पर्यटकीयस्थल सोवाङ धुरीमा ‘दृश्यावलोकन केन्द्र’ स्थापना

बेनी (म्याग्दी), २२ असोज ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीको पर्यटन प्रवर्द्धनमा स्थानीय मण्डली युवा क्लबले सक्रियता बढाएको छ ।

धौलागिरि आइसफल पदमार्गअन्तर्गत पर्ने पर्यटकीयस्थल सोवाङ धुरीको प्रचारप्रसारका लागि युवा क्लबले प्रवर्द्धन अभियान सञ्चालन गरेको हो । समुद्री सतहदेखि तीन हजार आठ सय ४० मिटरको उचाइमा अवस्थित सोवाङ धुरीमा युवा क्लबको नेतृत्वमा ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको छ ।

क्लबका अध्यक्ष प्रवीन बुढाको नेतृत्वमा गएको आठ जनाको टोलीले सोवाङ धुरीमा ‘दृश्यावलोकन केन्द्र ’ स्थापना गरेका हुन् । अध्यक्ष बुढासहित उपाध्यक्ष, मेकिन पुन, सचिव सन्दीप तिलिजा, सहकोषाध्यक्ष अनोज गर्वुजालगायतको टोलीले चिमखोला गाउँदेखि करिब सात घण्टाको पैदलयात्रा गरी सोवाङ धुरीमा पुगेका थिए ।

चिमखोलादेखि पात्लेखेत–सिजी–थामडाँडा, हुँदै सोवाङधुरी पुगेर त्यहाँको पर्यटन सम्भावनको खोजी र प्रवर्द्धन गरिएको क्लब अध्यक्ष बुढाले बताउनुभयो । “अथाह सम्भावना भएर पनि ओझेलमा परेको सोवाङधुरीलाई प्रवर्द्धन गर्न पहल गरेका हौँ, यो क्षेत्रको प्रचारप्रसार र पूर्वाधार निर्माण गर्नसकेमा उत्कृष्ट गन्तव्य बनाउन सकिन्छ”, अध्यक्ष बुढाले भन्नुभयो ।

धौलागिरि आइसफल पदमार्गअन्तर्गत सोवाङ धुरी एकै ठाउँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाअन्तर्गतका दर्जनौँ हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न सकिने ठाउँको रुपमा परिचित छ । सोवाङ धुरीबाट मनोरम हिमशृङ्खलासँगै म्याग्दीका विभिन्न ग्रामीण बस्तीलाई समेत अवलोकन गर्न सकिने र जैविक विविधतायुक्त क्षेत्र भएकाले यहाँको दृष्यले पर्यटकलाई लोभ्याउने गरेको क्लबका सदस्य वकिल पुन मगरले बताउनुभयो ।

म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने गरी पहिचान भएको धौलागिरि आइसफल पदमार्गअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गायत्री मन्दिरदेखि सुरु भएर भगवती–रुइसे–भेडिओढार–मुटुकाटे–पजत्राधुरी हुँदै सोवाङधुरी जोड्ने मुख्य पदमार्ग रहेको छ । मुख्य पदमार्ग र चिमखोला हुँदै सोवाङ धुरी पुगेपछि पर्यटक नेपाने–लोसधाप–लाटीबराह–कालीबराह ताल हुँदै धौलागिरि हिमालको आधार शिविर पुग्ने गर्छन् ।

आधार शिविरबाट बाँझोबुकी हुँदै कुइनेमङ्गलेमा अवस्थित प्रसिद्ध धार्मिकस्थल रिखार हुँदै र रघुगङ्गा नदीको किनार नै किनार हुँदै सङ्गुरथला भएर कुइनेमङ्गलको घ्यासीखर्क–चिमखोला हुँदै फर्कन मिल्ने गरी दुई वटा पदमार्ग सञ्चालनमा रहेको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकप्रसाद पाइजाले जानकारी दिनुभयो । “हरेक वर्ष पदमार्ग निर्माणको काम भइरहेको छ, अहिले पनि पर्यटन बोर्डबाट आएको बजेटबाट पदमार्ग स्तरोन्नतिको काम जारी छ, तर अक्करे पहाड र भिरमा अझै पनि पदमार्गलाई सुधार गर्न सकिएको छैन, त्यसको लागि थप बजेटको आवश्यकता छ”, वडाध्यक्ष पाइजाले भन्नुभयो ।

टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर’ (टान), तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो । यस पदमार्गले म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ तातोपानी, दानालगायतका ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।