पाँच हजारबाट सुरु भएको रिचाको व्यवसायमा लाखौँको लगानी

रुपनी जिएम/जानकी (बाँके), २६ भदौ : “अरुको काम गरेर पैसा कमाउनु र सानोतिनो भए पनि आफ्नै व्यवसायबाट पैसा कमाउनुमा धेरै फरक हुँदोरहेछ”, यो भनाइ हो नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो निवासी जेडि कलेक्सनकी सञ्चालक रिचा लुइँटेलको । सानै भए पनि आफ्नै व्यवसाय सुरु गर्नुपर्छ भन्ने सोँचले रिचाले गत वर्षको पुसदेखि सौन्दर्य सामग्रीको व्यापार सुरु गर्नुभयो । तत्कालीन समयमा रु पाँच हजार लगानीमा व्यापार सुरु गर्दा एउटै सामान बिक्रीबाट दुईदेखि दुई सय ५० सम्मको फाइदा भएको उहाँले बताउनुभयो ।

“सुरुमा सानो पुँजीमा पाँच वटा जति गहना किनेकी थिएँ । त्यो जम्मा पाँच हजारको थियो”, उहाँले भन्नुभयो, “एउटा गहनाबाट त्यतिखेर दुई सय ५० सय जतिको नाफा भएको थियो । त्यसमा पनि मैले जम्मा तीन वटा बिक्री गरेँ भने बाँकी दुई वटा साथीलाई उपहार दिएँ ।”

विगत दुई वर्षदेखि निजी अस्पतालमा प्रशासनिक फाँटमा काम गर्ने उहाँको तलब मासिक रु ३५ हजार थियो । तर उहाँ त्यो कामबाट सन्तुष्ट हुनुभएन ।

आफ्नै लगानीमा र पहिचानमा केही गर्नुपर्छ भन्ने सोचले रिचाले घरबाटै ‘आर्टिफिसियल ज्वेलरी’को व्यापार गर्न सुरु गर्नुभयो । जुन नेपालगञ्जमा एकदमै नयाँ थियो । “अरुको भन्दा फरक केही गर्नुपर्छ भन्ने मनमा सधैंँ लागिरहन्थ्यो । त्यो फरक मैले नेपालगञ्जमा आर्टिफिसियल गहनाको व्यापार नै देखेँ”, उहाँले भन्नुभयो, “यो व्यवसायको बारेमा धेरै अध्ययन गरेर मात्रै लगानी लगाउन सुरु गरेंँ र आफ्नै घरबाट यस्को सुरुवात गरेँ ।”

उहाँले व्यवसायको विज्ञापन फेसबुक र टिकटकलगायतका सामाजिक सञ्जालमार्फत गरिरहनुभएको छ । उहाँ टिकटकमा लाइभमार्फत सामानको विशेषता र मूल्य बताउनुहुन्छ । रिचाका लागि टिकटक सामाजिक सञ्जालको एउटा निकै नै प्रभावकारी माध्यम बनेको छ । “अहिले टिकटकको जमाना भएकाले मैले पनि यसैबाट व्यापारको प्रचारप्रसार गरिरहेकी छु”, उहाँले भन्नुभयो, “टिकटकबाटै व्यवसायको प्रचार गर्न निकै नै सजिलो मात्रै भएको छैन, व्यापार पनि बढेको छ ।”

हाल उहाँले मासिक रु १० लाखको कारोबार गर्नुहुन्छ । जसबाट रु एक लाख ५० हजारको हाराहारीमा नाफा हुने गरेको उहाँको भनाइ छ । “घरबाटै व्यवसाय गरिरहेकाले भाडा तिर्नुपर्दैन, बिहानैदेखि रातिसम्म उहाँको घरमा सामान किन्न आउनेको घुइँचो हुने गरेको उहाँले सुनाउनुभयो ।

हिजोआज रिचालाई घरमै आएका ग्राहकलाई सामान बेच्नदेखि अनलाइन अर्डर गरेका सामान कुरियर गर्न भ्याइनभ्याइ हुने गरेको छ । महिला आर्थिक रुपमा आत्मनिर्भर हुन आवश्यक छ भन्ने मान्यता राख्नुहुने रिचालाई गत वर्ष फागुनमा महिला उद्यमी सङ्घ बाँकेको आयोजनामा सम्पन्न पाँचदिने मेलाले निकै सहयोग गरेको थियो ।

व्यवसाय सुरु गरेको केही समयमै महिला उद्यमी सङ्घको व्यापार मेलाले रिचाको आर्टिफिसियल गहनाको व्यापारलाई चिनाउन सहयोग पु¥यायो । उहाँका अनुसार उक्त मेलामा रिचाले रु ६५ हजारको लगानीबाट एक लाख ३० हजारको आम्दानी गर्नुभएको थियो । “त्यतिबेला भखैरै व्यापार सुरु गरेकी थिएँ । त्यो मेला मेरा लागि एउटा सुनौलो अवसर थियो”, उहाँले भन्नुभयो, “मैले तत्कालीन समयमा जोखिम लिए रु ६५ हजार लगानी गरेकी थिएँ तर नसोचेकै फाइदा भयो । मैले रु एक लाख ३० हजारको आम्दानी गर्न सफल भएकी थिएँ ।”

दुई सन्तानकी आमा रिचाले दुई छोराको नामबाट जेडी कलेक्सनको नाम राख्नुभएको हो । रिचा मागअनुसार नेपालको पूर्वी जिल्ला झापादेखि पश्चिमको महेन्द्रनगरसम्म कुरियरमार्फत सामान पठाउने गर्नुहुन्छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।