चोरीको मोटरसाइकल सहित भारतीय क्षेत्रमा नेपाली युवक पक्राउ
रौतहट, ४ मंसिर। बारा जिल्लाको कचोर्वा नाकासँग जोडिएको भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्ला झरौखर क्षेत्रमा चोरीको मोटरसाइकलसहित एक नेपाली युवक पक्राउ परेका छन्।
भारतीय प्रहरीका अनुसार पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–६ अमरपट्टीका हृदय राय यादवका छोरा अन्दाजी २०–२२ वर्षीय रेन्जस राय यादव रहेका छन्।
बिहीबार भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर सीमावर्ती भारतीय क्षेत्रमा पुगेका यादवलाई विशेष सूचनाका आधारमा झरौखर थाना प्रहरीले जाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो।
प्रहरीले सघन जाँच गर्ने क्रममा उनले प्रयोग गरिरहेको मोटरसाइकल केही समयअघि भारतीय क्षेत्रबाट चोरी भएको पुष्टि भएपछि उनलाई पक्राउ गरेको जनाएको छ।
यस घटनामा झरौखर थानामा काण्ड संख्या १६२/२६ अन्तर्गत मुद्दा दर्ता गरी पक्राउ परेका युवकविरुद्ध थप कानुनी कारबाही अघि बढाइएको भारतीय प्रहरीले जनाएको छ।

