गाउँघरमा देखिन छाडे हलगोरु

रामपुर (पाल्पा), १९ असार (रासस) : असार सुरु भएपछि खेतमा हलगोरु नारेर धान रोप्ने प्रचलन थियो । सबैकाजसो घरघरमा कम्तीमा एक हलगोरु पालिएकै हुन्थ्यो । असार लागेपछि पालैपालो गाउँमा गोरुले खेत हिलो गर्ने र धान रोप्ने चलन रहे पनि अहिले भने यो गाउँमा हराइसकेको छ । ट्र्याक्टर तथा पावर टिलर, मिनिटिलर नपुग्ने ठाउँमा छिटफुट रुपमा गोरुको प्रयोग रहेता पनि पाल्पाका सबैजसो ठाउँमा किसानले प्रविधिको प्रयोग गर्न थालेको पाइएको छ ।

हलगोरुको ठाउँमा विभिन्न मेसिनरी प्रविधिको प्रयोगमा आएपछि असार लागे पनि विगतका वर्षमा जस्तो पछिल्ला वर्षमा चटारो हुन छाडेको पाल्पा रामपुरका धनराज श्रेष्ठ बताउनुहुन्छ । “बिहान सबेरै खाना खाएर रात नपरुन्जेलसम्म खेतमा जोतेर राति अबेर मात्रै घर फर्कने गरिन्थ्यो, पालोअनुसार गाउँमा सबैका खेतमा पुगेर गोरुले हिलो गरेर धान रोपिन्थ्यो, यसरी धान रोप्दा छुट्टै आनन्द लाग्थ्यो भने हामीलाई खेत जोतेर असारमा राम्रै कमाई गर्ने माध्यम बन्थ्यो”, उहाँले भन्नुभयो ।

ट्र्याक्टर गाउँमा नभित्रिँदासम्म उहाँलाई बर्खायाम सुरु भएपछि खेतमा धान रोपाइँ गर्न भ्याइनभ्याइ हुन्थ्यो । अहिले भने श्रेष्ठका दिन फुर्सदिला बनेका छन् । अर्कोतर्फ गाउँमा युवा जनशक्तिको अभाव छ । युवा जनशक्ति अध्ययन, रोजगार, विभिन्न पेसा, व्यवसाय तथा विविध कामको सिलसिलामा गाउँदेखि सहर, बजार तथा विदेशमा छन् । गोरुपालन तथा गाउँका खेतबारी जोत्ने व्यक्तिको अभाव छ । समयानुकूल विभिन्न प्रविधिको विकास, गाउँमा सडक पुगेपछि परम्परागत पेसा हराउन पुगेको हो ।

प्रविधिको बढ्दो प्रयोगले गाउँघरमा गोरुपालन गर्ने चलन छैन । परम्परागत तवरले गोरुका माध्यमबाट रोपिने धान अहिले कृषि यान्त्रिकीकरणको सहायताबाट रोपिन थालिएपछि गोरुपालन गर्न किसानले छाडेका हुन् । एक हल गोरुले दिनभर गर्ने काम पावर टिलर, मिनिटिलर, ट्र्याक्टरबाट छोटो समयमा सम्पन्न हुने हँुदा यसप्रति कृषकको आकर्षण बढेको हो । आकाशेपानी परेका मौका छोपेर धान रोप्नुपर्ने भएकाले एक दशकयता गोरुले खेत जोत्न छाडेको देवराज अर्याल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “पहिला घरमा गोरु पालेर थोरै–थोरै दिनमा खेत हिल्याएर धान रोप्न तयार पारिन्थ्यो, अहिले खेतमा ठूला ट्र्याक्टर जान थालेपछि घरमा पालिएका गोरु हटाइयो, पानी परेपछि एकैपटक हिलो गरेर धान रोप्ने गरिएको छ ।”

छोटो समयमा धेरै काम सम्पन्न हुने भएपछि गोरुको ठाउँमा पावर टिलर, मिनिटिलर, ट्र्याक्टर लगाएर धान रोपाइँ गर्न थालेको अर्यालले बताउनुभयो । कम लगानीमा काम छिटो सम्पन्न हुने भएपछि कृषकलाई धान रोपाइँ गर्न सजिलो भएको छ । गोरुले रोपाइँ गर्दा एक हप्ता दश दिन अघिदेखि हल, खेतालाको बन्दोबस्त गर्नुपथ्यो । कृषकलाई लागत पनि बढी पर्दछ भने समयमा नै हलगोरु नपाउँदा कृषकले निकै दुःख भोग्नुपथ्र्यो । यस समस्याबाट पनि कृषक अहिले मुक्त भएका छन् ।

राज्यले कृषि व्यवसायलाई जोड दिएर विभिन्न कृषिजन्य औजार, उपकरणमा अनुदान सहयोग, गाउँ–गाउँमा प्रविधिको प्रयोग गरेर खेती गर्न प्रोत्साहन गरिएपछि आधुनिक प्रविधिमा किसान आकर्षित भएको रामपुर नगरपालिकाका कृषि शाखाप्रमुख रामहरि पाण्डेय बताउनुहुन्छ ।

गाउँ–गाउँमा ट्र्याक्टर, पावर टिलर, मिनिटिलर भित्रन थालेपछि गोरुले खेत रोप्ने चलन हट्दै गएको हो । गोरु पाल्न झन्झट र वर्ष दिनभरि पाल्नुपर्ने हँुदा पनि गोरु पाल्ने, गोठाला जाने प्रचलन गाउँघरमा कमै मात्रामा छ । गाउँका पाखा, पखेरा, भिराला जमिनमा मिनिटिलरबाट बारीहरु रोप्ने सुविधा पुगेपछि दिनभर गोरुले जोतेर खेती गर्ने चलन अहिले कम हँुदै गएको निस्दी गाउँपालिका–४ मित्यालका धनबहादुर ठाडाले बताउनुभयो ।

जिल्लामा बढ्दो यान्त्रिकीकरणको विकास र प्रयोगले काम गरेर खाने श्रमिक, मजदुरहरु विस्थापित हुन पुगेका छन् । कृषि र अन्य क्षेत्रमा विभिन्न यान्त्रिकीकरणको प्रयोग हुन थालेपछि ज्यालादारीमा काम गरेर जीवन गुजारा गर्ने सयौँ श्रमिक, मजदुरहरुको आम्दानीको स्रोत नै गुमेको छ ।

परम्परागत कृषि औजारका सट्टा खनजोत गर्ने हाते ट्र्याक्टर, पावर टिलर, बीउ रोप्ने मेसिन, धान काट्ने मेसिन, गहुँ ठटाउने, धान झाट्ने मेसिनको बढ्दो प्रयोग हुन थालेपछि कृषि व्यवसायमा आबद्ध कृषि मजदुर विस्थापित हुन पुगेका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।