दलाललाई १४ लाख बुझाएर पोर्चुगल हिँडेका कञ्चनपुरका मनोज शाही लाटभियाको बोर्डरबाटै बेपत्ता

काठमाडौ । भिजिट भिसामा १७ जना नेपाली विदेश पठाउने एजेन्ट दीपेश शाही भन्छन्– रसिया घुम्न जाने भनेपछि त्यहाँसम्म पुर्‍याउने काम मात्र गरेको हुँ ।

अवैध बाटो हुँदै पोर्चुगल जान हिँडेका कञ्चनपुरका २८ वर्षीय मनोज शाही रोमानियाको जंगलमा बेपत्ता भएका छन् । गत १९ वैशाखमा रोमानियाको जंगलबाट शाही हराएको उनका भिनाजु सुनीलजंग शाहीले जानकारी दिए ।

शाही गत २९ चैतमा भिजिट भिसामा काठमाडौंबाट दुबई उडेका थिए । उनीसँग नेपालका १७ नेपाली सोही दिन काठमाडौंबाट भिजिट भिसामै दुबई उडेका थिए । दुबईबाट रसिया हुँदै उनीहरूको समूह बेलारुसबाट लाटभियातर्फ जाँदै थियो । १० दिनदेखि जंगलको बाटो एकोहोरो हिँड्नुपर्दा मनोज शारीरिक रूपमा अशक्त भएको उनीसँगै गएका कञ्चनपुरका अर्का एक युवाले बताए । उनका अनुसार कहिले जंगल, कहिले सुक्खा पहाड हिँड्नुपर्थ्यो । मौसम धेरै चिसो थियो । लगातार हिँड्नुपर्ने । खाना र पानीसमेत खान नपाउँदा अधिकांश युवा शारीरिक रूपमा कमजोर भइसकेको उनले बताए ।

१७ जनाको समूहमध्ये मनोज अति कमजोर भएको, सँगै गएका राम खड्काले (नाम परिवर्तन) बताए । ‘मनोज हिँड्न सक्ने अवस्थामा थिएनन् । उनले बारम्बार अब हिँड्न सक्दिनँ, म यतै भएका आर्मी क्याम्पमा गएर सरेन्डर गर्छु, तपाईंहरू जानुस् भन्थे,’ उनले भने, ‘तर, हामीले मानेनौँ, सबैजनाले बोकेर भए पनि लैजान्छौँ भन्दै हिँड्न प्रेरित गर्‍यौँ ।’

मनोज शाहीलगायतलाई लैजाने नेपाली एजेन्ट दीपेश शाही (बायाँ) । भिजिट भिसामा रसिया पुर्‍याइएका नेपाली युवा–युवती ।
केही छिनमा पछाडि फर्केर हेर्दा मनोज नदेखिएको उनले बताए । ‘मनोज पछि–पछि हिँड्थे । हामी त उनी आउँदै छन् भनेर हिँड्यौँ । पछि फर्केर हेरेको त उनी छैनन् । त्यसपछि दुईजना साथीले फर्केर खोजे, तर भेटिएनन्,’ उनले भने । टोली नै गएर मनोजको खोजी गर्दा उनी वरपर कतै नभेटिएको उनको भनाइ छ । खड्काका अनुसार मनोज लाटभिया वा बेलारुसको आर्मी क्याम्पमा गएका हुन सक्छन् । आत्मसमर्पण गरेपछि आर्मीले गाँस र वास दिने भएकाले उनी शरणमा हुन सक्ने खड्काले बताए । ‘हामी बेलारुसबाट लाटभिया जाँदै गर्दा उनी त्यतै बेपत्ता भएका हुन् । वरपर टाढा–टाढा बस्ती थिएन । तर, बोर्डर भएकाले आर्मी क्याम्प थियो । सायदै उनी त्यतै गए कि ? त्यतै–कतै हुनुपर्छ जस्तो लाग्छ मलाई,’ उनले भने ।

