जीविकोपार्जनको विकल्प खोज्दै बोटे समुदाय

चितवन, २० भदौ : पुर्खाैँदेखि खोला र वनजङ्गलको भरमा जीविकोपार्जन गर्दै आएका बोटे समुदाय अहिले यसको विकल्पको खोजीमा लागेका छन् । चितवनको माडी नगरपालिका–१ वनकट्टामा रहेका बोटे समुदायका एक सय आठ परिवार अहिले खोला र वनजङ्गलको विकल्पको खोजीमा जुटेका हुन् ।

खोलानाला र वनजङ्गलको भरमा जीविकोपर्जन गर्नुपर्दा घरपरिवारका सदस्यले अकालमा ज्यान गुमाउनु परेपछि उनीहरुले वैकल्पिक पेसाको सुरुआत गरेका छन् । वैकल्पिक पेसाको रूपमा यहाँका बोटे समुदायले होमस्टे (घरबास) सञ्चालन गर्ने र सामुदायिक माछापोखरी निर्माणजस्ता काममा जुटेका छन् । उनीहरूले २०७७ देखि १० वटा बोटे होमस्टे (घरबास) र चार सामुदायिक माछापोखरी बनाएका छन् । अगुवा जगनारायण बोटे पहिला दैनिकी चलाउनका लागि माछा मार्न जानुपर्ने भए पनि अहिले त्यस्तो नरहेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “अहिले पहिलाको जस्तो वनजङ्गल र खोलामा आश्रित हुनुपरेको छैन ।” कहिलेकाहीँ रहरले माछा मार्न खोलामा जाने गरेको भए पनि पहिलेको जस्तो अवस्था अहिले नरहेको बोटेले बताउनुभयो । होमस्टे सञ्चालनमा आएसँगै वार्षिक खर्च कटाएर रु ६०–७० हजार कमाइ हुँदै आएको उहाँले जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जले २०७२ सालमा निकुञ्ज र ताल कार्यक्रमसँग मिलेर माडीका ती समुदायलाई माछापालन तथा होमस्टे सञ्चालनका लागि तालिम दिएको थियो । तालिमपछि यो समुदायले बोटे परिकार खुवाउनका लागि होमस्टे सञ्चालन गरेको लालुमाया बोटे बताउनुहुन्छ । जङ्गल र खोलानालामा धेरै जाने जाति भनेर चिनिएको यस समुदायमा अहिले मुहार फेरिन थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला हामी छ महिना खेतीपाती गरेर खाए छ महिना जङ्गल र खोलानालामा गएर गुजरा चलाउनुपथ्र्याे । होमस्टे सञ्चालनमा आएसँगै त्यो समस्या हटेको छ ।” अहिले होमस्टेमा आउने पाहुनाका लागि खुवाउन पोखरी निर्माण गरी माछापालन गरिरेहको उहाँले जानकारी दिनुभयो ।

बोटे सामुदायिक होमस्टेको नामबाट सञ्चालनमा ल्याइएका होमस्टेमा एकपटकमा ६० जनासम्म बस्न मिल्ने व्यवस्था छ । होमस्टे सञ्चालनमा आएसँगै पहिलाको जस्तो खोला र जङ्गलमा निर्भर हुनु नपरेको विका बोटे बताउनुहुन्छ । खोलानालामा र वनजङ्गलमा जाँदा वन्यजन्तुको आक्रमणबाट परिवार गुमाउनुभन्दा अर्को विकल्प खोज्नु उत्तम भएकाले होमस्टे सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । अहिले होमस्टे सञ्चालनमा ल्याएर गुजारा चलाउन थालेसँगै मानव र वन्यजन्तुबीचको द्वन्द्वसमेत कम भएको बोटेले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी भनेको वनजङ्गल र खोलानालाको पनि संरक्षण गर्ने जाति हो ।”

बोटे सामुदायिक होमस्टेका अध्यक्ष सन्तोष बोटे पहिलेको तुलनामा माछा मार्ने, जङ्गल जानेलगायतका काम कम हुँदै आएको बताउनुहुन्छ । उहाँका अनुसार अहिले बोटे समुदायले होमस्टे सञ्चालन, सामूहिक माछापालन, बाख्रापालन, खेती किसानीलगायतका काममा लागेर खोला र वनजङ्गल छोडेका हुन् । उहाँले भन्नुभयो, “खोलामा गएर माछा मार्ने, जङ्गलमा गएर न्यूरो, तामालगायत ल्याएर बेच्नुभन्दा यही जग्गा भाडा तथा ठेक्का लिएर खेतीपाती गर्ने गरेका छन् ।” वैदेशिक रोजगारीमा समेत जाने प्रचलन यो समुदायमा बढ्न थालेको बोटेले जानकारी दिनुभयो ।

माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो होमस्टे सञ्चालन र माछापालनसँगै उनीहरुको जीवनस्तरमा केही सुधार आएको बताउनुहुन्छ । उहाँले होमस्टे निर्माणका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उनीहरूलाई ज्ञान र सीप दिएर वन र खोलामा आश्रित हुनबाट रोक्नुपर्छ ।”

खोलामा गएर माछा मार्ने र त्यही माछा बिक्री गरेर जीविकोपार्जन गर्ने बोटे सामुदायलाई वैकल्पिक पेसामा लगाउन सकेमा संरक्षणमा समेत टेवा पुग्ने उहाँको भनाइ छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।