कालीमाटी बजारमा २ दिनदेखि प्याज आएन, कालोबजारी गर्ने १७ जना कारबाहीमा

काठमाण्डौ – भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ ।

काठमाण्डौको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन् । कालीमाटी बजारमा दैनिक एक सय मेट्रिक टनसम्म प्याज आउने गरेकोमा अस्ति सोमवार र हिजो मङ्गलवार कत्ति पनि प्याज नआएको सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिनुभयो ।

‘दैनिक औसत ९० देखि सय मेट्रिक टनसम्म प्याज आउने गरेकामा दुई दिनदेखि ठप्प छ । गएको आइतवार ४७ मेट्रिक टन आएको र भएको मौज्दात सकिएपछि अहिले कालीमाटी तरकारी बजारमा प्याज छैन’, उहाँले भन्नुभयो । यहाँ आउने सबैजसो प्याज भारतबाट आयात हुने गरेकोमा भारत सरकारले गएको शनिवारदेखि ४० प्रतिशत भन्सार शुल्क बढाएपछि अहिले आउन छोडेको सूचना अधिकारी श्रेष्ठको भनाइ थियो । बेच्नका लागि नै नभएपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक मूल्यसूची तालिकाबाटै प्याजलाई हटाएको छ । ‘भएको मौज्दात सकियो । व्यापारीले ल्याउने कुरा हो, उतै (भारत) बाट पठाएका छैनन् भन्ने सुनेको छु’, उहाँले भन्नुभयो, ‘बेच्नलाई प्याज नै नभएपछि मूल्यसूचीमा नराखिएको हो ।’

भारतबाट व्यापारीले प्याज नल्याएपछि एकातिर बजारमा यसको अभाव देखिएको छ भने अर्कोतिर कालोबजारी र मूल्यवृद्धिसमेत देखिएको छ । पछिल्लो दुई दिनमा मात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ जना तरकारी व्यापारीलाई कारबाही गरेको छ भने थप केही व्यापारीमाथि अनुसन्धान चलिरहेको छ । कालोबजारी र मूल्यवृद्धि भएको गुनासो उपभोक्ताबाट आएपछि विभागले प्याज लक्षित बजार अनुगमन थालेको हो । विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले पछिल्लो तीन दिनदेखि प्याजको बजार मूल्य केन्द्रित अनुगमन भइरहेको बताउनुभयो । ‘हामीले उपत्यकामा सबैतिर पुगेर अनुगमन गरिरहेका छौँ । आज पनि कीर्तिपुर, चोभार, बनेपालगायत क्षेत्रमा अनुगमन भइरहेको छ’, उहाँले भन्नुभयो, ‘अहिले हामीले मुख्यगरी प्याजका आयातकर्ता र गोदाममा अनुगमन गरिरहेका छौँ । व्यापारीले प्रतिकिलो ४८ रुपैयाँमा किनेको प्याज ६८/७० रुपैयाँसम्ममा बेच्ने गरेको अनुगमनबाट देखिएको छ ।’

यसरी मूल्यवृद्धि र कालोबजारी गर्ने व्यापारीलाई विभागले तत्काल अधिकतम तीन लाख रुपैयाँसम्म जरिबाना गर्ने गरेको महानिर्देशक ठाकुरले जानकारी दिनुभयो । विभागले बजार अनुगमनका क्रममा सोमवार तीन जना व्यापारीलाई जनही २० हजार, दुई जना व्यापारीलाई जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरेको थियो भने चार जना आयातकर्ता र व्यापारीलाई थप अनुसन्धानका लागि कागजात माग गरेको थियो । त्यस्तै मङ्गलवार अनुगमनका क्रममा १२ जना तरकारी व्यापारीलाई जरिबाना गरिएको थियो भने पाँच जना व्यापारीसँग थप अनुसन्धानका लागि कागजात माग गरिएको थियो ।

भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालोबजारी र चर्को मूल्यवृद्धि देखिन थालेको थियो ।

भारतले प्याज निर्यातमा कडाइ गर्दै भन्सार कर बढाउनुअघि नै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमा समेत चर्को मूल्यवृद्धि र कालोबजारी भइरहेको विभागले जनाएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा गएको आइतवार प्रतिकिलो ६० रुपैयाँका दरले बिक्री भइरहेको प्याज सोमवार प्रतिकिलो २० रुपैयाँसम्म बढेर ८० रुपैयाँ पुगेको थियो तर विभागले अनुगमन गरेपछि कालीमाटी तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो १० रुपैयाँसम्मले घटे पनि सोमवारयता भने त्यहाँ प्याज कारोबार भएको छैन ।

भारतको वित्त मन्त्रालयले शनिवार प्याजको निर्यातमा ४० प्रतिशतसम्म भन्सार कर बढाउने निर्णय गरेको थियो । त्यहाँको आन्तरिक बजारमा प्याजको मूल्य बढेपछि भन्सार कर बढाइएको मन्त्रालयले जनाएको थियो । आउँदो डिसेम्बर ३१ सम्म यस्तो कर लाग्नेछ ।

यसअघि भारतले बास्मतीबाहेक अन्य चामल निर्यातमा बन्देज लगाएकाले नेपाली बजारमा चामलमा पनि कालोबजारी बढेको थियो ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।