व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

महेन्द्रनगर (कञ्चनपुर) २४ माघः शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा बेलौरी नगरपालिका–३ पडावमा पुनःस्थापन हुनुभएका धम्मलराज चौधरीले अढाई बिघा जमिनमा व्यावसायिक तरकारी खेती लगाउनुभएको छ ।

निकुञ्जबाट विस्थापित भएर दश कट्ठा जग्गा पाउनुभएका उहाँ पाँच दाजु÷भाइले बाँड्दा दुई कट्ठामा समेटिनुभयो । गाउँमै खेती किसानी गरेर जीविका चलाउँदै आएका उहाँले व्यावसायिक तरकारीबाट भएको आम्दानीले अहिले ११ कट्ठा जग्गा जोड्न सफल भएको बताउनुभयो ।

विगत आठ वर्षदेखि गाउँमा तरकारी खेती गरेका उहाँले अहिले वार्षिक रु नौ लाख बचत गर्ने जानकारी दिनुभयो । “मैले सुरु गरेको तरकारी खेतीबाट भएको आम्दानीले मेरो परिवारको आर्थिक अवस्थामा सुधार आउनाका साथै गाउँका अरू किसान पनि तरकारी खेतीतर्फ आकर्षित भएका छन्”, उहाँले भन्नुभयो, “यहाँ उत्पादन भएको तरकारी धनगढी, महेन्द्रनगर, बेलौरी र आइबीआरडीलगायत बजारहरुमा खपत हुन्छ ।”

चौधरीजस्तै पछिल्ला केही वर्षयता कञ्चनपुरमा व्यावसायिक तरकारी खेतीमा थारू समुदायकको सक्रियता बढ्दै गएको छ । पुस्तौँदेखि खेती र पशुपालनबाट जीविका चलाउँदै आएका उनीहरु नगदे बालीका रुपमा तरकारी खेती थालेपछि आयआर्जन समेत बढेको बताउँछन् ।

“सुरुमा दुई÷तीन कट्ठाबाट तरकारी खेती थालेको थिएँ,” किसान धम्मलराज चौधरीले भन्नुभयो, “धान, गहुँ खेतीबाट तरकारीमा मुनाफा बढी हुने देखिएपछि व्यावसायिक रुपमा तरकारी खेतीमै लागेँ ।” उहाँले तरकारीको मूल्यमा थपघट हुँदा किसान प्रभावित हुने गरेको बताउनुभयो ।

उहाँले तरकारीबाट मासिक रु ७५ हजार आम्दानी हुने गरेको बताउँदै सो रकमबाट परिवारको जीविका चल्नाका साथै छोराछोरीको पढाइ खर्च भइरहको जानकारी दिनुभयो । “तरकारी खेतीका क्रममा कृषि सेवा केन्द्रबाट अनुदानमा बीउबिजनका साथै विभिन्न तालिम समेत लिएको छु,” चौधरीले भन्नुभयो,“तरकारी खेतीमा सक्रिय किसानलाई नेपाल राष्ट्रिय समाज कल्याण सङ्घले पनि सहयोग गरिरहेको छ ।”

उहाँले तरकारीबाट भएको आम्दानीबाट अहिले गाउँमा ६ कोठे पक्की घर निर्माण गरिरहेको बताउनुभयो । “किसानको आवश्यकता बुझेर सरकारी निकायले अनुदान र सहयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो, “त्यसका लागि किसानसम्मै पुग्ने संरचना दरिलो बनाउनु आवश्यक छ ।”

उहाँले पडाव गाउँमा अहिले ३० जनाभन्दा थारू समुदायका किसान व्यवसायी तरकारी खेती गरिरहेको बताउनुभयो । त्यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका सुनिल चौधरी पनि गाउँका सफल व्यावसायिक तरकारी खेती गर्ने किसानको सूचीमा पनुहुन्छ । गाउँको इन्द्रेणी कृषक समूहको अध्यक्ष रहेका उहाँले गाउँमा दुई सय बिघा जमिनमा किसानले तरकारी खेती गरेको बताउनुभयो । “गाउँलाई तरकारीको नमूना क्षेत्र बनाउने योजना छ,” चौधरीले भन्नुभयो, “तरकारी खेतीमा लागेका प्रायः किसानको आम्दानी राम्रै छ ।”

डेढ दशकदेखि तरकारी खेती गरिरहेको चौधरीले अहिले एक बिघा खेतमा तरकारी खेती गरेका छन् । “द्वन्द्वकालका बेला मजदुरीका लागि भारतको राजधानी दिल्ली पुग्दा मलाइ समयको महत्व थाहा भयो,” उहाँले भन्नुभयो, “अरूको देशमा दुःख गर्नुभन्दा आफ्नै माटोमा सङ्घर्ष गर्दा अहिले राम्रो फल मिलेको छ ।” उहाँले तरकारी खेतीबाट वार्षिक रु चार लाख बचत हुने गरेको बताउनुभयो । उहाँले भएको आम्दानीबाट छोरा माइकल चौधरी टीकापुरमा बिएससी एजी अध्ययन गरिरहेको बताउनुभयो । “छोरालाई पनि कृषिमै लगाउने योजनासहित सम्बन्धित विषय अध्ययन गराउने योजना बन्यो,” उहाँले भन्नुभयो, “बाँकी आम्दानीको रकमले गाउँमा अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सहयोग गर्दै आएको छु ।”

कृषि ज्ञान केन्द्रबाट युवा लक्षित कार्यक्रमअन्तर्गत ६० हजार नगद, च्याङ्फालगायत कृषि औजारमा सहयोग पाएको चौधरीको भनाइ छ । व्यवसायी तरकारी खेतीमा लागेका अर्का सफल किसान हुन् बेल्डाँडी गाउँपालिका–३ बैवाहाका रामलाल चौधरी । १६ वर्षदेखि तरकारी खेती गरिरहेका उहाँले तरकारीबाटै भएको आम्दानीले गाउँमा सात कट्ठा जमिनका साथै धनगढीमा दश धुर घडेरी जोडेका छन् । “तरकारी खेतीको क्षेत्रफल बढाएर एक बिघा पु¥याएको तीन वर्ष जति भयो ।” उहाँले भन्नुभयो, “अहिले उत्पादित तरकारी दैनिक ६÷७ क्विन्टल बिक्रीका लागि महेन्द्रनगर बजार लैजाने गरेको छु ।” उहाँले बार्षिक रु पाँच लाख मुनाफा हुने गरेको बताउनुभयो । “तरकारी खेतीबाट सन्तुष्ट हुनाका साथै परिवारको खर्च आरामले चलेको छ,” चौधरीले भन्नुभयो, “बेला बखतमा सरकारबाट पनि अनुदान एवं कृषि औजार पाइएकै छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।