मसानघाट पनि अतिक्रमणमा

ढोरपाटन (बागलुङ), १३ कात्तिक : एकदशक अगाडिसम्म निसीखोलाका किनार सुनसान थिए । ढुङ्गा र बालुवाका थुप्रोमा बकुल्ला डुल्थे । मान्छेको मृत्युपछि दाहसंस्कार गर्ने विभिन्न जातजातिको आआफ्नै घाट हुन्थ्यो । अचेल ती घाटमाथि संरचना बन्न थालेका छन् । कतिले त घाटलाई अतिक्रमण गरी खेतमा परिणत गरेका छन् । पातीहाल्ने, तिलाचन, घुमदेखि बग्दै आएको निसीखोला भुजीखोला र तमानखोलासँग मिसिएर बडिगाड बनेको छ । बुर्तिबाङ बजारदेखि केही तल सेराबगरमा आएर बडिगाड बन्ने निसीखोलाको दर्जनौँ स्थानमा अतिक्रमण भएको स्थानीयको गुनासो ।

घाटमा अवैधरुपमा संरचना निर्माण गर्नुका साथै ढुङ्गा, गिटी र बालुवा थुपार्दा दाहसंस्कारमा समस्या पर्ने गरेको हो । निसीखोला गाउँपालिका–१ का नितेश पुनमगरले पछिल्लो समय अतिक्रमण बढेसँगै नदीको आकार पनि सानो हुँदै गएको बताउनुभयो ।

नदी किनारदेखि पर्खाल उठाएर स्थानीयले खेत निर्माण गरेर खेतीपाती गर्दा पनि सरोकारवालाको ध्यान नगएको उहाँको भनाइ छ । मसानघाट नै कब्जा हुन थालेपछि मलामी बस्ने र शव जलाउने ठाउँसमेत साँघुरो बन्दै गएको पुनमगरले बताउनुभयो । घाट पवित्रा स्थान भएको हुँदा संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ । कतिपय घाटमा बस्तीसमेत बसालेको उहाँले बताउनुभयो ।

“मान्छेहरुलाई कति लोभ लागेको हो ?, मसानघाटसमते अतिक्रमण गरेर आफ्नो बनाउँछन्, सबै मरेर जाने हो, किन यति लोभी बन्दै गए कुन्नी, पहिले निसीखोलाको धेरै ठाउँमा घाट थिए, खुला ठाउँमा घाट बनाएर अन्तिम संस्कार गर्ने चलन थियो, अहिले एउटा शवलाई राखेर जलाउने ठाउँ पनि पाउन मुस्किल पर्छ”, पुनमगरले भन्नुभयो, “गाउँपालिकाले एक÷दुई ठाउँमा राम्रो मसान घाट त बनाएको छ, तर पहिलेका ठाउँ फिर्ता लिएर त्यसलाई व्यवस्थित बनाउन भने सकेको छैन ।”

निसीखोलामा पर्ने जैमुरे घाट, तिल्जा, पञ्चासे, नौँमुरेलगायत दर्जन बढी घाट अहिले पुरिएर खेतमा परिणत भएका छन् । कतै विकासका नाम पुरिने र कतै व्यक्तिगत लाभका लागि मसानघाट पुरेको स्थानीय धीरबहादुर क्षेत्रीले बताउनुभयो । घाट साझा थलो भएको हुँदा व्यक्तिगतरुपमा प्रयोग गर्न नहुने उहाँको भनाइ छ । पछिल्लो समय खोलामा डोजर हालेर ढुङ्गा, गिट्टी र बालुवा झिक्दा खेती मसानघाट पुरिने गरेको क्षेत्रीले बताउनुहुन्छ । घाट पुरिएपछि गाउँमा कसैको मृत्यु भए घण्टौँ लगाएर घाट खोज्नु पर्ने अवस्था आएको उहाँको भनाइ छ ।

क्षेत्रीले भन्नुभयो, “हामी सानोसानो हुँदा निसीखोलामा थुप्रै घाट थिए,आधा घण्टाको दूरीमा घाटहरु हुन्थे, वारिपारीका गाउँबाट दाहसंस्कार गर्न झर्दा मलामी बस्ने ठाउँ खुला हुन्थ्यो, लास (शव) लाई जलाउने ठाउँ पनि फराकिलो नै हुन्थ्यो, अहिले त एउटा शव राख्ने ठाउँसमेत भेटिदैन, मलामीले विश्रम गर्ने ठाउँ त टाढाको कुरा हो, पहिले मलामी बस्ने ठाउँमा अहिले धान गहुँ फल्ने खेतबारी बनेका छन् ।”

निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीमगरले खोलाका केही घाट अतिक्रमण भएको बताउनुभयो । अतिक्रमित घाटलाई फिर्ता गर्ने उहाँको भनाइ छ । घाट अतिक्रमण हुनुका साथै बाढीलेसमेत बगाउँदा धेरै ठाउँमा समस्या देखिएको उपाध्यक्ष घर्तीमगरले बताउनुभयो । गाउँपालिकाले हाल तीन स्थानमा व्यवस्थित घाट निर्माण गरेको भन्दै अन्य ठाउँमा पनि बनाउने उहाँको भनाइ छ । केही घाट व्यक्तिका नाममा रहेको हुँदा उनीहरुसँग छलफल गरी घाटकैरुपमा राख्ने घर्तीमगर बताउनुहुन्छ ।

“केही ठाउँमा घाट अतिक्रमण भएका छन्, व्यक्तिले त्यसलाई घेरेर आफ्नो बनाएका छन्, अतिक्रमण सार्वजनिक जग्गामा भएका घाट फिर्ता गछौँ, केही ठाउँमा व्यक्तिको नाममा भएको पाइन्छ, उहाँहरुसँग छलफल गरेर व्यवस्थापन गर्छौं”, उपाध्यक्षले घर्तीमगरले भन्नुभयो, “घाटको संरक्षणका लागि गाउँपालिकाले नदी व्यवस्थापन गर्ने योजना बनाएको छ, अव्यवस्थितरुपमा बगेका खोलालाई धारमा फर्काइयो भने केही ठाउँका मसानघाट जोगिने छन् ।”

निसीखोला क्षेत्रमा खोला किनार हुँदै थुप्रै सडक निर्माण भएका छन् । ती सडकले पनि मसानघाट पुरिएका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले यहाँ थुप्रै भूभाग ओगटेको छ, त्यसले पनि घाटमा ठूलो क्षति पु¥याएको पाइन्छ ।–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।