नब्बे वर्षीय प्रेमबहादुरलाई विद्यालय जाने रहर जागेपछि…

तुलसीपुर । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र अहिले उनी दैनिक विद्यालय जान्छन् । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासँग बित्छ ।

उनले पनातिसमेत देखिसकेका छन्, तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग उनी कक्षा १ मा पढ्न थालेका छन् । चालु शैक्षिकसत्रदेखि उनले कक्षा १ को पढाइ सुरु गरेका हुन् ।

सोही वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उनी पढ्न थालेका छन् । उनी पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्छन् ।

“सानोमा पढ्न पाइनँ, गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी पनि भेटिएनन्”, उनले सुनाए, “बुढेसकालमा भए पनि केही कुरा सिकौँ भनेर स्कुल पढ्न आएको हुँ ।”

घरमा पनि उनी नातिहरूसँग बस्दै आएका छन् । उनकी श्रीमतीको वि.सं. २०३२ मा निधन भयो । त्यसपछि उनी एकलरूपमा घरमा बस्दै आएका थिए । जेठो छोराको पनि निधनपछि अहिले उनी नातिसँग बस्दै आएका छन् । नाति आफ्नो काममा व्यस्त हुने भएकाले घरमा एक्लै बस्नुभन्दा विद्यालय जान थालेको उनले बताए । उनले आफू बाँच्दासम्म पढिरहने बताएका छन् ।

“सानोमा पढ्न नपाए पनि मेरो पढ्ने चाहना धेरै थियो”, उनले भने, “जे भए पनि मर्ने बेला केही अक्षर सिकेर मरौँ भन्ने मेरो चाहना हो ।”

उनी पढ्नमा पनि त्यति कमजोर छैनन् । कक्षा शिक्षक राजेन्द्रकुमार शर्माका अनुसार कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तै हुने भएकाले किताबमा भनेअनुसार लेख्न सक्ने भएको बताए । “परिपक्व दिमाग भएर पनि होला, कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तो हुन्छ”, उनले भने, “त्यो पुस्तिकाअनुसार उहाँले लेख्न सक्नुहुन्छ ।”

अङ्ग्रेजी अलि गाह्रो लाग्ने गरे पनि नेपाली भाषाका सबै किताबमा उनले राम्रोसँग पढ्न सकेको बताए ।

उनी जस्तो उमेरमा व्यक्ति विद्यालयमा पढ्न आउनुले समाजमा पढाइको महत्व झल्काएको विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले बताए । “उहाँ सुरुमा आउँदा अच्चम्म पनि लागेको थियो, तै पनि कक्षा १ मा भर्ना गर्यौँ”, उनले भने, “अहिले उहाँ आउँदा मान्छे बूढो भए पनि पढाइ बूढो हुँदैन भन्ने एउटा उदाहरण बन्नुभएको छ ।”

विद्यालयले उनलाई सम्मान गर्ने योजना बनाएको समेत प्रअ घर्तीले बताए । उनी विद्यालयको गहना भएकाले सम्मान पनि गर्ने र नियमित विद्यालय आउँदा विद्यालय पोशाक लगाउनुपर्ने भएकाले विद्यालय पोशाक पनि किनिदिने योजना बनाएको बताए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