बिक्री हुन छाडे चोयाका सामग्री

गलेश्वर (म्याग्दी), २६ मङ्सिर : सोमबार बालाचतुर्दशीका दिन म्याग्दीको गलेश्वरमा बाग्लुङको काठेखोला–४ तङग्रामबाट डाला नाङ्ला बोकेर गलेश्वर आउनुभएकी अमृता पुन ल्याएका सामग्री नबिकेपछि चिन्तित हुनुभयो । पुन मात्रै होइन, बागलुङकै बडिगाड गाउँपालिकाका धनबहादुर बुढा, तनहुँको बन्दीपुर गाउँपालिका–५ की तिलिमाया भुजेल र बागलुङको अमलाचौरका टेकनाथ चापागाइँले पनि आफूले ल्याएका सामान बिक्री नभएपछि सामान बोकेर गाउँ फर्किनुभयो ।

म्याग्दीको गलेश्वरमा शतबीज छर्न र दर्शन गर्न आएका भक्तजनलाई नाङ्लो, डालो र ठेकाठेकी बिक्री गर्ने उद्देश्यले उहाँहरु हस्तकलाका सामग्री बोकेर गलेश्वर आउनुभएको थियो । विगत एकदशक अघिसम्म बालाचतुर्दशीमा लाग्ने गलेश्वर मेलामा डाला, नाङ्ला, ठेकाठेकी, भकारी र थुन्सेको व्यापार खुब हुने गर्दथ्यो । तर पछिल्लो समय सस्तो मूल्यमा पाइने प्लास्टिक र स्टिलका सामानको प्रयोग बढ्दै गएपछि बाँस र निगालोबाट बनाइएका सामानको बिक्री घट्दै गएको हस्तकला सामग्रीका व्यापारी अमृता पुनले बताउनुभयो ।

“हस्तकलाका सामग्री बनाइ बिक्री गरेरै जीविका चलाउँदै आएका थियौंँ”, उहाँले भन्नुभयो “कोरोना महामारीमा व्यापार घट्यो, गुजारा चलाउन गाह्रो भयो ।” अहिले निगालो र बाँसको चोयाबाट बनाइएका डालो, नाङ्लो, थुन्से, भकारी, मान्द्रो आरीलगायत सामान बिक्री हुन छाडेका पुनले बताउनुभयो । उहाँले हरेक वर्ष बालाचतुर्दशी पर्वमा म्याग्दीको गलेश्वर, माघेसङ्क्रान्तिमा गुल्मीको रिडी र चैतेदसैँमा बागलुङमा पुगेर नाङ्लो, डालो र हस्तकलाका सामग्री बिक्री गर्दै आएको बताउनुभयो ।

पुनका अनुसार एक पाथी जाने डाला रु तीन सयदेखि रु छ सय, दुई पाथीभन्दा बढी अन्न अट्ने डालो रु छ सयदेखि रु एक हजार सयसम्म तथा नाङ्लो रु छ सयमा बिक्री हुँदैआएको छ । बाँस र निगालोबाट बनाइएका नाङ्लो, डालो र पाथी बिक्री हुन छाडेको अर्का व्यापारी अमानबहादुर विकले बताउनुभयो । युवा जनशक्ति विदेश पलायन हुने र सीप हस्तान्तरण नहुँदा पुख्र्याैली पेसा लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ ।

बाँसको चोयाबाट बुनेर गोलाकार रूपमा बिट राखी बनाइने नाङ्लो ठूलो थालजस्तै आकारको हुन्छ । यसमा अन्न निफन्ने (केलाउने) गरिन्छ । यस्तै बाँस र निगालोको चोयाको सहायताबाट बुनिने फराकिलो मुख भएको गहिरो भाँडो डालो हो । यसमा पनि अन्नपात राख्ने गरिन्छ । गाउँघरमा नाङ्लो र डालोको प्रयोग गर्ने चलन धेरै भए पनि अहिले यी सामानको प्रयोगमा कमी आउन थालेको छ ।

विकास र प्रविधिको पहुँचसँगै संरक्षणमा चासो नदिँदा म्याग्दीका ग्रामीण भेगबाट रैथानै सीप र प्रविधिको प्रयोग गरी निर्माण गरिएका यस्ता सामग्री र यीसँग सम्बन्धित मौलिक सम्पदा लोपहुँदै गएका छन् । एक दशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा अत्यधिकरुपमा प्रयोग हुने गरेका यस्ता हस्तकलाका सामग्रीलगायत, ढिँकी, जाँतो र पानीघट्ट पनि अहिले लोप हुँदै गएका छन् । ढिँकी, जाँतो र पानीघट्ट अन्न कुट्ने र पिस्ने परम्परागत प्रविधि हुन् । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत सञ्चालन हुने मिल पुगेपछि यस्ता प्रविधि पनि लोपहुँदै गएका बेनी नगरपालिका– २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।