दुग्ध विकास संस्थानमा १२ करोडभन्दा बढी अनियमितताको आरोप, तत्कालीन महाप्रबन्धक सहित ८ जना पक्राउ
काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा १२ करोड रुपैयाँभन्दा बढी गैरकानुनी आर्थिक लाभ लिई संस्थानलाई हानि–नोक्सानी पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक, उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूको मिलेमतोमा संगठित रूपमा आर्थिक अनियमितता भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सीआईबीका अनुसार यस प्रकरणमा संस्थानलाई प्रत्यक्ष रूपमा १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ हानि पुर्याई सोही बराबरको गैरकानुनी लाभ लिएको प्रारम्भिक रूपमा पुष्टि भएको छ।
सीआईबीले उनीहरूलाई २०८३ कात्तिक १३ गते काठमाडौं, कास्की र सर्लाहीलगायतका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ।
उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक विश्वासघात तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ।
प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनीहरूलाई नियन्त्रणमा लिएको हो। घटनामा संलग्न अन्य व्यक्तिहरू तथा आर्थिक अनियमिततासम्बन्धी थप विवरणबारे अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।
पक्राउ परेकाहरू
-जिल्ला सर्लाही बलरा नगरपालिका वडा नं. ३ स्थायी वतन भई जिल्ला काठमाडौं कागेश्वरी मनहरा न.पा. वडा नं. ६ बस्ने बर्ष ४५ को संजिव झा, तत्कालीन महाप्रबन्धक तथा हाल दुग्ध विकास संस्थान लैनचौरको प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखको रुपमा कार्यरत, पक्राउ स्थान: कामनपा वडा नं. २६ लैनचौर, काठमाडौं ।
-जिल्ला सिराहा सिराहा न.पा. वडा नं. ०१ स्थायी वतन भई जिल्ला काठमाडौं तार्केश्वर न.पा. वडा नं. ०४ बस्ने बर्ष ४६ को बिजय कुमार यादव, तत्कालिन सिम्ले चिस्यान केन्द्र ईञ्चार्ज हाल काठमाडौं दुग्ध वितरण आयोजना बालाजुमा जुनियर टेक्निकल असिस्टेन्टको रूपमा कार्यरत, पक्राउ स्थान: कामनपा वडा नं. १६ बालाजु, काठमाडौं ।
-जिल्ला पर्वत मोदी गाउँ पालिका वडा नं. ४ स्थायी वतन भई हाल जिल्ला काठमाडौं तार्केश्वर न.पा. वडा नं. ०६ बस्ने वर्ष ५५ को मनहरी शर्मा, तत्कालिन भक्तपुर चिस्यान केन्द्रको ईञ्चार्ज हाल दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय लैनचौरमा जुनियर टेक्निकल असिस्टेन्ट को रूपमा कार्यरत, पक्राउ स्थान: पोखरा मनपा वडा नं. १४, कास्की ।
-जिल्ला सर्लाही मोहनपुर गा.वि.स. वडा नं. ०५ स्थायी वतन भई हाल जिल्ला चितवन भ.म.न.पा. वडा नं. ०५ कल्याणपुर बस्ने बर्ष ४९ को रामकेवल राय, तत्कालीन चनौलि चिस्यान केन्द्र ईञ्चार्ज हाल काठमाडौं दुग्ध वितरण आयोजना संकलन केन्द्रमा जुनियर टेक्निकल असिस्टेन्टको रूपमा कार्यरत, पक्राउ स्थान: चन्द्रनगर गाउपालिका वडा नं ५ मोहनपुर, सर्लाही ।
-जिल्ला सर्लाही चन्द्रनगर गाउँ पालिका वडा नं. ०५ घर भई हाल जिल्ला चितवन भ.म.न.पा.वडा नं.०५ कल्याणपुर बस्ने बर्ष २८ को जितेन्द्र कुमार यादव, भरपाई पदका कर्मचारी, बागमती धुलो दुध कारखाना, हेटौडामा कार्यरत, पक्राउ स्थान: भरतपुर नपा वडा नं. ५ आनन्दपुर, चितवन ।
-जिल्ला सर्लाही चन्द्र नगर गाउँ पालिका वडा नं. ०२ घर भई बस्ने बर्ष ३२ को नविन राय यादव, डेरी ब्वाई पदका कर्मचारी, नवलपुर/गरुडा चिस्यान केन्द्र ईन्चार्ज, पक्राउ स्थानः लालबन्दी नपा वडा नं. ५ मेजरगञ्ज, सर्लाही ।
-जिल्ला सर्लाही चन्द्र नगर गाउँ पालिका वडा नं. ०५ घर भई हाल जिल्ला चितवन माडी न.पा. वडा नं. ०२ बस्ने वर्ष ४६ को शिव नन्दन राय, दैनिक पारिश्रमिक पदका कर्मचारी, माडी चिस्यान केन्द्रमा कार्यरत, पक्राउ स्थान: माडी नपा वडा नं. १ भरुवा, चितवन ।
-जिल्ला सिन्धुपाल्चोक कालिका गा.पा. वडा नं.७ बस्ने बर्ष ४८ को विख बहादुर भण्डारी, जुनियर टेक्निकल असिस्टेन्ट, चिस्यान केन्द्र ईन्चार्ज माडि चितवन, पक्राउ स्थान: माडि नपा वडा नं. १, चितवन ।