पैसाको कुरा नमिलेपछि बेलारुसबाट सातजना नेपाल फर्किए
पोर्चुगलका लागि हिँडेका १७ नेपाली युवामध्ये सातजना बेलारुसबाट स्वदेश फर्केका छन् । स्थानीय एजेन्टले आफ्नो कमिसन नपाएको भन्दै युवाहरूलाई अलपत्र पारेपछि उनीहरूले पोल्यान्ड आर्मी क्याम्प गएर आत्मसमर्पण गरेको राम खड्काले बताए । १७ जनामध्ये कञ्चनपुर, झापा र चितवनका युवा छन् । उनीहरूलाई कञ्चनपुरका एजेन्ट दीपेश शाहीले पोर्चुगलसम्म पुर्‍याउने आश्वासन दिएका थिए । पोर्चुगल लगिदिएबापत उनले प्रतिव्यक्ति १४ लाख रुपैयाँसम्म असुलेका थिए । रसिया पुगेपछि थप एक लाख रुपैयाँ असुलेका थिए ।

गत २९ चैतमा सबै युवालाई एजेन्ट दीपेशले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भिजिट भिसामा दुबई पुर्‍याएका थिए । दुबई पुगेपछि १७ जना युवाबीच चिनजान भएको थियो । केही दिन दुबई बसेपछि दलालले उनीहरूलाई रसिया पुर्‍यायो । उनीहरू रसियामा केही दिन बसे । त्यसपछि रसियाबाट करिब नौ घन्टा बाटो तय गरी ट्याक्सीबाटै बेलारुस पुर्‍याइयो । तर, नेपाली एजेन्ट दीपेश भने रसियाबाटै नेपाल फर्किए । उनले युवाहरूलाई अफगानिस्तानी दलालको जिम्मा लगाएको खड्काले बताए ।

बेलारुसमा एक हप्ता बसेपछि अफगानी दलालले हप्तौँ हिँडाएर लाटभिया पुर्‍याएको थियो । तर, उनीहरूलाई लाटभियाको आर्मीले बोर्डरबाटै पक्राउ गर्‍यो । भोकभोकै हिँड्दा गलिसकेका युवाहरूलाई खाना भने दिएको थियो । तर, आर्मीले के गर्ने हो भन्ने डरले सबैजना आत्तिएको खड्काले सुनाए । दलालले जान दिन आर्मीसँग अनुरोध गर्न दबाब दिए पनि युवाहरूले आफू पीडित भएको दुःखेसो सुनाएपछि आर्मीले उनीहरूलाई फेरि बेलारुसको बोर्डरमा ल्याएर छाडिदिएको थियो ।

बेलारुसबाट उनीहरूले नेपालमा रहेका एजेन्ट दीपेशलाई सम्पर्क गरे । उनले फेरि अर्को पाकिस्तानी एजेन्ट पठाइदिए । नयाँ एजेन्टले उनीहरूलाई पोल्यान्ड लैजाने जिम्मा पाएको खड्काले बताए । उनले पनि युवाहरूलाई जंगलको बाटो दिनरात नभनी हिँडाएरै पोल्यान्ड पुर्‍याए । तर, पोल्यान्ड पुगेपछि पाकिस्तानी एजेन्टले नेपालको एजेन्टले आफ्नो कमिसन नदिएको भन्दै अत्तो थाप्न थाल्यो । कमिसन नपाएसम्म त्यहाँभन्दा अगाडि नलैजाने अड्डी लियो । युवाहरूले धेरै अनुरोध गरे । पोर्चुगल पुगेपछि उसलाई आफैँले कमिसन दिने पनि कसम खाए, तर एजेन्टले मानेन ।

