विपत्तिको ऐनामा मान्छे
राजेन्द्र प्रसाद धमला । भाद्र १० गतेको त्यो बिहान रसुवाका लागि एकाएक काल बनेर आयो। बिहानको करिब १० बज्दा नसोचेको बाढी र पहिरोले शान्त र सुन्दर हिमाली गाउँलाई छिनभरमै बगाएर लग्यो। प्रकृतिको त्यो निष्ठुरी लीलामा धेरै जीवनहरू अनन्तमा लीन भए, कैयौँ घरपरिवार सुकुम्बासी बने। तर, यही महाविपत्तिको बीचबाट दुईवटा बिलकुलै फरक र परस्पर विरोधी तस्बिरहरू उब्जिए- एउटा, जसले विश्व समूदायको निःस्वार्थ मानवता र भाइचारा देखेर आँखा रसाउँछन् र अर्को, जसले आफ्नै दाजुभाइको लासबाट सुन र ग्यास सिलिन्डर थुत्ने क्रूर अमानवीयता देखेर शीर शर्मले झुक्छ। रसुवा बाढीको यो कारुणिक घडीले हामीलाई गम्भीर प्रश्नको डिलमा उभ्याइदिएको छ। विपत्तिमा कसैको ज्यान जोगाउन आफ्नो सर्वस्व अर्पण गर्ने पवित्र मन र मरेर वग्दै गरेको शरीरबाट सुन लुछ्ने पापी मन को स्रोत के हो? कसरी बन्छन् यी दुई फरक चेतनाका मानिसहरू? आउनुहोस् यो लेखमा यस फरक धारका मनहरुको बारेमा चार्चा गरौ।

(तस्विर(स्रोत -सामाजिक संजाल)
विश्वव्यापी मानवता: निःस्वार्थ सहयोग र सद्भावको स्रोत
रसुवाको विपत्ति खबर फैलिनासाथ सीमापारिका छिमेकी भारत, विभिन्न वैदेशिक दातृ राष्ट्र, अन्तर्राष्ट्रिय सङ्घ-संस्था र भारतीय कलाकारहरूसमेत स्वतःस्फूर्त रूपमा नेपालका लागि राहत र सहयोग जुटाउन अग्रसर भए। सामाजिक सञ्जालभरी देखिएको विभिन्न देशहरुमा चलाईएको “Pray for Nepal” अभियान केवल एउटा डिजिटल नारा मात्र पक्कै होइन, यो त सीमा, भाषा, धर्म र भूगोलभन्दा माथि उठेको निस्वार्थ मानवीय संवेदनाको महासागर हो।
साच्चै, यसरी अरूको दुखेको घाउँमा आफ्नो मलम लगाउन धाउने यो निस्वार्थ भावना कहाँबाट आउँछ?
अनुकम्पा र चेतनाको स्कुलिङ:- अरूको पीडालाई आफ्नै पीडा मान्ने चेतना मानिसमा पारिवारिक संस्कार र सामाजिक मूल्यबाट निर्माण हुन्छ। सानैदेखि संसार नै एउटा परिवार हो(वसुधैव कुटुम्बकम्) भन्ने शिक्षा पाएका व्यक्तिहरूले अरूको दुःखमा आफ्नो सुख देख्न सक्दैनन्।
सहानुभूतिको मनोविज्ञान:- सहृदयी मानिसहरूको जीवनचर्या र सोचाइ अन्यभन्दा फरक हुन्छ। उनीहरूको दिनचर्या भौतिक सङ्ग्रहमा मात्र होइन, कसैलाई मुस्कान दिनु र कसैको आँसु पुछ्नुमा सार्थक हुन्छ। उनीहरू आफ्नो अस्तित्वलाई ब्रह्माण्डको एउटा सानो अंश मान्छन् र अरूको रक्षा गर्नुलाई नै जीवनको परम धर्म ठान्छन्।

(राजेन्द्र प्रसाद धमला)
लासबाट गहना निकाल्ने दूषित मन: अमानवीयताको स्रोत र स्कुलिङ
रसुवाको उर्लिंदो धमिलो नदीमा मानिसका लासहरू बगिरहेका थिए। उता, कतिपय मानिसहरू भने बगिरहेको लासबाट गहना फुकाउन र कसैको भग्नावशेषबाट ग्यासका सिलिन्डर तानेर लैजान तँछाडमछाड गरिरहेका थिए। यो दृश्य हेर्न र वर्णन गर्न लायक पनि थिएन। यसले मानवताको शीर निहुराइदियो।
यस्तो पापी र दूषित मानसिकताको स्रोत के हो?
