कुरिलो खेतीप्रति आकर्षण बढ्दो

–नारायण विक
गल्याङ, २१ असार (रासस) : पछिल्लो समय स्याङ्जाका किसान कुरिलो खेतीप्रति आकर्षित हुँदै गएका छन् । औषधिय गुण भएको कुरिलोको बजार मूल्य राम्रो भएपछि यहाँका किसान कुरिलो खेतीतर्फ आकर्षित हुँदै गएका हुन् ।

जिल्लाको पुतलीबजार, भीरकोट, वालिङ, चापकोट र गल्याङ नगरपालिका, फेदिखोला, आँधीखोला, बिरुवा, अर्जुनचौपारी, हरिनास र कालीगण्डकी गाउँपालिकामा कुरिलोको व्यावसायिक तथा निर्वाहमुखी खेती हुँदै आएको छ । यसमध्ये कालीगण्डकी र हरिनासमा कम खेती हुने गरेको छ ।

भीरकोट नगरपालिका–४ गैराथोकका रामचन्द्र रेग्मीले एकवर्ष अघि छायाछेत्र एग्रो एण्ड फार्म हाउस प्रालि दर्ता गरेर कुरिलो खेती सुरु गर्नुभएको थियो । उहाँको खेती अहिले फस्टाउँदै गएको छ । नौ रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा कुरिलोसँगै स्टावेरी, मेवालगायत फलफूल पनि लगाउँदै आउनुभएको छ ।

रेग्मीले दैनिक १० किलोभन्दा बढी कुरिलो बिक्री गर्ने गरेको बताउनुभयो । “सिजन अनुसार कुरिलोको मूल्यप्रति किलो तीन सयदेखि तीन हजारसम्म पर्ने गर्दछ”, उहाँले भन्नुभयो, “अहिलेसम्म साँढे तीन लाखको कुरिलो बिक्री गरिसकेको छु, अर्को वर्ष सात रोपनीमा खेती विस्तार गर्ने योजना बनाएको छु ।”

रेग्मीले जमिन भाडामा लिएर घेराबार, बिरुवा, बीउ, मल, उपकरणलगायतमा रू ८० लाख बराबर खर्च गरिसकेको जानकारी दिनुभयो । “चितवनमा साथीले कु्रिलो खेतीबाट मनग्ये आम्दानी गरेको देखेपछि यहाँ व्यावसायिक खेती सुरु गरेको छु”, उहाँले भन्नुभयो, “उत्पादन राम्रो भइरहेको छ, बजार पनि फराकिलो बन्दै गएकाले अर्को वर्ष दैनिक ४० किलो उत्पादन गर्ने लक्ष्यका साथ काम गरिहेको छु ।”

हाल रेग्मीको फार्ममा सात जनाले दैनिक रोजगारी पाएका छन् । कुरिलोले मात्र काम नपुग्ने भएपछि स्टावेरी, मेवा, उखु, सुन कागती, खरबुजा, स्याउ, बयर, सुकमेललगायत फलफूल परीक्षणका लागि लगाएको रेग्मीको भनाइ थियो । “उत्पादनको क्षेत्रमा काम गरेर राज्यलाई योगदान दिनुपर्छ भनेर कृषि कर्ममा लागेको हुँ”, उहाँले थप्नुभयो, “कृषिको विकास र समृद्धिको लागि यन्त्रिकरणमा जोड दिनुपर्छ, कृषियन्त्र चलाउन सक्ने जनशक्तिको अभाव छ ।”

दश जनाले गर्ने काम एकै जनाले गर्न सक्ने प्रविधि भित्रिए मात्र नेपालमा कृषि क्रान्ति सम्भव हुने रेग्मीले जिकिर गर्नुभयो ।

पुतलीबजार नगरपालिका–१४ की सारदादेवी ढकालले पनि चार वर्षदेखि कुरिलोको व्यावसायिक खेतीगर्दै आउनुभएको छ । नगरपालिकाले दिएको कुरिलो खेतीसम्बन्धी तालिम लिएपछि व्यवसायिक खेती सुरु गरेको उहाँले बताउनुभयो । ढकालले सारदा एकीकृत कृषि फार्म दर्ता गरेर साढे तीन सय बोट कुरिलो हुर्काइरहनु भएको छ । पहिलो र दोस्रो वर्ष आम्दानी लिन नसके पनि तेस्रो वर्षबाट मनग्ये आम्दानी लिन थालेको उहाँले बताउनुभयो ।

“खडेरीका कारण यस वर्ष उत्पादन ढिला भयो, हेरचाहा पुराउन सक्दा उत्पादन पनि राम्रो भएको छ”, ढकालले भन्नुभयो, “स्थानीय बजारमा कुरिलोको महत्व नबुझेर अथवा महँगो भएर खासै बिक्री हुँदैन ।” बजारिकणमा समस्या नभए अर्को वर्ष मकै लगाउन छोडेर कुरिलो खेती विस्तार गर्ने योजना रहेको उहाँको भनाइ थियो ।

गल्याङ नगरपालिका–७ स्थित मझुवा नमुना कृषि उत्पादन केन्द्रले पनि एक वर्षदेखि कुरिलो खेतीलाई जोड दिँदै आएको छ । केन्द्रले दुई रोपनी क्षेत्रफलमा करिब दुई हजार कुरिलोका बोट लगाएको छ । यस वर्षदेखि उत्पादन लिन सुरु गरिएको केन्द्रका अध्यक्ष ललित थापाले जानकारी दिनुभयो । उहाँले परीक्षणका लागि लगाएको भए पनि उत्पादन राम्रो देखिएकाले खेतीलाई विस्तार गर्दै लैजाने बताउनुभयो । उहाँका अनुसार केन्द्रले कुरिलोसहित अन्य मौसम अनुसार विभिन्न तरकारीबाली उत्पादन गर्दै आएको छ ।

कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले जिल्लामा व्यावसायिक कुरिलो खेती गर्ने कम भए पनि घरमा खानका लागि कुरिलो लगाउने किसान धेरै भएको बताउनुभयो । उहाँले तीन वर्षयता कुरिलो खेती गर्ने किसानको सङ्ख्या जिल्लामा नै बढ्दै गइरहेको बताउनुभयो ।

“कुरिलो औषधिय गुण भएको तरकारी भएकाले पछिल्लो समय माग बढेको छ”, प्रमुख हमालले भन्नुभयो, “व्यावसायिक रुपमा कुरिलो खेती गर्ने किसानलाई कृषि ज्ञान केन्द्रमार्फत सहयोग गर्दै आएका छौँ ।” नयाँ आर्थिक वर्षमा कुरिलो खेतीप्रति कृषिकको आकर्षण बढाउने खालका उत्प्रेरणा मुलक कार्यक्रम गर्ने उहाँको भनाइ थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।