पथरीशनिश्चरेमा फर्किँदैछ ‘क्रिकेट कल्चर’, सुपर लिगका लागि खेलाडी दर्ता सुरु
पथरी, ४ मंसिर । मोरङको पथरीशनिश्चरे नगरपालिकामा क्रिकेट खेलको माहोल पुनः फर्काउने उद्देश्यसहित ‘पथरीशनिश्चरे सुपर लिग’ आयोजना हुने भएको छ। नगरभित्र रहेका क्रिकेट खेलाडीको खोजी, प्रतिभा पहिचान तथा खेल कौशल विकास गर्ने लक्ष्यसहित सुपर लिगको तयारी अघि बढाइएको हो।
लिगमा सहभागी हुन इच्छुक खेलाडीका लागि मंसिर ४ गतेदेखि दर्ता प्रक्रिया सुरु गरिने लिगका अगुवा राज बस्न्यातले जानकारी दिएका छन्।
पथरीशनिश्चरेमा विगतमा क्रिकेट खेलप्रति देखिएको आकर्षण र सक्रियतालाई पुनः स्थापित गर्दै नयाँ पुस्तालाई क्रिकेटतर्फ आकर्षित गर्ने तथा स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने लिगको मुख्य उद्देश्य रहेको बताइएको छ।
यसअघि सञ्चालन हुँदै आएको क्रिकेट लिग स्थगित भएको अवस्थामा नयाँ संरचना र अवधारणासहित सुपर लिग आयोजना गर्न लागिएको हो। लिगको स्वरूप, सञ्चालन प्रक्रिया, टिम संरचना तथा अन्य विषयमा थप जानकारी पछि सार्वजनिक गरिने आयोजक पक्षले जनाएको छ।
सुपर लिगले पथरीशनिश्चरेको क्रिकेट गतिविधिलाई नयाँ गति दिनुका साथै स्थानीय स्तरमा क्रिकेट संस्कृतिको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

