धनकुटामा जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ, २४ हजार ५०० रुपैयाँ बरामद
धनकुटा,१९ कार्तिक । धनकुटामा तास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आज साँझ ५ः३० बजे धनकुटा नगरपालिका–५ देवनटारस्थित मेनकुमारी लिम्बुको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा खटिएको टोलीले तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनास्थलबाट खुला एक बुङ तास र नगद २४ हजार ५०० रुपैयाँसमेत बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा शहीदभूमि गाउँपालिका–५ का ४५ वर्षीय महेश कुमार राई र ५२ वर्षीय मोहनचन्द्र राई, धनकुटा नगरपालिका–६ का ३० वर्षीय कुमार राई, वडा नम्बर ७ का ५१ वर्षीय भोगेन्द्र राई, वडा नम्बर ५ का ४५ वर्षीय बलबहादुर राई, ३६ वर्षीया सोमकुमारी लिम्बू, ५० वर्षीया तीर्थ लिम्बू र ३७ वर्षीया मेनकुमारी लिम्बू तथा वडा नम्बर २ का २८ वर्षीय शुक्र राई रहेका छन्।
प्रहरीले नियन्त्रणमा लिइएका सबै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


