अग्रिम टिकट बुकिङका लागि बसपार्कमा भीड

काठमाडौँ, २४ असोज : सरकारले दशैँमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोँगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ ।

सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो । यतिबेला सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीलगायतका विभिन्न उद्देश्यले आएकाहरु घरजानका लागि टिकट काट्न नयाँबसपार्कमा जम्मा भएका छन् ।

नयाँबसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले दुई दिनमा झण्डै ४० हजार अग्रिम टिकट बुकिङ भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार असोज २२ गते २४ हजार तीन सय ४० र असोज २३ गते १५ हजार २५ टिकट बुकिङ भइसकेको छ ।

असोज २२ गते बुकिङ भएका टिकटमध्ये कोसी, मधेस र बागमती प्रदेशका लागि एक हजार दुई सय ३०, गण्डकी प्रदेशका लागि नौ सय ७५, लुम्बिनी प्रदेशका लागि १३ हजार पाँच सय ३५, कर्णाली प्रदेशका लागि एक हजार सात सय र सुदूरपश्चिम प्रदेशका लागि छ हजार नौ सय टिकट बुकिङ भएको छ ।

यस्तै, असोज २३ गते कोसी, मधेस र बागमती प्रदेशका लागि एक हजार एक सय ७०, गण्डकी प्रदेश पाँच सय, लुम्बिनी प्रदेश सात हजार पाँच सय ३५, कर्णाली प्रदेशमा एक हजार छ सय २० र सुदूरपश्चिम प्रदेशमा चार हजार दुई सय टिकट बुकिङ भएको छ ।

सरकारले लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधनको टिकट खुला गरेको हो । पश्चिम नेपालको दार्चुला, डँडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, दाङ, अर्घाखाँची, रोल्पा तथा पूर्वी नेपालको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ ।

लामो समयदेखि काठमाडौँदेखि धनगढीसम्म डिलक्स बस चलाउँदै आउनुभएका वर्दियाका रामानन्द थारु बाटोको कारणले बसलाई ओहोरदोहोर गर्न समस्या भएको बताउनुहुन्छ । “विभिन्न ठाउँमा बाटो विग्रँदा भनेको समयमा बस गन्तव्यस्थल पु¥याउन सकिँदैन”, उहाँले भन्नुभयो ।

काठमाडौँदेखि दाङसम्म सवारी सञ्चालन गर्दै आउनुभएका घोराहीका चेतनाथ भट्टपनि पानीको कारण बाटो खाल्डाखुल्डी हुँदा आवतजावतमा समस्या भएको बताउनुहुन्छ । “बाटो राम्रो भए यात्रुलाई ओसार्न समस्या हुँदैन, बाटो राम्रो नहुँदा बसहरु सञ्चालनमा समस्या भएको छ”, उहाँले भन्नुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला यसपालिको दसैँमा घर जानका लागि यात्रुले सहजै टिकट पाउने दाबी गर्नुहुन्छ । राजमार्ग बिग्रिएको कारण काठमाडौँ आउजाउ गर्न बसलाई समस्या पर्नसक्छ, तर बस नपाएर कोही यात्रु रोकिनु पर्दैन”, उहाँले भन्नुभयो । सरकारले दसैँका लागि देशका सबै क्षेत्रको यातायातको लागि ‘रोड परमिट’ यही असोज २६ गतेदेखि खुला गर्ने निर्णयसमेत गरिसकेको छ ।

असोज २३ गते यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा बसेको सरोकारवाला निकायको बैठकले यही असोज २६ गतेदेखि कात्तिक ८ गतेसम्म खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरु ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारी साधनहरु उपत्यका प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

उक्त बैठकले पूर्व–पश्चिम राष्ट्रिय राजमार्ग अन्तर्गत कावासोती, चोरमारा, दाउन्ने सडक खण्ड र पोखरा–मुग्लिन सडक खण्ड अन्तर्गत कोत्रेबाट २१ किमि काठमाडौँतर्फको सडक सवारी साधन सञ्चालन गर्न सहज हुने हिसावले सडक विभागबाट तत्काल सडक मर्मत गर्ने निर्णय गरेको थियो ।

यस वर्षको अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा २४ टिकट बुकिङ काउण्टर थप गरेको लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले बताउनुभयो । यस सङ्घीय राजधानी काठमाडौँबाट दसैँ मनाउनका लागि २० देखि २२ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।

उपत्यकामा सुरक्षा योजना
दसैँको समयमा हुने आपराधिक घटनालाई रोक्नका लागि प्रहरीले नयाँबसपार्क क्षेत्रमा छुट्टै सुरक्षा योजना बनाएर लागू समेत गरिसकेको छ । प्रहरी प्रभाग नयाँबसपार्कका प्रमुख, प्रहरी निरीक्षक दिनेश गुरुङले बसपार्कमा हुने आपराधिक घटना न्यूनीकरणका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताउनुहुन्छ ।

प्रहरीले दुई दिनमा नयाँ बसपार्कभित्र आपराधिक क्रियाकलापमा सङ्लग्न पाकेटमार, हुलहुज्जत गर्ने, ठगी, लुटपाटलगायतका घटनामा सङ्लग्न १७ जनालाई नियन्त्रणमा लिएर कारबाही समेत गरिसकेको छ । त्यस्तै, प्रहरीले बढी भीडभाड हुने स्थानलाई लक्षित गरी ड्रोन, वडीवान, गोप्रो क्यामराबाट समेत सुक्ष्म अनुगमन गर्नेछ । दसैँमा सुरक्षाका लागि नयाँ बसपार्कमा थप प्रहरी जनशक्तिसमेत तैनाथ गरिसकिएको छ ।

यस्तै, ट्राफिक प्रहरीले विभिन्न निकायसँगको सहकार्यमा चाडपर्व लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट यात्रु सहायता कक्ष १३ स्थानमा राखिएको बताउनुहुन्छ । “अहिले उपत्यकाका विभिन्न स्थानमा १३ वटा यात्रु सहायता कक्ष स्थापना गरेका छौँ, आवश्यक परेमा अन्य स्थानमा समेत थप गर्न सकिन्छ”, उहाँ भन्नुहुन्छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।