चाडपर्वमा प्लास्टिकका फूल र माला बिक्रीमा रोक

भरतपुर (चितवन), २४ असोज : चितवनको रत्ननगर नगरपालिकाले दसैँ, तिहार, छठजस्ता पर्वमा प्लास्टिकजन्य फूलमाला र गुच्छाको बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै तिहार र छठलगायत पर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको हो ।

नगरप्रमुख प्रल्हाद सापकोटाले प्लास्टिकजन्य फूल तथा सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुने भएकोले त्यसको प्रयोगमा रोक लगाइएको बताउनुभयो । उहाँले नगरभित्र नै किसानले धेरै मात्रामा फूल लगाएकाले उक्त फूल पूजा पाठका लागि राम्रो हुने भन्दै प्लास्टिकजन्य फूल प्रयोग नगर्न आग्रह गर्नुभयो । “बजारमा प्रशस्त प्लास्टिकजन्य फूलको सामग्री हुन्छन्”, सापकोटाले भन्नुभयो, “किसानले उत्पादन गरेको फूलले बजार पाएका छैनन् । पालिकाले गरेको यस निर्णयले नगरभित्र उत्पादित फूलले बजार पाउने आशा छ ।” प्लास्टिकजन्य फूल तथा मालासैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने नगरपालिकाले जनाएको छ ।

दसैँमा चितवन प्रहरी चौबिसै घण्टा हाइअलर्टमा

नजिकिँदै गरेको दसैँ, तिहार र छठमा चितवन प्रहरी चौबिसै घण्टा ‘हाइअलर्ट’मा रहने भएको छ । मङ्गलबार पत्रकार सम्मेलन गरेर चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै चितवन प्रहरीले चाडपर्वमा भरपर्दाे शान्तिसुरक्षा कायम राख्ने उद्देश्यले बसपार्कलगायत मानिसको भीडभाड हुने ठाउँमा हाइअलर्टमा रहने जनाएको हो ।

चाडपर्वमा हुनसक्ने लुटपाट, डकैती, सवारी दुर्घटना र समाजमा हुनसक्ने चोरी, लुटपाट, मादक पदार्थ सेवन गरी होहल्ला, झै–झगडा, गुण्डागर्दी जस्ता आपराधिक गतिविधिहरुलाई दृष्टिगत गरी त्यस प्रकारका कुनै पनि घटना हुन नदिने तयारी प्रहरीको सुरक्षा योजनामा समावेश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार समाजलाई भयमुक्त वातावरण बनाउने र कुनै अप्रिय घटना घटेमा तत्काल सुरक्षा कारबाही गरी भरपर्दो शान्तिसुरक्षा कायम राख्ने उद्देश्यले चाडपर्व लक्षित विशेष सुरक्षा योजना निर्माण गरिएको हो ।

प्रनाउ पण्डितले सुरक्षा योजना सार्वजनिक गर्दै सहरका भीडभाड हुने ठाउँ र बसपार्कहरुमा चौबिसै घण्टा प्रहरी अलर्टमा रहने बताउनुभयो । प्रहरीले बसपार्कमा यात्रुको पीरमर्का बुझ्न यात्रु सहायता कक्ष पनि सञ्चालनमा ल्याएको छ । उहाँका अनुसार जिल्लामा पुलचोक, पोखरा बसपार्क, केन्द्रीय पारस बसपार्क, मुग्लिन बजारमा सहायता कक्षा रहने छन् ।

“यस्तै चितवनका एक सय १७ टोलसुधारसँग समन्वय गरेर प्रहरीले सुरक्षाको रणनीति बनाइएको छ । प्रहरीको सुरक्षा योजनामा कमान्ड पोष्ट, रिजर्भ, स्ट्रइकिङ, क्युआरटी परिचालन, सिमानामा चेकजाँच, अस्पतालमा उद्धार टोली र १२ वटा समूहमा ट्राफिक सहितको संयुक्त चेकिङ हुनेछ”, प्रनाउ पण्डितले भन्नुभयो, “प्रहरीले दसैँतिहार र छठलाई लक्षित गरेर ठाउँठाउँमा सरप्राइज चेकिङ, सवारीसाधनद्वारा मोबाइल गस्ती, पैदल गस्ती, पिकेट डिउटी, राजमार्ग गस्ती सञ्चालन गर्नेछ ।”

प्रहरीले चितवनका धार्मिक र पर्यटकीयस्थलको सुरक्षा गर्नाका साथै बैङ्क, सुनचाँदी र आर्थिक कारोबार हुने स्थानको सुरक्षालाई पनि प्राथमिकतामा राखेको छ । सादा पोसाकमा चेकजाँच र बजार अनुगमन गर्नाका साथै मापसे चेकजाँचलाई पनि सञ्चालन गर्ने प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।