धनकुटाको सहिदभूमि गाउँपालिकामा तीन दिन स्थानीय बिदा
धनकुटा । सहिदभूमि गाउँपालिकाले राष्ट्रिय सहिद स्मृति दिवस र राई समुदायको मौलिक पर्व ‘वाढाङ्गमी’ को अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाको कात्तिक १९ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार कात्तिक २८ गते शनिबार राष्ट्रिय सहिद स्मृति दिवस तथा मंसिर १३ र १४ गते वाढाङ्गमी पर्वका अवसरमा स्थानीय बिदा दिइने भएको हो।
गाउँपालिकाले जारी गरेको सूचनाअनुसार २०३६ सालमा तत्कालीन खोकु, छिन्ताङ र आँखिसल्लामा सम्पन्न आन्दोलनका क्रममा सहादत प्राप्त राष्ट्रिय सहिदहरूको स्मृतिमा कात्तिक २८ गते बिदा दिने निर्णय गरिएको हो।
त्यस्तै, सहिदभूमि गाउँपालिकाको आँखिसल्ला, खोकु र छिन्ताङमा बसोबास गर्ने राई समुदायले विशेष रूपमा मनाउने मौलिक पर्व वाढाङ्गमीका अवसरमा मंसिर १३ गते आइतबार र १४ गते सोमबार स्थानीय बिदा दिइनेछ।
उक्त तीन दिन गाउँपालिका, मातहतका सबै वडा कार्यालय, सामुदायिक तथा निजी विद्यालय, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था र सरकारी तथा गैरसरकारी संघसंस्थामा स्थानीय बिदा लागू हुने प्रमुख प्रशासकीय अधिकृत रोसुना कोइरालाद्वारा जारी सूचनामा उल्लेख छ।


