इलाम क्याम्पसका संस्थापक प्रमुख डा. खगेन्द्रनाथ शर्माको निधन
विराटनगर । शिक्षा सेवी एवं इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका संस्थापक प्रध्यानाध्यापक (प्रमुख) डा. खगेन्द्रनाथ शर्माको निधन भएको छ ।
आज बिहान ३ बजेतिर काठमाडौंमा उनको ९० वर्षको उमेरमा निधन भएको इलाम समाज काठमाडौंका राधेश्याम लेकालीले जानकारी दिनुभयाे ।
इलामको सूर्याेदय नगरपालिका–११, माघेका खगेन्द्रनाथ २०१७ सालमा २६ वर्षको उमेरमा महेन्द्ररत्न बहुमुखी क्याम्पसको संस्थापक प्रध्यानाध्यापक बन्नुभएकाे थियाे । स्थापनाका बेला उनले क्याम्पसलाई आफ्नो ४७ रोपनी जग्गा दान गर्नुभएकाे थियाे ।
भारतको सागर विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएका उहाँले भारतबाटै विद्यावारिधि गर्नुभएकाे थियाे । शर्माका परिवारमा दुई छोरा र एक छोरी छन् । पत्नीको यसअघि नै निधन भइसकेको छ । उहाँकाे आजै काठमाडौंको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।


