गाउँघरमा पनि देखिन छाडे ढिकी र जाँतो

युवराज विष्ट/भोजपुर । दशकौँअघिसम्म गाउँघरमा कुटानी, पिसानीका लागि प्रयोग हुने ढिकी, जाँतो लोप हुन थालेका छन् । कुटानी, पिसानीको सहज माध्यमका रुपमा बजारमा विद्युत् तथा पेट्रोल, डिजेलबाट चलाउन सकिने आधुनिक मिल आउन थालेपछि ढिकी, जाँतोको प्रयोग हराउन थालेको हो ।

मानिस उत्पादनमुखीभन्दा पनि बाहिर बजारबाट आउने चामल, दाललगायत सामग्री प्रयोग गर्ने भएकाले पनि ढिकी, जाँतोको चलन हराउँदै गएको छ ।

विगतमा ढिकी र जाँतोमा धान कुट्ने, गहुँ, कोदो, मकै, फापर, दाललगायत पिस्ने काम हुने भए पनि पछिल्लो समयमा आधुुनिक मिलको सहायताले मानिस कुटानी, पिसानी गर्दै आएका छन् । दशकअघिसम्म एउटा घरमा ढिकी, जाँतो अनिवार्य हुने गरेको भए पनि त्यो चलन हराउँदै गएको स्थानीय ९८ वर्षीय वृद्ध बेनीबहादुर विष्टले बताउनुभयो ।

अबको १२÷१५ वर्षमा यी उपकरण चलाउने प्रचलन पूर्णरुपमा लोप हुने उहाँको भनाइ छ । “पहिला गाउँघरमा ढिकी, जाँतो अनिवार्य जस्तो नै थियो”, उहाँले भन्नुभयो, “सबैका घरमा ढिकी, जाँतो हुन्थ्यो । तर अहिले त्यस्तो अवस्था रहेन । प्रविधिको विकाससँगै ढिकी जाँतोका चलन इतिहास बन्ने अवस्था छ ।”

गाउँघरमा विद्युत् पुगेसँगै यहाँका अधिकांश ठाउँमा विद्युत्बाट चल्ने मिल राखेर धान कुटानी, तेल पेल्नेदेखि पिठो पिसाउन थालेपछि गाउँमा परम्परागतरूपमा चल्दै आएका ढिकी, जाँतो हराउन थालेका हुन् ।

कुटानी, पिसानीका लागि आधुनिक मिलले सहज भए पनि ढिकी, जाँतो भने लोप हुँदै गएको स्थानीयको भनाइ छ । मानिसले बढी मेहनत गर्नुपर्ने भए पनि ढिकी, जाँतोमा कुटेका खाने कुरा स्वास्थ्यकरसँगै स्वादिष्ट हुने टेम्केमैयुङ– ५ की स्थानीय मसिनी माया विष्ट बताउनुहुन्छ ।

“आधुनिक मिलमा कुटानी, पिसानीका लागि सहज छ”, उहाँले भन्नुभयो, “तर यसरी कुटिएको अन्नको स्वाद राम्रो हुन्न । ढिकी, जाँतोमा कुटेर, पिसेर खाँदा स्वाद नै फरक हुन्छ । मिलमा कुटानी, पिसानीको लागि छिटो हुने भएकोले ढिकी, जाँतोको चलन हराएको छ ।” गाउँका प्रत्येकजसो घरमा देखिने ढिकी तथा जाँतो पछिल्लो समय लोप हुँदै गएको उहाँको भनाइ छ ।

भौगोलिकरूपमा विकट र विद्युत् पुग्न नसकेका गाउँमा भने अहिले पनि ढिकी तथा जाँतोको प्रयोग हुने गरे पनि विद्युत् पुगेका ठाउँमा परम्परागतरूपमा रहेका ढिकी तथा जाँतो प्रयोग गर्ने चलन हराएको स्थानीयवासी हिरालाल लुइँटलले बताउनुभयो ।

“विद्युत् विस्तार भएका ठाउँमा ढिकी, जाँतोको प्रयोग हटेको छ”, उहाँले भन्नुभयो, “तर विद्युत् नपुगेका ठाउँमा भने अहिले पनि ढिकी, जाँतो प्रयोग गर्दै आएका छन् । प्रविधिको विकासले ढिकी, जाँतोको चलन हराउँदै गएको छ ।” सहजतासँगै आधुनिक विद्युतीय मिलको सञ्चालनले परम्परागत ढिकी तथा जाँतो इतिहास बन्ने अवस्था आएको लुइँटेलले बताउनुभयो । परम्परागतरूपमा प्रयोग गर्दै आएका ढिकी तथा जाँतोलाई संरक्षण गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

मेहनत धेरै परे पनि अन्य मिलको तुलनामा घरेलु तरिकाले काम गरिने भएकाले कम खर्चिलो हुने उहाँले बताउनुभयो । ढिकी र जाँतोमा नकुटी नहुने पूजाआजामा प्रयोग गरिने पिठोलगायत कुट्नका लागि ढिकी अनिवार्य जस्तो नै रहेको उहाँको भनाइ छ ।

“मेहनत बढी परे पनि ढिकी, जाँतोको सहजताले कुटिएका खानेकुरा लाभदायक हुन्छ”, उहाँले भन्नुभयो, “यस्तो चलन गाउँघरबाट नै हराउँदै जानु दुःखद् हो । यी कुराहरुलाई हामी पनि संरक्षण गर्न आवश्यक छ ।” आधुनिक मिलले मानिसको दैनिक जीवनमा सहजता प्रदान गरे पनि खाद्यान्नमा हुने पौष्टिक तत्व भने नष्ट हुने स्थानीयवासीको भनाइ छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।