झापाका तीन युवाले भने नेपालबाटै १० लाख रुपैयाँ मगाएर पाकिस्तानी एजेन्टलाई बुझाएको खड्काको भनाइ छ । पैसा दिएका युवालाई साथ लिएर एजेन्ट हिँडेपछि बाँकी १३ जना अलपत्र परे । त्यसपछि उनीहरूले पोल्यान्डको आर्मीसामु आत्मसमर्पण गरेको खड्काले सुनाए । पोल्यान्डका आर्मीले उनीहरूलाई बेलारुस बोर्डरमा लगेर छाडिदियो । बेलारुसबाट १३ जना युवा दुईवटा जिप रिजर्भ गरेर रसिया फर्कंदै गर्दा ड्राइभरले तीव्र गतिमा हाँकेपछि एउटा गाडी दुर्घटनामा पर्‍यो । त्यसपछि सातजनालाई बेलारुस प्रहरीले समात्यो । अवैध रूपमा बेलारुस प्रवेश गरेको भन्दै प्रहरीले उनीहरूलाई जेलमा राख्यो । त्यसपछि बेलारुस प्रहरीले रसियास्थित नेपाली दूतावासलाई खबर गर्‍यो । दूतावासको समन्वयमा घरमा सम्पर्क गरी टिकटको व्यवस्था मिलाएर युवाहरू साउन पहिलो साता नेपाल फर्किएको पीडित खड्काले बताए ।

खड्काका अनुसार एजेन्टलाई कमिसन दिने तीनजना युवा पोर्चुगल पुगेका छन् । बाँकी पाँचजना भने बेलारुसमै छन् । तर, दलाल दीपेश शाहीले भने पीडितहरूले भनेजसरी आफूले पैसा लिएर बेलारुस नपठाएको दाबी गरे । अनलाइमार्फत कुरा गर्दै दीपेशले १७ जना युवालाई भिजिट भिसामा रसियासम्म मात्रै पुर्‍याएको बताए । ‘सबैजना चिनजानकै थिए । रसिया घुम्न जाने भने, मैले पनि त्यहाँसम्मका लागि सहयोग गरेको हो । तर, त्यहाँ पुगेपछि उनीहरू आफँै बेलारुस पुगेका हुन् । यसमा मेरो कुनै हात छैन,’ उनले भने ।

मनोजको खोजी गर्न सरकार गुहार्दै परिवार

लाटभियाको बोर्डरमा बेपत्ता भएका छोराको खोजी गर्न उनकी आमा धनसरादेवी शाहीले सरकारसँग गुहार मागेकी छिन् । मनोज धनसराका एक्ला छोरा हुन् । चार वर्षअगाडि श्रीमान् गुमाएकी धनसरालाई छोरा हराएपछि अर्को पीडा थपिएको छ । मनोजको खोजी गर्न परिवारले रसियास्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । त्यस्तै, काठमाडौंस्थित केन्द्रीय अपराध अनुसन्धान महाशाखामा पनि निवेदन दिएका छन् । यस विषयमा कहीँकतैबाट पनि कुनै खबर नआएको मनोजकी आमा धनसराले गुनासो गरिन् ।

रसियास्थित नेपाली दूतावासले मनोजको खोजी भइरहेको जानकारी दिएको छ । मनोजको परिवारले उजुरी दिएसँगै दूतावासले बेलारुसका विभिन्न निकायमा खोजी गरेको दूतावासका सेकेन्ड सेक्रेटरी सुशील घिमिरेले बताए । उनका अनुसार बेलारुसको कुनै पनि निकायबाट उनीबारे केही खबर आएको छैन । ‘हामीले बेलारुसको अस्पताल, जेललगायत सम्भावित निकायमा उनी हराएको जानकारी गराएका छौँ । तर, उनको केही खबर छैन,’ घिमिरेले भने । मनोज अन्य मुलुकतिर गएको हुन सक्ने उनको अनुमान छ । अन्य मुलुकतर्फ पनि उनको खोजीका लागि गैरआवासीय नेपाली संघलाई खबर गरिएको घिमिरेले बताए ।-मुना कुँवर/नागरिक न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।