• Extreme Materialism र नैतिक शून्यता:- जब मानिसको जीवनमा नैतिकता र मूल्य मान्यताको खडेरी पर्छ, तब उसले पैसा र सामानबाहेक केही देख्दैन। अति-भौतिकवादी सोचले मानिसलाई यतिसम्म अन्धो बनाउँछ कि उसलाई अरूको ज्यानभन्दा धातुको एउटा टुक्रा अमूल्य लाग्न थाल्छ।
• सहानुभूतिहीन हुर्काइ (Desensitization):- यस्ता व्यक्तिहरूको पारिवारिक वातावरण, हुर्काइ र सङ्गत प्रायः स्वार्थ र आपराधिक मानसिकताले घेरिएको हुन्छ। उनीहरूको दिनचर्या अरूलाई ठग्ने, कसैको खोस्ने र क्षणिक फाइदा लिने चिन्तनमै बित्छ।
• भय र चेतनाको अभाव:- समाजमा दण्डहीनता र अध्यात्मिक/नैतिक चेतनाको अभाव हुँदा यस्ता मानिसहरूले संकटको समयलाई नै अनुचित लाभ लिने ‘अवसर’का रूपमा प्रयोग गर्छन्।
अब कसो गर्ने त? विद्यालय र घर स्तरबाटै ‘वसुधैव कुटुम्बकम्’ को संस्कार
संसारलाई नै घर मान्ने र विपत्तिमा स्वतःस्फूर्त खटिने जनशक्ति तयार पार्न बालकको पहिलो पाठशाला (घर) र दोस्रो पाठशाला (विद्यालय) बाटै अभियान चलाउनुपर्छ:-
गृह स्तरमा नैतिक वातावरण:- बालबालिकालाई सानै उमेरदेखि नै जीवजन्तु, प्रकृति र अरू मानिसप्रति दया भाव राख्न सिकाउनुपर्छ। बालबालिकाले अभिभावकको व्यवहारबाटै करुणा र परोपकार सिक्छन्।
पाठ्यक्रममा सेवा र सामाजिक कार्य:- विद्यालयमा केवल अंक ल्याउने र परीक्षा पास गर्ने शिक्षा होइन, समूदायमा गएर काम गर्ने, विपत्ति व्यवस्थापनका अभ्यास (Mock Drills) गर्ने र स्वयम्सेवा गर्ने व्यावहारिक शिक्षा अनिवार्य गरिनुपर्छ।
प्रकृति र मानव सम्बन्धको बोध:- मानिस प्रकृति र समाजभन्दा छुट्टै होइन भन्ने भावना जगाउन प्रत्येक बालबालिकालाई वर्षमा कम्तीमा एक पटक विपद् प्रभावित वा असाहायहरूको सेवामा संलग्न गराउनुपर्छ।
नकारात्मक भावनालाई सहयोगी मनमा रूपान्तरण: शिक्षा कि दीक्षा?
