्रै उत्पादन हुन्छ । अप्ठ्यारो भौगोलिक भनावट कारण करोडौँ लागनी गरेर पनि माथिल्लो क्षेत्रमा सिँचाइको व्यवस्थापन गर्न सकिने अवस्था छैन । सिँचाइको सुविधा नहुँदा अहिले पनि बागलुङ जिल्लावासी खाद्यान्नमा परनिर्भर छन् ।

जिल्लाको उच्च क्षेत्रमा आलु, सिमी, जौँ र फापर उत्पादन हुन्छ भने तल्लो समथर क्षेत्रमा धान, गहुँ, मकै, कोदो, तरकारी र फलफूल उत्पादन हुने गरेका छन् । बागलुङको १० वटै पालिकामध्ये कुनै पालिकाको सबै ठाउँमा सिँचाइको सुविधा छैन । गलकोट, जैमिनी, बागलुङ नगरपालिकामा अलि बढी सिँचाइको सुविधा छ । तर यी पालिकाको पनि माथिल्लो इलाकामा सिँचाइको सुविधा छैन । सिँचाइ अभावका कारण यहाँका किसान आयातित खाद्यान्नमै निर्भर बन्नुपरेको छ । हरेक वर्ष सिँचाइका लागि जिल्लामा करोडौँ बजेट पर्ने त गर्छ तर त्यसले सबै ठाउँमा पुग्दैन ।

बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । यसमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ । खेतीयोग्य जमिनको २० दशमलव १५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा पुगेको छ । त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ । पछिल्लो समय बसाइँसराइले खेतीयोग्य जमिनसमेत बाँझिदै गएका छन् । गाउँमा प्रशस्त खेतीयोग्य जमिन भए पनि सिँचाइको सुविधा नहुँदा बाँझै राख्नुपरेको तमानखोला गाउँपालिकाका कृषक तुलबहादुर विकले बताउनुभयो ।

उहाँले बारी धेरै भए पनि उत्पादन कम हुँदा वर्षभरि खान नपुग्ने बताउनुभयो । पहिले–पहिले समयमै पानी पर्दा बाली सप्रिने र राम्रो उत्पादन भएको स्मरण गर्दै अहिले बर्खे तथा हिउँदे कुनै पनि बाली राम्रो नभएको गुनासो पोख्नुभयो । सिँचाइका लागि कुलो ल्याउनका लागि अप्ठ्यारो भूगोलका कारण समस्या परेको भन्दै आकाशे पानीको भरमा अहिलेसम्म कृषि गर्दै आएको सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “बेँसीमा खेत छैन, पानी लगाउने ठाउँ पनि कतै छैन, भएको यही पाखोबारी हो, पाखोबारीमा सिँचाइ कहाँबाट पानी लिएर गर्ने, सिँचाइ गर्ने व्यवस्था हुन्थ्यो भने खेतीपाती पनि राम्रो हुने थियो, एक वर्षभरि बारीमा दुःख ग¥यो, यहाँ उत्पादन भएकाले खान नपुगेर बजारबाट चामल, पीठो लिएर खानुपर्छ, ठाउँमात्रै भएर नहुने रैछ ।”

निसीखोलाका वीरप्रसाद उपाध्यायले खेतीयोग्य जमिनमा सिँचाइको राम्रो प्रबन्ध नहुँदा परनिर्भर बन्नुपरेको बताउनुभयो । खोलाबाट खेतसम्म ल्याउने कुलो राम्रो नहुँदा किसानलाई बाली लगाउने बेला सिँचाइकै पिरलो हुने उहाँ बताउनुहुन्छ । धान, मकै र गहुँ यस क्षेत्रमा राम्रो उत्पादन हुने भए पनि सिँचाइ अभावका कारण हरेक वर्ष उत्पादन घट्दै गएको उहाँको भनाइ छ ।

आफ्नो खेतबारी बेँसीमै भए पनि कुला तथा नहरको राम्रो व्यवस्था नहुँदा पानी लगाउने समयमा पालो पाउन गाह्रो हुने गरेको बताउनुहुन्छ ।
“यो ठाउँलाई पहिले–पहिलेका मान्छेले यस क्षेत्रको अन्नभण्डारका रूपमा लिने गर्थे, बालीनाली निकै राम्रो हुन्थ्यो, उतिबेला सिँचाइको समस्या थिएन, अहिले मान्छे बढ्दै गएपछि खेती गर्ने ठाउँ पनि बढेको छ, पहिले निर्माण गरेका कुलो अहिले साँघुरा भए”, उपाध्यायले भन्नुभयो– “साँघुरो कुलाको पानीले धेरै ठाउँ सिँचाइ गर्नुपर्ने हुँदा पुग्दैन, त्यसले गर्दा बालीले सिँचाइ पाउँदैन पानी नपाएपछि उत्पादन बढ्ने त कुरै भएन, सिँचाइलाई व्यवस्थित गर्न सके उत्पादन बढाउन समस्या हुने थिएन ।”

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङबाट चालु आर्थिक वर्षमा जिल्लाभर एक सय ३७ वटा योजना परेका छन् । यी सबै प्रदेश तथा सङ्घीय सरकारबाट अनुदानप्राप्त योजना हुन् । जिल्लाको १० वटै पालिकामा योजना परेका छन् । सबैभन्दा बढी योजना गलकोट नगरपालिकामा र सबैभन्दा कम तमानखोला गाउँपालिकामा परेका छन् । जिल्लामा सहजरूपमा सिँचाइको व्यवस्थापन गर्न सरकारले हरेक वर्ष करोडौँका योजना पार्दै आएको छ ।

यस वर्ष केन्द्र सरकारले रु सात करोड ५७ लाख र प्रदेश सरकारले रु ११ करोड ६७ लाख ३० हजार बजेट विनियोजन गरेको छ । १० वटै पालिकामा सहजरूपमा सिँचाइको व्यवस्थाप गर्ने योजनाअनुरुप काम अगाडि बढाइएको छ । जिल्लामा अधिकांश क्षेत्र पाखोबारी र केही भागमात्रै समथर भू–भाग भएको हुँदा सबै क्षेत्रमा सिँचाइको व्यवस्थापन गर्न कठिन देखिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका निमित्त डिभिजन प्रमुख झकलमान ओझाले जानकारी दिनुभयो ।

उहाँ भन्नुहुन्छ, “यस कार्यालयबाट जिल्लाका सबै पालिकामा सिँचाइ पु¥याउन सकिने ठाउँमा काम गरिरहेका छौँ, अहिलेसम्म बागलुङ खेतीयोग्य जमिनको न्यून क्षेत्रमा मात्रै सिँचाइको पहुँच पुगेको छ, बागलुङ जिल्ला भौगोलिकरूपमा निकै विकट छ, हामीले हरेक वर्ष जनताले चाहे जति बजेट पार्न पनि सकेका छैनौँ, खेतीयोग्य जमिन धेरै ठाउँमा छरिएर रहेको हुँदा जनताले चाहेअनुसार सिँचाइको व्यवस्थापन हुनसकेको छैन, यद्यपि हामी निरन्तर लागिरहेका छौँ, हरेक वर्ष सिँचाइ हुने जग्गा बढिरहेको छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।