हाम्रो परम्परामा भनिन्छ-शिक्षाभन्दा दीक्षा ठूलो हो।आज हाम्रा विद्यालय र विश्वविद्यालयहरूले डिग्रीधारी शिक्षित मानिस त बनाए, तर ती मानिसहरू दीक्षित हुन सकेनन्।
शिक्षा र दीक्षाको फरक:- शिक्षाले मस्तिष्कलाई सूचना र प्रविधि दिन्छ, तर दीक्षाले हृदयलाई करुणा र विवेक दिन्छ। शिक्षित व्यक्ति प्राविधिक रूपमा दक्ष हुन सक्छ, तर दीक्षित व्यक्ति मात्र चरित्रवान् र मानवीय हुन्छ। लासबाट गहना निकाल्नेहरू सम्भवत, साक्षर होलान्, तर ती दीक्षाहीन र संवेदनहीन हुन्।
हेरौ, विकसित देशहरूको अभ्यास:-
o जापान:- जापानमा प्राथमिक तहसम्म बालबालिकालाई ठूला किताब पढाइँदैन। उनीहरूलाई सरसफाइ, अनुशासन, सामाजिक उत्तरदायित्व र अरूप्रतिको आदर सिकाउन Moral Education (नैतिक शिक्षा) दिइन्छ।
o स्क्यान्डिनेभियन देशहरू (नर्वे, फिनल्यान्ड):- त्यहाँ सहकार्य (Empathy) र सामाजिक कल्याणलाई शिक्षाको मुख्य आधार मानिन्छ। विपदमा कसरी एक-अर्काको सुरक्षा गर्ने भन्ने कुरालाई बाल्यकालदेखि नै जीवनशैली बनाइन्छ।
रूपान्तरणको माध्यम:- नकारात्मक र स्वार्थी मन भएकाहरूलाई सुधारगृह, आध्यात्मिक चिन्तन, समूदायमा आधारित अनिवार्य स्वयंसेवा र कडा कानूनी दण्डका माध्यमबाट पुनः मानवीय चेतनामा फर्काउन सकिन्छ।
भावी संकटमा नेपाली एक हुन: कार्ययोजना र भावी दिशा
नेपाल प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको देश हो। रसुवाको बाढी अन्तिम विपत्ति पक्कै पनि होइन वा नहुन सक्छ। आगामी संकटहरूमा देश र जनतालाई एकढिक्का बनाउन तथा अमानवीय घटनाहरू दोहोरिन नदिन हामीले देहाय बमोजिमका ठोस योजनाहरू बनाउनु अनिवार्य छ:-
| क्षेत्र | तत्कालीन र दीर्घकालीन रणनीति |
| समूदाय स्तरमा स्वयंसेवक दस्ता (Community Volunteers) | प्रत्येक वडा र टोलमा विपद्मा तालिमप्राप्त युवाहरूको मानवता स्वयंसेवक समूह गठन गर्ने, जसले बाढी/पहिरो आउनासाथ नागरिकको ज्यान र धनको निस्वार्थ सुरक्षा गरोस्। |
| कानूनी कडाइ र कडा दण्ड | विपत्तिको समयमा चोरी, लुटपाट वा अमानवीय काम गर्नेहरूलाई मानवता विरुद्धको अपराध सरह कडाभन्दा कडा सजाय दिने कानूनी प्रावधान ल्याउने। |
| एकीकृत राहत र उद्धार प्रणाली | राहत संकलन र वितरणलाई एकद्वार प्रणालीबाट पारदर्शी बनाउने, जसले गर्दा वास्तविक पीडितले मात्र सहयोग पाओस् र बिचौलिया तथा स्वार्थी तत्वहरू टाढै रहून्। |
| राष्ट्रिय चरित्र निर्माण अभियान | मिडिया, धार्मिक/सामाजिक संस्था र शैक्षिक निकायहरूमार्फत राष्ट्रिय स्तरमा “मानवता नै पहिलो धर्म” भन्ने सचेतना र दीक्षा अभियान सञ्चालन गर्ने। |
सारमा
रसुवाको धमिलो बाढीले बगाएका लासहरूसँगै हाम्रो चेतना पनि बग्यो कि भन्ने त्रास उत्पन्न भएको छ। तर, विश्वभरबाट उठेका सहयोगी हातहरू, विश्व जगतका मानिसहरुको प्रार्थना र आम नेपालीको सेवाभावले यो पुष्टि गरेको छ कि-संसारमा अझै मानवता जिउँदै छ। लासको सुन निकाल्ने पापी मनहरू यो समाजका काला धब्बा हुन्। तिनलाई शिक्षाले होइन, कडा कानून र आध्यात्मिक दीक्षाले पखाल्नुपर्छ। रसुवाको बाढीले दिएको यो पीडादायी पाठबाट सिकेर अबका दिनमा हामीले हाम्रा सन्ततिलाई वैज्ञानिक मात्र होइन, मानव बनाउने शिक्षा र दीक्षा दिनुपर्छ। विपत्तिमा राजनीति र स्वार्थभन्दा माथि उठेर जब हामी एउटा नेपालीको आँसु पुछ्न अर्को नेपाली ढाल बनेर उभिन्छौँ, तब मात्र रसुवाका ती दिवङ्गत आत्माहरूले शान्ति पाउनेछन् र संसार एकै हो भन्ने मानवताको सार्वभौम सत्य जीवन्त रहनेछ।
लेखकको परिचय
-शाखा अधिकृत, नेपाल सरकार


